‘चुनावमा युवालाई नेतृत्व देऊ’
सुर्खेत, २ वैशाख ।
स्थानीय तहको निर्वाचन नजिकिंदै जाँदा युवा नेतृत्वको चर्चा हुन थालेको छ । करिब २० वर्षको अन्तरालमा हुन लागेको यो चुनावमा युवालाई उम्मेदवार बनाउन दबाब बढ्दै गएको हो । सुर्खेतका युवाहरूले अबको निर्वाचनमा युवालाई उम्मेदवार बनाउन माग गरेका हुन् ।
राजनीतिक क्षेत्रमा विगतदेखि युवाहरूले अवसर नपाएकोले यसपटकको चुनावमा सक्षम युवालाई नेतृत्व प्रदान गर्नुपर्ने युवाहरूको माग छ । मेन्स रुम रिलोडेडको आयोजना तथा सिद्धपाइला क्याम्पस, तन्नेरी चासो सुर्खेत, युथ फर चिल्ड्रेन र हाऊ फन्नी ग्रुपमा आवद्ध युवाहरूले यस्तो माग गरेका हुन् । शनिवार वीरेन्द्रनगरमा एक कार्यक्रमको आयोजना गरी उनीहरूले युवा नेतृत्व स्थापनाका लागि अभियान सुरु गरेका छन् । मंगलगढीचौकदेखि सचेतनामूलक ¥याली निकालेर बजार परिक्रमा गरे ।
बजार परिक्रमापछि युवाहरूले विगतदेखि नै राजनीतिलाई पेसाको रूपमा लिँदै आएकोप्रति आपत्ति प्रकट गरे । राजनीतिलाई मागी खाने भाँडोको रूपमा दलहरूले प्रयोग गरेको भन्दै यसपटकको चुनावमा असल, सक्षम र नैतिकवान युवालाई नेतृत्व दिनुपर्नेमा जोड दिए । ‘राजनीति पेसा होइन, यो एक सामाजिक सेवा हो,’ युवा दिनेश गौतमले भने, ‘अब पनि राजनीतिलाई मागी खाने भाँडो र पेसा सम्झिनेहरूलाई नेतृत्व दिँदा हामीले पाएको अधिकारको दुरूपयोग हुनेछ ।’ उनले लामो समयपछि जनताले आफ्ना प्रतिनिधि छान्ने अवसर पाएकोले असल संस्कार स्थापित गर्ने नेतृत्व चयनका लागि युवाहरू लागिपर्ने बताए ।
कार्यक्रममा सहभागी युवाहरूले देशमा व्यवस्था परिवर्तनका लागि आन्दोलनमा होम्याउने तर युवालाई नेतृत्वबाट पन्छाउने प्रवृत्तिलाई अन्त्य गर्न सबै युवाहरू एकजुट हुनुपर्नेमा जोड दिएका छन् । यस्तै कामको मूल्यांकन राजनीतिमा नहुने गरेको भन्दै युवाहरूले दलभन्दा पनि व्यक्तिको स्वभाव हेरेर भोट हाल्नुपर्ने सुझाव दिए । ‘देशमा व्यवस्था परिवर्तनदेखि अन्य माग पूरा गर्दा युवाहरूलाई नै आन्दोलनमा उतारेर नेताहरूले पूरा गर्ने गरेका छन्,’ युथ फर चिल्ड्रेन सुर्खेतका अध्यक्ष तिलक पौडेलले भने, ‘तर नेतृत्व दिनका लागि कन्जुस्याईं गरिन्छ, अब युवा आन्दोलनमा होइन देश विकासको लागि सहभागी हुने बेला आएको छ ।’
समृद्ध समाज निर्माणका लागि असल चरित्र भएको र जाँगरिलो नेतृत्व आवश्यक पर्ने भएकोले युवाहरूले नेतृत्व पाउँदा उपयुक्त हुने उनीहरूको भनाइ छ । यस्तै युवा खुमल न्यौपानेले पुरानो पुस्ता राजनीतिका कारण देशले निकास पाउन नसकेको बताए । सक्षम असक्षम व्यक्ति भन्दा पनि पुख्र्यौली राजनीतिक प्रभावका कारण युवाहरूको मत सधैं छायाँमा पर्ने गरेको उनको भनाइ छ । अबको निर्वाचनमा सवल, सक्षम र गुणस्तरीय युवा नेतृत्वको लागि अभियान चलाएको न्यौपानेले उल्लेख गरे । संविधान अनुसार हरेक २१ वर्ष पुगेका नागरिक देश विकासको लागि सक्षम मानिए पनि राजनीतिमा निरंकुशता हावी भएका कारण युवाहरूले कहिले पनि अवसर पाउन नसकेको युवाहरूको गुनासो छ ।
साझा बिसौनी संवाददाता ।