कसरी रोक्ने जातीय छुवाछुत ?
जातीय छुवाछुत कानुनी अपराध हो । नेपाललाई सरकारले नै जातीय छुवाछुतमुक्त राष्ट्र घोषणा गरिसकेको छ । तर पनि अहिले समाजमा जातकै आधारमा भेदभाव हुनेक्रम रोकिएको छैन । अहिले पनि दलित भएकै कारण मान्छेहरू कथित उपल्लो जातबाट कुटिएका छन् । केही दिन पहिले मात्र सुर्खेतको पश्चिम बराहताल गाउँपालिकामा भान्सा छोएको आरोपमा एक दलित बालकमाथि निर्मम कुटपिट भयो । समाजमा अहिले पनि दलितमाथि विभेद गर्नेक्रम रोकिएको छैन । पानी पँधेरो होस् वा घरभित्र सामान छुँदा समेत दलितले यातना व्यहोर्नु परिरहेको छ । शिक्षित व्यक्तिहरूले नै दलित माथि जातीय विभेद गर्ने र मन्दिरमा समेत रोक लगाउने गरेको पाइन्छ । यसै सन्दर्भमा सहकर्मी गीता थापाले सर्वसाधारणलाई जातीय छुवाछुत कसरी रोक्न सकिन्छ ? भनेर सोधेकी छन् । प्रस्तुत छ, सर्वसाधारणको धारणा जस्ताको त्यस्तै ः
जयप्रसाद पाण्डे, वीरेन्द्रनगर–७
जातजाति वंश समुदाय वा पेसाका आधारमा गरिने भेदभाव वा छुवाछुत हाम्रो समाजमा लामो समयदेखि वंशाणुगत रूपमा चलिरहेको छ । पहिला कामको आधारमा माथिल्लो जात र तल्लो जात भनेर वर्गीकरण गरिएको हो । काटे रगत सबैको रातै आउँछ मान्छे एउटै हुन् भन्ने जनचेतनाको कमीका कारण हाम्रो नेपाली समाजमा अझै पनि जातीय छुवाछुतले जडो गाडेर बसेको छ । माथिल्लो जात वा वर्गले तल्लो जातका व्यक्ति र समुदायलाई अझै पनि हेप्ने र गाली गलौज गर्ने चलन छ । यसलाई उन्मूलन बनाउनको लागि सबैमा जनचेतना जगाउन जरुरी छ । भेदभाव तथा छुवाछुतलाई अन्त्य गर्नु सबै सचेत नागरिकको महŒवपूर्ण भूमिका रहन्छ ।
नरीसरा केसी, वीरेन्द्रनगर–१२
जातीय छुवाछुतको अन्त्य गर्नको लागि सबैभन्दा पहिला त हरेक व्यक्ति र समाजमा सचेतना फैलाउन जरुरी छ । हुन त पछिल्लो समयमा सबै मानिस शिक्षित भइसकेका छन् । सबै जिल्ला र गाविसलाई पूर्ण साक्षर घोषणा भइसकेको छ । तर, अझै पनि हाम्रो समाजमा दलित समुदाय भएकै कारणले कसैको घरमा भाडा तिरेर बस्दा पनि अपमानित भएर मध्य रातमा घरबाट निकालिनु परेको, दलितसँगै विवाह गरेको कारण समाजमा अपहेलित भइ देशै निकाला गरेको, होटेलमा खाना छुँदा कुटिनु परेको घटनाहरू सुन्न र देख्न पाइन्छ । यस्ता विभेद गर्नेहरू माथि कडा कारबाही गर्न सकेको खण्डमा मात्र जातीय छुवाछुत उन्मुलन गर्न सकिन्छ ।
टीका पाण्डे, वीरेन्द्रनगर–७
