पशुका लागि अस्पताल

वीरेन्द्रनगरमा प्रादेशिक रिफरल भेटेरिनरी अस्पताल निर्माण गर्न लागिएको छ । प्रदेश सरकारले अस्पताल निर्माण गर्न लागेको हो । चालु आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम र बजेटमा समेटेर अस्पताल निर्माण गर्न लागेको हो । पशुपन्छीको उपचारमा स्तरीय सेवा दिने उद्देश्यले प्रादेशिक पशुपन्छी अस्पताल निर्माण गर्न लागिएको प्रदेश सरकारले जनाएको छ । कर्णाली प्रदेश सरकारको लगानीमा सुर्खेतको वीरेन्द्रनगरमा प्रादेशिक रिफरल भेटेरिनरी अस्पताल निर्माण गरिने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । चालु आर्थिक वर्षमा अस्पताल निर्माणका लागि सरकारले तीन करोड २५ लाख विनियोजन गरेको छ । मन्त्रालयले अस्पताल निर्माणको डिपीआर तयार गरिसकेको छ । गत आर्थिक वर्ष २०८०/२०८१ मा डिपीआर निर्माण गरिएको हो । गत आर्थिक वर्षमा अस्पताल निर्माणका लागि प्रदेश सरकारले २० लाख बजेट विनियोजन गरेको थियो । उक्त बजेट भने कार्यान्वयन हुन सकेको थिएन ।

प्रादेशिक अस्पताल निर्माण गरेर पशु विज्ञ सेवा दिन लागिएको प्रदेश सरकारले जनाएको छ । अहिले कर्णालीका दशवटै जिल्लाका पशु अस्पताल र पशुसेवा कार्यालयहरूबाट सेवा प्रवाह भइरहेको छ । उक्त सेवालाई थप प्रभावकारी बनाउन र थप सेवा विस्तार गर्न प्रादेशिक अस्पताल निर्माण गर्न लागिएको हो । देश संघीयतामा गएको लामो समय भइसक्दा समेत प्रादेशिक पशु अस्पताल निर्माण भएको छैन । कर्णालीमा महामारीले गर्दा पशुमा ठूलो क्षति हुने गरेको छ । प्रादेशिक अस्पताल र उपकरण नहुँदा पशुपन्छीलाई विज्ञ सेवा दिन नसकिएको अवस्था छ । अस्पतालबाट पशुपन्छीको बहिरङ्ग सेवा, शल्यक्रिया तथा शव परीक्षण र विशेषज्ञ सेवा प्रदान गरिनेछ । यसअघि पशुमा कुनै रोग महामारीको रूपमा फैलिएमा त्यसको रोग पहिचान र निधानमा समस्या हुनेगरेको छ, जसले गर्दा पशुमा ठूलो क्षति हुने गरेको हो, प्रादेशिक रिफरल भेटेरिनरी अस्पताल बनेमा समस्या समाधान हुने अपेक्षा गरिएको छ ।

कर्णालीमा महामारीकै कारण पशुमा ठूलो क्षति हुने गरेको छ । रोगको पहिचान हुन नसक्नु तथा समयमै औषधि उपलब्ध नहुँदा पशुमा लाग्ने रोग महामारीका रूपमा फैलने गरेको हो । गतवर्ष मात्र लम्पी स्किन संक्रमणका कारण प्रदेशमा साढे दश हजार पशु चौपाया मरेको निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार दुई लाख २७ हजार दुई सय ६७ बाच्छाबाच्छी, गाई, गोरु, भैसी र चौरी संक्रमित भएमध्ये प्रदेशका दश जिल्लामा दश हजार चार सय ५० पशु चौपाया मरेका हुन् । पशुमा लाग्ने रोगलाई महामारीको रूपमा फैलन नदिन, प्रदेशमा विज्ञ सेवा विस्तार गर्नकै लागि प्रदेश सरकारले अस्पताल निर्माण गर्न लागिएको हो ।

प्रकाशित मितिः   २४ आश्विन २०८१, बिहीबार ०५:०३