पूर्वीय संस्कृतिमा मानव अधिकार र उदारवादको प्रतिविम्ब
रचना पन्थी
पृष्ठभूमि:
मानव भएकै नाताले प्राप्त सबै अधिकारहरू मानव अधिकार हुन् । उक्त अधिकार कसैले दिने वा कसैले पाउने भन्ने हुँदैन । यस्ता अधिकार सार्वभौमिक प्रकृतिका हुन्छन् । मानव अधिकार कुनैपनि राष्ट्रियता, लिङ्ग, जातीय उत्पत्ति, वर्ण, धर्म, भाषा, वा अन्य कुनै पनि स्थिति आधारमा फरक हुँदैन । मानव अधिकारभित्र मानिसको बाँच्न पाउने हकदेखि जीवनलाई बाँच्न लायक बनाउन आवश्यक पर्ने हकहरू, जस्तै खाना, शिक्षा, काम, स्वास्थ्य, र स्वतन्त्रता सम्बन्धी अधिकारहरू पर्छन् । उक्त सबै अधिकारहरू समान रूपमा मौलिक छन् । किनभने दिगो र सम्मानित जीवनका लागि यी अधिकारहरू आवश्यक छन् । यी अधिकार विना जीवनको अधिकार आफैमा सम्झौता हुनेछ, किनकि तिनीहरू सबै मानव अस्तित्वसँग जोडिएका छन् ।
मानव अधिकार सबै मानव जातिको मर्यादालाई मान्यता दिने र संरक्षण गर्ने मापदण्ड हो । यस्ता अधिकारको माध्यमबाट व्यक्तिहरू समाजमा कसरी बस्छन्, कसरी एकअर्कासँग अन्तरक्रिया गर्छन्, साथै राज्यसँगको सम्बन्ध र राज्यको उनीहरूप्रतिको दायित्वहरू आदिलाई नियन्त्रण गर्छन् । मानव अधिकारसम्बन्धी कानुनले सरकारहरूलाई निश्चित काम कारबाही गर्न बाध्य पार्छ । र ती अधिकारहरूको संरक्षण राज्यको प्रमुख दायित्व हुन्छ । यद्यपि, मानव अधिकारको प्रयोग सम्बन्धमा व्यक्तिको पनि महŒवपूर्ण जिम्मेवारी हुन्छ – उनीहरूले आफ्नो अधिकार प्रयोग गर्दा अरूको अधिकारको समेत सम्मान गर्नुपर्छ । कुनै पनि सरकार, समूह वा व्यक्तिलाई अर्काको अधिकार हनन् हुने कुनै पनि काम गर्ने अधिकार हुँदैन । मानव अधिकारले सबै धर्म, संस्कृति र दर्शनमा आधारित भइ अभिव्यक्त भएका प्रत्येक व्यक्तिमा अन्तर्निहित मूल्य, मान्यता, मर्यादा, र समानताको पारस्परिक सम्मान गर्छ । तिनीहरू एक अर्कालाई निष्पक्ष रूपमा व्यवहार गर्न सिकाउने, सम्मान लिने दिने र दैनिक जीवनमा वास्तविक छनौट गर्ने क्षमता बढाउने कुरासँग सम्बन्धित छन् । मानव अधिकारको सम्मान भनेकै सबल समुदायको आधारशिला हो जसमा सबैले योगदान दिन सक्छन् र सबैले समावेश भएको महशुस गर्छन् ।
अतः मानव अधिकार यस्ता मापदण्डहरूको संग्रह हो जसले राज्य र गैर–राज्य पक्षले व्यक्ति र समूहलाई सम्मानजनक जीवनको आधारभूत नैतिक सिद्धान्तहरूमा आधारित व्यवहार गर्नुपर्छ । यस्ता नागरिक अधिकार कुनैपनि राज्यले खोस्न मिल्दैन र यी अधिकार राष्ट्रिय वा अन्तर्राष्ट्रिय कानून मार्फत् सुरक्षित गरिएका छन् । केहीले मानव अधिकारलाई प्राकृतिक कानुनको अंश मानेता पनि उक्त अधिकारहरूलाई सन्धि कानुनको मूल तत्वको रूपमा बुझिन्छ । मानव अधिकारले नैतिक मान्यता र सिद्धान्तहरू अंगीकार गरेको हुन्छ जसमा मानव व्यवहारको मापदण्ड परिभाषित भएको हुन्छ । साथै मानव अधिकारहरू विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनी ढाँचा अन्तर्गत निरन्तर रूपमा सुरक्षित हुन्छन् । मानव अधिकार विश्वव्यापी प्रकृतिका छन् र तिनीहरू सबै समय र सबै स्थानमा लागू हुन्छन् ।