जातीय छुवाछुत अन्त्य गर्नका लागि पहिला त अशिक्षित व्यक्तिहरूलाई शिक्षित बनाउन जरुरी छ । मान्छेमा जबसम्म चेतना र शिक्षाको कमी हुन्छ तबसम्म छुवाछुतको अन्त्य गर्न सकिदैंन । व्यक्तिहरूमा चेतना जगाउनको लागि गाउँ–गाउँमा गएर सडक नाटक प्रदर्शन गर्ने, समय–समयमा सचेतनामूलक कार्यक्रमहरू गर्न सकेको खण्डमा जातीय छुवाछुत अन्त्य गर्न सकिन्छ । मान्छे मान्छे बीचको यो भेदभावलाई अन्त्य गर्नका लागि पहिला व्यक्तिको सोच परिवर्तन गर्न जरुरी छ । बाहुन होस् वा क्षेत्री वैश्य होस् वा शुद्र सबै जाति र धर्मावलम्बीहरूमा रहेको विभेदको खाडललाई अब पूर्णको लागि दलित तथा गैरदलितहरू एकजुट भएर लाग्न जरुरी छ ।
सीता आचार्य, भेरीगंगा–१२
जातीय विभेदलाई अन्त्य गर्नका लागि त पहिला सबैमा शिक्षा हुन जरुरी छ । अहिलेको आवश्यकता भनेको नै शिक्षा हो । विभिन्न कुतर्क गरेर दलितलाई दलित बनाइ राख्नु भन्दा गैरदलितहरूले जातीय भेदभाव तथा छुवाछुत जस्ता अमानीय व्यवहार छोडने बित्तिकै जातीय भेदभाव तथा छुवाछुत प्रथा स्वतह अन्त्य हुने विषय हो । अझै पनि राज्य र राजनीतिक दल यथास्थितिवादी सोच चिन्तन र प्रवृतिबाट माथि उठ्न सकेन भने समाजलाई असभ्यताबाट मुक्त गर्न सकिदैंन । बरु विभेदका स्वरूपहरू फेरिदैं दोहोरिने खतरा रहिरहन्छ । यसमा राज्य, राजनीतिक दल र बौद्धिक वर्ग आजैदेखि लागि परे समाजका विभेदजन्य विकृति र विसंगतिलाई अन्त्य गर्न सकिन्छ ।
रूपा केसी, वीरेन्द्रनगर–७
दलितभित्रै पनि दलित विभेद र छुवाछुत प्रथा छ । एक दलितको अर्काे दलितसँग पानी बाँडफाँडको अवस्था छन् । एक दलित अर्काे दलित जातिको अस्तित्व नस्वीकार्ने कुसंस्कार र संस्कृति छ । दलित जातिबीचको वैवाहिक सम्बन्ध तथा गैरदलित जातीहरूसँगको वैवाहिक लगायतको सम्बन्धको कुरा त निकै परको विषय हो । गैरदलित जातिहरूमा पनि चरम जातिय विभेद छ । जसले गर्दा स्वजातीयहरू भित्रै उप–जातिहरू छन् । उनीहरू भित्रै पनि एक जातिले अर्काे जातिको अस्तीत्व स्वीकार्नमा हिच्किचाहट र विभेद छन् । यस्तो अवस्थामा जातीय छुवाछुत कसरी अन्त्य हुन्छ । त्यसका लागि त पहिला दलितभित्र हुने छुवाछुत अन्त्य हुन जरुरी छ ।
सावित्रा आचार्य, वीरेन्द्रनगर–१२
समाजमा एउटा कुकुर, बिराला, कुखुरा, गाई, भैंसीलाई अँगालो मार्ने अनि एउटा मानिसले अर्काे मानिसलाई छुँदा पनि सुन पानी छर्किएर चोखो हुनुपर्ने हाम्रो कतिसम्मको कथित समाज छ । अझै पनि बनेका कानुन कागजमै मात्र सीमित भएको जस्तो देखिन्छ । जातीय छुवाछुत गर्ने अपराधीको विरुद्धमा उजुरी खासै परेको र पिडकले सजाय पाएको पनि सुनिदैंन । हामीले सोचाइमा सकारात्मक परिवर्तन मात्र होइन हाम्रा हरेक व्यवहारमा परिवर्तन ल्याउन जरुरी देखिन्छ । त्यसका लागि सुरुवात हाम्रै घर, परिवार र समाजबाट आरम्भ गर्नुपर्छ तब मात्र हामीले यस्ता सामाजिक कु–प्रथा तथा कु–संस्कृतिहरूलाई निर्मूल गर्दै नयाँ समुन्नत नेपाल निर्माण गर्न सक्छौ ।
