दुई सय २४ नयाँ ठेक्का सम्झौता

सुर्खेत: चालु आर्थिक वर्षबाट कार्यान्वयनमा जानेगरी दुई सय २४ योजनाको ठेक्का सम्झौता गरिएको छ । स्रोत सुनिश्चितता गरेर बहुवर्षीय योजनाको रूपमा दुई सय २४ योजनाको सम्झौता गरिएको हो । यो वर्ष कर्णाली प्रदेश सरकारका तीन सय ५० योजनाको स्रोत सुनिश्चितता भएर ठेक्का सम्झौता हुनेछन् । हालसम्म दुई सय २४ योजनाको ठेक्का सम्झौता गरिएको छ भने एक सय २६ योजना ठेक्का सम्झौता प्रक्रियाको चरणमा रहेका छन् ।

अहिले नयाँ योजनाको ठेक्का सम्झौताको काम धमाधम भइरहेको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले जनाएको छ । बहुवर्षीय तथा स्रोत सुनिश्चितताका लागि जिल्ला–जिल्लाबाट थप २१ योजना पेस भएको मन्त्रालयका सूचना अधिकारी प्रविण कार्कीले बताए । उनका अनुसार यो वर्ष बहुवर्षीय स्रोत सुनिश्चित भएका तीन सय ५० योजना ठेक्का सम्झौताको चरणमा गएका छन् । दुई सय २४ योजनाको ठेक्का सम्झौता भएको र एक सय २६ योजना सम्झौताको चरणमा रहेको कार्कीले जानकारी दिए । जिल्ला–जिल्लाबाट स्रोत सुनिश्चितताका लागि नयाँ योजना आउनेक्रम जारी छ । हालसम्म २१ वटा नयाँ योजना मन्त्रालयमा पेस भएको सूचना अधिकारी कार्कीले बताए । उनले भने, ‘भौतिक मन्त्री, मुख्यमन्त्री र अर्थमन्त्री बसेर जिल्ला–जिल्लाबाट पेस भएका २१ योजनामध्येबाट केही योजनाको छनोट हुन्छन्, अहिले नयाँ योजना आउनेक्रम जारी छ ।’

कर्णाली प्रदेश सरकारले पुँजीगत खर्च बढाउन नयाँ नीति अवलम्बन गरेको छ । सोही नीति अनुरूप अहिले नयाँ योजनाको धमाधम ठेक्का सम्झौता भइरहेको हो । साउन मसान्तभित्र कार्ययोजना स्वीकृत गरिसक्नुपर्ने, पहिलो त्रैमासिकभित्रै कार्यविधि, मापदण्ड र निर्देशिका तर्जुमा निर्माण गर्नुपर्ने नीति सरकारको छ ।

यसैगरी सरकारले पहिलो चौमासिकभित्र ठेक्का व्यवस्थापनको काम सुरु गरिसक्ने जनाएको छ । मन्त्रालय र योजना आयोगको सिफारिसमा मंसिरभित्र रकम बाँडफाँड गर्नुपर्ने, बहुवर्षीय आयोजनाको ठेक्का अवधि तीन वर्ष रहने, योजनाको ठेक्का सम्झौता गर्दा एक चौथाइ बजेट विनियोजन गर्नुपर्ने नीति प्रदेश सरकारको छ । सरकारले ६ महिनाभित्र बोलपत्र आह्वान नभए बहुवर्षीय आयोजना रद्द हुने र १५ लाखभन्दा कमका टुक्रे योजना कटौती गर्ने जनाएको छ । अहिले सरकारको नीति अनुरूप नै योजनाको सम्झौता र कार्यान्वयन गर्न लागिएको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश सरकारका एक सय बहुवर्षीय योजना कार्यान्वयन भइरहेका छन् । आर्थिक वर्ष २०७६÷२०७७ बाट सुरु भइ आर्थिक वर्ष २०८०/०८१ सम्म सम्पन्न हुनुपर्ने एक सय योजना हालसम्म पनि कार्यान्वयन भइरहेका छन् । ती योजना अन्तिम चरणमा पुगेको मन्त्रालयका सूचना अधिकारी प्रविण कार्कीले जानकारी दिए । पछिल्लो समय विकास निर्माणका काममा प्रदेश सरकारले चासो देखाएसँगै पूर्वाधार निर्माणका कामले गति लिएका छन् ।

