चर्पीसहितको बस सञ्चालन हुने

सुर्खेत, २ वैशाख ।
आगामी दशैंदेखि देउती नागरिक यातायात व्यवसायी प्रालिले सुर्खेत–काठमाडौंका लागि चर्पीसहितको बस सञ्चालन गर्ने भएको छ । नयाँ वर्षको उपलक्ष्यमा प्रालिले आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा यस्तो जानकारी दिइएको हो ।
देउती नागरिक यातायात प्रालिले दशैंदेखि चर्पीसहितको बस सञ्चालन गर्न लागिएको जनाएको हो । प्रालिका अध्यक्ष कमल खड्का (जुनी) ले दशैंसम्ममा भारतको नयाँ दिल्लीबाट ३२ वटा सीट क्षमता भएको पाँच वटा चर्पीसहितको बस सञ्चालनमा ल्याउने बताए । सुर्खेतदेखि काठमाडौंसम्मका यात्रुहरूको माग अनुसार आगामी दशैंदेखि चर्पी र बाथरुमसहितको अन्य सेवा सुविधा भएको बस सञ्चालन गरिने अध्यक्ष खड्काले जानकारी दिए ।
तत्कालको लागि बैंकिङ कारोबार बन्द भए पनि निर्वाचन लगत्तै उक्त बस ल्याउनको लागि प्रक्रिया थालनी गर्ने उनको भनाइ थियो । उनले यात्रुको माग पूरा गर्न र प्रतिक्रिया अनुसार सेवा सुविधा थप गर्ने बताए । उनले अन्य यातायात व्यवसायी संघहरूले देउती नागरिक यातायात प्रालिलाई दबाउन खोजेको बताए । हाल प्रालिले जाजरकोट, कुसापानी, दैलेख, नेपालगन्ज रुढमा बस सेवा दिइरहेको उनको भनाइ थियो । उनले सबै व्यवसायलाई राज्यले समान व्यवहार गर्नुपर्ने भन्दै राज्यले यातायात व्यवसायीलाई उपेक्षा गरेको बताए । कार्यक्रममा प्रालिका सल्लाहकार भीम महतराले यात्रुहरूलाई सेवा सुविधासहित यात्रुहरूलाई गर्ने व्यवहार पनि राम्रो हुनुपर्ने बताए ।

प्रकाशित मितिः   ३ बैशाख २०७४, आईतवार १६:०७