‘झ्यालबाट हाम फालेर पौडी खेल्न जान्थ्यौं’
मोहन थापा स्थानीय शान्ति समिति सुर्खेतका संयोजक हुन् । वि.सं. २०२६ असार ३ गते जन्मिएका उनी बुबा मोतीबहादुर थापा र आमा भविसरा थापाका जेठा छोरा हुन् । विद्यार्थी जीवनबाटै राजनीति सुरु गरेका थापा राष्ट्रिय जनमोर्चा सुर्खेतका पूर्व अध्यक्ष समेत हुन् भने हाल सल्लाहकारको भूमिकामा छन् । साथै आदर्श माध्यमिक विद्यालय लेखफर्साको विद्यालय व्यवस्थापन समिति अध्यक्ष समेत रहेका थापाले आफ्नो बाल्यकालको सम्झना हाम्रा सहकर्मी मुना हमालसँग यसरी साटेका छन्ः
म जन्मेको बेलामा जुत्ताचप्पल लगाउने चलन खासै थिएन । लगाए पनि ठूलाले मात्र लगाउने गर्थे । केटाकेटीहरूले लगाउँदैनथे । मेरो जन्म लेकवेशी नगरपालिका वडा नम्बर २ (साविकको लेखफर्सा गाविस) मा भएको हो । म १८ महिनाको हुँदा आमा बित्नुभयो । मैले आमाको अनुहार पनि देख्न पाइन । आमा बित्नुभएपछि मलाई मामाको घरमा लगिएको थियो । मेरो बाल्यकाल मामाघरको हजुरबुबा र हजुरआमासँग बित्यो । उहाँहरूले नै हुर्काउनुभयो । म मेरो आमाबाट एक्लो सन्तान हुँ । आमाको मृत्युपछि बुबाले दोस्रो विवाह गर्नुभयो । उहाँबाट चार भाइ र चार बहिनी छन् ।
मामाघर बस्ने भएको कारण यता घरमा कहिले काहीं मात्र आउने गर्थें । ठूलो हुँदै गएपछि आमाको अभाव महसुस हुन्थ्यो । मेरो पनि आमा भइदिएको भए जस्तो लाग्थ्यो तर हजुरबुबा र हजुरआमाले आमाबुबाको माया दिएर मलाई पाल्नुभयो, हुर्काउनुभयो । म सानो छँदा अलि चकचके थिएँ । साथीहरूसँग खेल्न मनपथ्र्यो । मलाई खेलकुदप्रति पनि रुचि थियो ।
मलाई पढाउन भनेर आदर्श निमावि (हाल आदर्श मावि) मा भर्ना गरियो । मैले त्यहाँ कक्षा १ देखि ७ सम्म पढेको हुँ । घरबाट विद्यालय पुग्न ४५ मिनेट जति लाथ्यो । खाली खुट्टा हिँडेर विद्यालय जान गाह्रो हुन्थ्यो तर पनि पढ्नुपर्छ भनेर विद्यालय जान मन लाग्थ्यो । हजुरबुबा, हजुरआमाले पनि पढ्नको लागि प्रेरित गर्नुहुन्थ्यो । ३÷४ कक्षा पढ्ने बेलासम्म त खाली खुट्टा
हिँडेर नै पढेको हुँ । खाली खुट्टा हिँड्दाखेरी कहिले काहीं खुट्टामा काँडा बिझेर रगतनै रगत हुन्थ्यो ।
हाम्रो समुदायमा छोरो भएपछि लाहुरे हुनुपर्छ भन्ने अलिखित मान्यता थियो । नेपाली सेना, इण्डियन आर्मी या ब्रिटिस सेना हुनुपर्छ भन्ने थियो । मलाई पनि केटो लायकको छ, भोलि गएर यो लाहुरे नै बन्छ भन्थे । तर मलाई पढेर समाजमै केही गर्नुपर्छ भन्ने सोच थियो । समाज परिवर्तनका लागि केही गर्छु भन्ने मेरो सोचले गर्दा मैले त्यतातिर ध्यान