वेद र महाकाव्य परम्पराको योगदान
संस्कृत शब्द “वेद” मूल शब्द “विद” बाट निसृत भएको हो, जसले “ज्ञान वा विवेक” लाई संकेत वा व्यक्त गर्छ । वेद (वा ज्ञान) सबैभन्दा पुरानो उपलब्ध पवित्र अभिलेख हो जुन भगवान (अपौरुषेय) द्वारा अभिव्यक्त भएको मानिन्छ र ऋषिहरू मार्फत् मानवतामा हस्तान्तरण गरिएको थियो । मानव अधिकारको आधुनिक अवधारणा वेद लगायत अर्थशास्त्र, धर्मशास्त्र, महाभारत र रामायण जस्ता प्राचीन साहित्यिक तथा लिपी श्रोतहरूमा पनि समावेश भएको पाइन्छ । उक्त ग्रन्थहरूको सार र संयुक्त राष्ट्र संघीय महासभाले घोषणा गरेका मानव अधिकारसम्बन्धी दस्तावेजको तुलनात्मक अध्ययनले प्राचीन लेखहरूमा समानता र नैतिक उत्तरदायित्वको गहिरो परम्परालाई प्रकट गर्छ । ऋग्वेद र अथर्ववेद दुवैले समानतालाई जोड दिन्छन् । यसका साथै धार्मिक परम्पराहरूले मानवताप्रतिको दायित्व, व्यक्तिको जिम्मेवारी र कर्तव्यमा आधारित अवधारणाहरू समेटेका छन् ।
प्राचीन भारतीय समुदायहरूले आफ्नो इतिहास, संस्कृति र ज्ञान प्रणालीहरूलाई विभिन्न भाषाहरू मार्फत् संरक्षण गरे, जसका कारण तिनीहरूमा एकता र विविधता दुवै कायम राख्न संभव भयो । ती भाषाकै माध्यमबाट समाजमा जटिल स्तरीकरण र विभिन्न साम्प्रदायिक परम्पराको विकास भयो । जसमा वासस्थान र वातावरणीय नियम समेत संलग्न छन् । वैदिक विश्व दृष्टिकोण अनुसार यो व्रह्माण्ड एक गुँड हो जहाँ हामी सबै एकतावद्ध भएका छौँ (यत्र विश्वम् भवत्यकनिदम्, यजुर्वेद ३२.८) र यहाँ मातृ गर्भमा विश्वव्यापी भ्रातृत्व स्थापित भएको छ (भ्रात्रत्वम् मातुर्गर्भे भ्रमहे, ऋग्वेद ८.८३.८) । यस्तै मानव अधिकारको पारस्परिकताको सिद्धान्त ऋग्वेदको सुक्ति (१९.११७.६) मा उल्लेख छ । जसमा भनिएको छ– केवलाघो भवति केवलादि, अर्थात् जसले एक्लै खान्छ, उसले एक्लै पाप भोग्नुपर्छ ।
अथर्ववेदको पृथ्वीसुक्तमा भनिएको ‘माता भूमिः, पुत्रोहम् पृथ्वीभ्य’ ले मानवता र प्रकृतिको अधिकारको सम्बन्ध स्थापित गरेको छ । छान्दोग्य उपनिषदमा उद्दालक–आरुणि संवादले विविधतामा सद्भावको वैदिक दृष्टिकोणलाई प्रकाश पारेको छ । भनिएको छ– हामी विभिन्न रूखहरूबाट रस संकलन गर्न र तिनीहरूलाई एकत्रित गर्न मौरीले झैं काम गर्न सक्छौँ । श्रीमद् भगवद् गीतामा उल्लेख भएको कर्तव्य पालनासम्बन्धी निम्न श्लोकले मानव अधिकारको अवधारणालाई झनै सबल बनाउँछ । जसले भन्छ, श्रेयान्स्वधर्मो बिगुणः परधर्मात्स्वनुष्ठितात् । स्वधर्मे निधनं श्रेयः परधर्मो भयावहः । अर्थात् राम्ररी आचरण गरिएको परधर्मभन्दा गुणमा कम भए पनि स्वधर्म नै श्रेयस्कर हुन्छ । स्वधर्ममा निधन उचित छ । परधर्म त भयकारी हुन्छ । यहाँ धर्म भन्नाले कुनै परम्परा नभइ गुण हो । अरूको स्थानमा गएर आफ्ना कर्तव्य पूर्ण रूपमा निभाउनु भन्दा आफ्नो स्थानबाट कर्तव्य पूरा गर्नु मात्र बढी श्रेयस्कर हुन्छ । गीतामा उक्त क्षेत्रलाई मानिसको क्षमता र विशेषतामा आधारित भइ नियमन गरिएको छ । गीताका अनुसार परिश्रमका आधारमा मानिसलाई चार जातमा विभाजन गरिएको हो । भनिएको छ– चातुर्वर्णम् मायास्रष्टम् गुणकर्मविभागसः, अर्थात् ‘म (सर्वोच्च परमात्मा) ले गुण र कर्मका आधारमा चार जातको सृष्टि गरेको हो ।’