लक्ष्मी भण्डारी, वीरेन्द्रनगर–७
विगत भन्दा समाज शिक्षा र चेतनाका हिसाबले जति अगाडि देखिन्छ उतिनै विभेदका रूपहरू फेरिएका छन् । विभेदमा न्यूनीकरण देखिएता पनि समाजमा प्रत्येक्ष विभेद र उत्पीडन भन्दा अप्रत्यक्ष विभेद र उत्पीडनको मार बढी छन् । यो तमाम समस्याका प्रमुख कारण राज्य र राजनीतिक दलनै हुन् । जुन अंशको भन्दा समग्र परिवर्तनको वाधक बन्दै आएका छन् । जातीय पेसा, सरसफाइ र दलितभित्रको जातीय विभेद देखाएर वाहियात तर्क गुर्न र दलितमाथि जातीय विभेद लादि राख्नु पाखण्डीपना हो । दलित भन्दा पनि कयौं गुणाले गैरदलित बस्तीहरूमा फोहोरी व्यवहार, वातावरण र जातीय विभेद तथा दैनिय र दरिद्र अवस्था छ । त्यता पनि ध्यान दिन जरुरी छ ।
सोमप्रसाद पाण्डे, वीरेन्द्रनगर–७
जातीय विभेद जति व्यक्ति र समाज शिक्षित बन्दै गइरहेको छ त्यति नै बढ्दै गइरहेको छ । ठूलो जाति कहलिएकै स्वच्छ र पवित्र देख्नु अन्धविश्वासको पराकाष्टता हो । गैरदलित÷ठूलो जाति कहलिएकै कारण दरिद्र र फोहोरी हुँदैन भन्न सकिदैन र दुधमा पखालेको देख्नु गलत मानसिकताको उपज हो । यो कुनै भगवान÷ईश्वरी वरदान होइन नकि विज्ञानकै नियम हो । यो त हाम्रै घरेलु शासकहरूको वरदान हो । यसलाई अन्त्य गर्नका लागि पहिला त दलितहरू नै अग्रसर भएर लाग्न जरुरी छ । अर्काे कुरा माथिल्लो जातिले मात्र दलित भनेर हेपेको हुँदैन दलित–दलितभित्र पनि छुवाछुत छ त्यसको पहिला अन्त्य गर्न जरुरी छ ।
ज्ञानबहादुर पौडेल, लेखगाउँ
जातीय छुवाछुत उन्मूलन त राज्यले गरिसक्यो तर, मानिसको मानसिकताबाट जातीय छुवाछुत उन्मूलन हुन सकेको छैन । कानुन निर्माण गरेर मात्र पुग्दैन आफै अपराध र घटनाक्रम खोज्दै जाने विषय पनि होइन । कानुनले दलित भनेर विभेद गर्नेलाई सवाय दिन्छ तर, यहाँ त दलितले दलितलाई तल्लो र माथिल्लो जाति भनेर हेपिरहेको अवस्था छ कसरी उन्मूलन हुन्छ जातीय छुवाछुत । पहिला दलित दलितभित्र हुने छुवाछुत अन्त्य हुन सकेको खण्डमा मात्र माथिल्लो जातिले दलित वर्गलाई हेप्न पाउँदैनन् । पहिला दलित सबैजना एकजुट भएर छुवाछुतको अन्त्य गर्न लाग्नुपर्छ त्यसमा सबैको साथ अवश्य रहन्छ ।
साझा बिसौनी संवाददाता ।