 

नौ बुँदे प्रतिवद्धता

प्रदेश सरकारले बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन नौ बुँदे प्रतिवद्धता गरेको छ । चालु आर्थिक वर्ष २०८१/०८२ को बजेट कार्यान्वयनबारे सरकारले यस्तो प्रतिवद्धता जनाइएको हो । प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलको अध्यक्षतामा मन्त्री, प्रमुख सचिव, सचिव र कार्यालय प्रमुखहरूको तर्फबाट चालु आर्थिक वर्षको बजेट कार्यान्वयन गर्न सामुहिक प्रतिवद्धता गरिएको हो । जसमा प्रदेश सरकारअन्तर्गतका जिल्लास्थित सबै कार्यालयले चालु आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत बजेट तथा कार्यक्रममा रहेका योजनाको विवरण, योजनाको नाम, कार्यान्वयन हुने स्थान, कार्यान्वयन अवधि तथा विधि, बजेट साउन मसान्तभित्र सम्बन्धित स्थानीय तहलाई जानकारी तथा कार्यान्वयन सहजीकरणका लागि पत्राचार गर्ने उल्लेख गरिएको छ । पुँजीगत बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन उक्त योजना पहिलो प्रतिवद्धताको रूपमा राखिएको हो ।

यस्तै स्वीकृत वार्षिक बजेट तथा कार्यक्रम कार्यान्वयनको लागि आवश्यक कार्यविधि, निर्देशिका तथा मापदण्डहरू भदौ मसान्तभित्र तर्जुमा र असोज १५ भित्र स्वीकृत गर्ने र खरिद प्रक्रिया अगाडि बढाउनुका साथै बहुवर्षीय तथा क्रमागत आयोजनाको कार्यान्वयनलाई तीव्रता दिने पनि प्रतिवद्धतामा उल्लेख गरिएको छ । यसैगरी महालेखापरीक्षकको प्रतिवेदनमा कायम भएको बेरुजु साउन मसान्तभित्र फछ्र्यौट गर्ने, प्रदेश सरकारको क्षेत्राधिकारभित्र पर्ने आम्दानीका स्रोतहरूको पहिचान गरी राजस्वमा वृद्धि गर्ने, आयोजना र कार्यालय प्रमुखसँग कार्यसम्पादन सम्झौता गरी वार्षिक बजेट तथा कार्यक्रम कार्यान्वयन कार्ययोजनाको सम्वद्ध र पूर्णरूपमा कार्यान्वयन गर्ने बताइएको छ ।

प्रतिवद्धता अनुसार बजेट तथा कार्यक्रम कार्यान्वयनको अनुगमन कार्ययोजना बनाइ प्रभावकारी र नतिजामूलक अनुगमन गरिनेछ । उपलब्ध स्रोत र साधनको मितव्ययी र कुशलतापूर्वक प्रयोग गर्दै आफ्नो निकायबाट प्रवाह गरिने सेवालाई नतिजामूलक, गुणस्तरीय, नागरिकमैत्री र प्रभावकारी बनाउने निर्णय गरिएको हो । आगामी आर्थिक वर्ष २०८२÷०८३ को वार्षिक नीति, बजेट तथा कार्यक्रमको तयारीको कार्यतालिका बनाइ दोस्रो त्रैमासिकदेखि सुरुवात गरी सम्वद्ध रूपमा योजना तर्जुमाको कार्यसम्पादन गर्ने लक्ष्य राखिएको छ ।

प्रकाशित मितिः   २४ आश्विन २०८१, बिहीबार ०५:०५