सारमा भन्नुपर्दा गीताले व्यक्तिगत स्वार्थपूर्तिभन्दा माथि उठेर लोकसंग्रह वा सर्वव्यापी कल्याणको लक्ष्यका लागि कर्तव्य निर्वाह गर्न आग्रह गरेको छ । गीतामा कर्मयोगलाई कर्मको फलसँग अलिप्तता (निवृत्ति) र साधनमा लगाव (प्रवृति) सहित कर्तव्यको प्रदर्शनको रूपमा बारम्बार व्याख्या गरिएको छ । साथै यस्ता कार्यलाई सफलता वा असफलतासँग जोडिएको छ । यसैगरी वैदिक सुत्रात्मन सिद्धान्त र चेतनाको वेदान्तिक सिद्धान्तले मानव अधिकारको विश्वव्यापी सिद्धान्तको आधार प्रदान गर्छ । गीताले सबैलाई आ–आफ्नो तरिकाले भगवानको नजिक जान अनुमति दिन्छ । भनिएको छ– ‘ये यथा मां प्रपद्यन्ते तांस्तथैव भजाम्यहम्’, अर्थात् यसले पेसाका आधारमा सिर्जना गरिएका चार वर्णलाई पनि अन्तरजातीय आन्दोलनको अनुमति दिन्छ ।
‘कर्म’ को अवधारणाले मानिसको सबै काम र तिनका परिणामहरूको लागि व्यक्ति नै जिम्मेवार हुने कुरामा जोड दिन्छ । उक्त कुरा आधुनिक वैज्ञानिक न्यूटनको गतिको तेस्रो नियमसँग मिल्दोजुल्दो छ । जसले प्रत्येक कार्यको समान तर विपरित प्रतिक्रिया हुने बताउँछ । अर्कोतर्फ कर्म दर्शनले जीवनमा सबै कुरा संयोगवश हुन्छ भन्ने धारणालाई अस्वीकार गर्छ । व्यक्तिका ‘कार्यहरू’ छिटो वा ढिलो यस जीवनमा वा अन्य जीवनकालमा पुनःजागृत हुने कुराले व्यक्तिलाई नराम्रो कर्म गर्नबाट रोक्छ । कर्म शब्द पहिलो पटक ऋग्वेदमा प्रयोग भएको पाइन्छ । यसको विस्तृत व्याख्या भने बृहदारण्यक उपनिषद र भगवद् गीता जस्ता ग्रन्थहरूमा गरिएको छ । वैदिक साहित्यले उत्तरदायी समाजको वकालत गर्छ, जहाँ व्यक्तिलाई दिइएको अधिकार नै दायित्व पूरा गर्ने अधिकार हो । अतः भगवद् गीताले भनेजस्तै कर्मको सार भनेकै कुनै फलको आशा नगरी आफ्नो दायित्व पूरा गर्नु हो । यसैगरी महाभारतमा प्रजाप्रतिको राजाको कर्तव्यले प्रजाको अधिकारलाई जनाउँछ भनेको छ । राजाले जनताका लागि के के गर्नुपर्छ भन्ने कुरामा सदैव सचेत हुनुपर्छ साथै अरूको स्वामित्वमा रहेको चिज चलाउनु हुँदैन । बृहस्पतिका अनुसार निरन्तर उत्थान वा विकास नै राजधर्मको लक्ष्य हो । शासकले पञ्चवर्ग वा राज्यका पाँच खण्डहरूः मन्त्री, राज्य, किल्ला, सेना र खजाना (मन्त्री, राष्ट्र, दुर्गा, सेना र कोष) को अखण्डता र अधिकारको रक्षा गर्नुपर्छ । शासकले जनतासँगको सम्झौता र प्रजापतिको स्वीकृति मार्फत् जनतालाई मत्स्यन्यायबाट बचाउनु पर्छ ताकि ठूलाले सानालाई ननिलोस् । यस्तै नारदले शासकलाई प्रजाबाट कर असुली सम्बन्धमा सल्लाह दिएका छन्– जुन न त न्यून न त अत्याधिक नै हुन हुन्छ । कर बाच्छोले गाईबाट दूध लिएजस्तै वा मौरीको घार नष्ट नगरी मह निकालेजस्तो हुनुपर्छ ।