दिइनँ । म पढाइमा पनि राम्रो थिएँ । जहिले पनि राम्रो स्थानमा आउँथे । शिक्षकहरूले पनि रुचाउनुहुन्थ्यो । मैले कक्षा १० सम्म पढ्दाखेरी कक्षामा क्याप्टेन भएर सबै साथीहरूलाई व्यवस्थापन गर्थें । मैले स्कुल पढ्दादेखि नै राजनीति पनि बुझेको थिएँ । मेरो बुबा राजनीतिमा सक्रिय हुनुहुन्थ्यो । म ठूलो हुँदै गएपछि कहिलेकाहीं घर जान्थें । नेताहरूको कुरा सुन्दा राजनीति पनि बुझेको थिएँ । त्यसतर्फ पनि चासो दिन थालेको थिएँ । कक्षा ७ सम्म लेखफर्सामा पढेपछि माध्यमिक शिक्षाका लागि म गुमीमा पढ्न गएँ । त्यस्तै डेढ घण्टाको बाटो हिँडेर जानुपथ्र्यो ।
स्कुल बिदा हुनासाथ घरमा आउँथे । हजुरआमाले खाजा बनाएर राखिदिनुहुन्थ्यो । खाजा खाएर साथीहरूसँग गाईगोठालो जाने गर्थें । गाई गोठालो जाँदा धेरै रमाइलो हुन्थ्यो । कहिलेकाहीं साथीहरूसँग खेल्दाखेल्दै गाईवस्तुले अरुको पाक्न लागेको बाली खाइदिएको पनि घटना छ । एक दिन साथीहरूसँग खेल्दाखेल्दै रात परिहाल्यो । एउटा गोरु बारी गहुँ खान लागेको भएर छुटेछ । घर गएपछि मात्र थाहा भयो । अहिले सम्झदा रमाइलो लाग्छ त्यसबेला भने डर लाग्थ्यो ।
स्कुलबाट भागेर आएर भेरी नदीमा पौडी खेलेको सम्झना पनि छ । कहिले काहीं त घरबाट पनि भागेर जान्थ्यौं । सधैं भेरीमा पौडी खेल्न जान्छ भनेर ढोका लगाएर थुनिदिनुहुन्थ्यो । झ्यालबाट हामफालेर पौडी खेल्न गइहाल्थ्यौं । पौडी खेल्दा दुई÷तीन पटकसम्म त डुबेर पानी खाएर धन्नै मरिएको थियो । साथीहरूले बचाए । घरमा कहिले काहीं पढेको जस्तो गर्ने अनि भागेर पौडी खेल्न जाने गथ्र्यौं ।
गाउँमा पहिले कोही बिरामी भयो भने धामीझाँक्री बस्ने चलन थियो । गाउँमा कोही बिरामी भएर धामी बस्दैछन् भन्ने खबर सुन्नासाथ साथीहरू मिलेर हेर्न जान्थ्यौं । पछि गाइगोठालो गएको बेलामा धामीले जस्तो गर्थे त्यस्तै अभिनय गरेर खेल्ने गथ्र्यौ । पिङ बनाएर खेल्ने, चिप्लेटी, अरिंगाललाई जिस्काएर भाग्ने चाहिँ धेरै गरियो । त्यस्तै १३ वर्षको हुँदा बिरामी परें । त्यसबेला मलाई दिनमा तीन वटा इन्जेक्सन लगाउनुपर्ने । १० दिनसम्म इन्जेक्सन लगाएँ । धन्नै मरेको थिएँ । समयमा नै उपचार पाएर बाँचे । विद्यालय पढ्दाको एउटा सम्झना छ ।
त्यसबेलामा बजार देख्न पाइदैन्थ्यो । कहिलेकाहीं नुन तेल लिन रामघाट बजारसम्म आइयो । बाल्यकाल रमाइलोसँग नै बित्यो । हजुरबुबा आमाले पढ्नुपर्छ भनेर मार्गदर्शन दिनुभयो, बुबाले राजनीतिमा लाग्न प्रेरित गर्नुभयो । यसरी नै मेरो बाल्यकाल बित्यो ।
साझा बिसौनी संवाददाता ।