आदिपर्वमा व्यासका अनुसार राजाले देवताको पूजा, पुर्खाको श्राद्ध वा पुजारीको काममा बाधा पु¥याउनु हुँदैन, न त खडा बाली नै काट्नु हुन्छ । यस्तै शासकले महिला, बालबालिका वा ऋषिहरूको वध गर्नु हुँदैन । महाभारतमा शान्ति पर्व र अनुशासन पर्वले धर्मको प्रदर्शनमा निर्देशन दिन्छ । शान्तिपर्वमा, भीष्मले युधिष्ठिरलाई शासनका विभिन्न पक्षहरूमा पृष्ठपोषण दिन्छन्– जस्तै सामाजिक व्यवस्थाको संरक्षणमा शासकको कर्तव्य, दण्डको सिद्धान्त, युद्ध, आचरण, आत्म–ज्ञान, व्यक्तिगत इच्छा र आसक्तीको त्याग आदि (राजा र वर्णश्रमधर्म, दण्ड, युद्ध र व्यवहार नीति, आत्मज्ञान, इच्छा र अनाशक्तियोग) । यसैगरी महाभारतमा भीष्मले धर्मको पूर्ण व्याख्या गर्न आफ्नो मृत्युलाई केही समय टार्छन् भने कृष्णले युद्ध र शान्ति दुवैको समयमा अधिकार र कर्तव्यहरूबारे छलफल गर्न एक आसन्न युद्धनै रोक्छन् ।
महाभारतमा भनिएको छ– ‘अमृतं चैव मृत्युश्च द्वयं देहे प्रतिष्ठितम्’ अर्थात् मृत्यु र अमरता दुवै मानव शरीरमा सह–अस्तित्वमा स्थापित भएका कुरा हुन् जसले अधिकार र कर्तव्यको सन्तुलित खोजी गर्छन् । अधिकार र कर्तव्यको विच्छेद सम्भव छैन । यस्तै रामायणले पनि आदर्श सम्बन्धको आधारमा अधिकार र कर्तव्यलाई उल्लेख गरेको छ जहाँ परिवारका सबै सदस्यबीच, राजा र प्रजाबीच, मानव र गैर–मानव बीचको सम्बन्ध अधिकार र कर्तव्यको पारस्परिकतामा आधारित हुन्छ ।
निष्कर्ष
वैदिक साहित्यमा मानव अधिकारको बारेमा स्पष्ट र प्रत्यक्ष रूपमा चर्चा गरिएको छैन र यति पुरातन ग्रन्थमा उक्त कुराको अपेक्षा राख्नु पनि स्वाभाविक होइन । यद्यपि वैदिक ग्रन्थहरूले मानव अधिकारका केही उच्च आदर्श तथा इतिहास लेखनमा योगदान नगरेको भने होइन । किनभने वैदिक साहित्यमा मानव र प्रकृतिको तालमेल, अधिकार र कर्तव्यको संयोजनलाई अधिक महŒव दिइएको छ । वैदिक साहित्यमा मानव अधिकारको अवधारणा अमूर्त भएपनि मानव अधिकारका आधुनिक दस्तावेजमा यसको प्रशस्त प्रभाव परेको पाइन्छ । वैदिक साहित्यले कर्तव्य र अधिकारलाई समानुपातिक रूपमा व्यवहार गर्दछ । वैदिक समाज अधिक दायित्वपूर्ण भएकाले दायित्व पूरा गर्नु नै अधिकारको उपभोग गर्नु भन्ने बुझिन्थ्यो । उत्तरदायीपूर्ण समाजमा व्यक्तिका अधिकारहरू स्वतः सुनिश्चित भएका हुन्छन् । अतः यी अमूर्त अधिकारहरू कानुन र समाजभन्दा पनि अगाडि छन् र समग्र मानवता र प्रकृतिको हितमा छन् । सम्पत्तिको स्वामित्वको अधिकारको अवधारणा सम्बन्धमा भने बैदिक साहित्य स्पष्ट छैन । जुन आधुनिक समाजको महŒवपूर्ण मानव अधिकारमध्येको एक हो । यसबाहेक, धर्म र धर्म–राजाको आदर्शलाई अधिकारको अवधारणासँग स्पष्ट एकरूपता भएको भनेर व्याख्या गर्नु हुँदैन ।
(लेखक ऋति फाउन्डेसनमा कार्यक्रम सहायकको रूपमा आवद्ध छिन् ।)
प्रकाशित मितिः २ कार्तिक २०८१, शुक्रबार १६:००

रचना पन्थी ।