६ जनाको मृत्यु, ८६ जना घाइते
सुर्खेत: अघिल्ला वर्षहरूमा जस्तै यो वर्षको दसैँ अवधिमा पनि कर्णाली प्रदेशमा विभिन्न सवारी दुर्घटना भएका छन् । घटस्थापना अर्थात् असोज १७ देखि २७ गतेसम्म कर्णाली प्रदेशभर ४९ वटा सवारी साधन दुर्घटनामा परेका छन् । सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने ८६ जना घाइते भएका छन् ।
सबैभन्दा बढी सुर्खेतमा १९ सवारी दुर्घटनामा परेको प्रदेश प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ । त्यसैगरी दैलेखमा आठ, जाजरकोटमा ६, सल्यानमा आठ, रुकुमपश्चिममा दुई, कालीकोटमा एक, जुम्लामा तीन, हुम्लामा एक, डोल्पामा एक गरी ४९ सवारी साधन दुर्घटनामा परेका हुन् ।
क्षमताभन्दा धेरै यात्रु सवार गर्ने, मादक पदार्थ सेवन गरी सवारी चलाउँदा चाडपर्वमा सवारी दुर्घटना धेरै हुने गरेको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ । घटस्थापनादेखि दसैँको भोलिपल्ट अर्थात् असोज २७ गतेसम्म सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको कार्यालयका सूचना अधिकारी नारायण डाँगीले बताए । उनका अनुसार यो अवधिमा ४९ सवारी साधन दुर्घटनामा परेकोमा ६ जनाको मृत्यु भएको हो भने ८६ जना घाइते भएका छन् ।
सवारी सञ्चालनका क्रममा पालना गर्नुपर्ने नियमहरूको पालना नगर्दा पनि दुर्घटना हुने गरेका छन् । लामो दुरीका सवारी साधनमा दुई जना चालक अनिवार्य राख्नुपर्ने, सवारी साधनमा सरोकारवालाको फोन नम्बर राख्नुपर्ने, टाइम कार्ड पालना गर्नुपर्ने र गाडीमा झुण्डिएर, छतमा बसेर यात्रा गर्न नपाइने व्यवस्था लागू गरिए पनि नियमको पालना नहुँदा चाडपर्वमा दुर्घटना बढ्ने गरेका छन् । पछिल्लो समय मानवीय त्रुटिको कारण दुर्घटना बढिरहेको सूचना अधिकारी डाँगीले बताए । उनले भने, ‘अधिकांश सडक कच्ची हुँदा थप जोखिम बढेको हो, चाडपर्व लक्षित सुरक्षा योजना लागू गरिएको छ, सोही अनुसार निगरानी बढाएका छौँ ।’
फितलो निगरानीले दुर्घटनाको जोखिम
चाडपर्वको समयमा सार्वजनिक सवारी साधनमा क्षमताभन्दा धेरै यात्रु सवार गर्दा दुर्घटनाको जोखिम बढेको छ । सीमित सवारी साधनका कारण यात्रुहरूले कष्टकर यात्रा गर्न बाध्य छन् । दसैँ–तिहारलाई लक्षित गरी ‘रुट परमिट’ खुला गरिए पनि यात्रुबाहक सवारी साधनको संख्या भने सामान्य अवस्थाको जस्तै छ । यात्रुको चाप हुने यस समयका लागि यातायात व्यवसायीहरूले सवारी साधन थप गरेका छैनन् । क्षमताभन्दा बढी यात्रु बोक्ने र कच्ची सडकमा तीव्र गतिमा गाडी हाँक्दा दुर्घटनाको जोखिम एकातिर छ भने अर्कोतिर यात्रुहरू तोकिएको भन्दा बढी भाडा तिर्न बाध्य छन् । यात्रुबाहक सवारीको व्यवस्थापन, भाडादरको अनुगमन तथा सवारी नियमविपरीत सञ्चालन भइरहेका गाडीहरूको निगरानीमा लापरबाही भइरहेको छ ।
प्रहरीले चाडपर्व लक्षित विशेष सुरक्षा योजना बनाएर सोहीअनुसार जनशक्ति परिचालन गरिएको दाबी गरे पनि जुनसुकै सडकमा सुरक्षा निकायको बेवास्ता देखिन्छ । सवारी साधनको चेकचाँजमा कडाइ नगर्दा व्यवसायीहरूले क्षमताभन्दा दोब्बर यात्रु बोकर जोखिमपूर्ण यात्रा गराइरहेका छन् । खासगरी ग्रामीण क्षेत्रका सडकहरूमा प्रहरीको सक्रियता निकै कमजोर देखिएको छ । कर्णालीका अधिकांश सडक कच्ची र जीर्ण छन् । ती सडकहरूमा चल्ने सवारी साधनमा क्षमताभन्दा धेरै यात्रु सवार गर्दा दुर्घटनाको जोखिम बढ्ने हो । नेपालीका सबैभन्दा ठूला चाडपर्व दसँै र तिहार हुन् । यी चाड आउँदा खुसी त आउँछन्, पछिल्ला वर्षहरूमा भने थुप्रै दुःख पनि बढेका छन्, त्रास र जोखिम पनि चाडपर्व सँगसँगै आउँछन् । यो वर्ष झनै वर्षात्ले कर्णालीका अधिकांश सडकको अवस्था थप जोखिमपूर्ण बनेको छ । जसले गर्दा यात्रुले झनै सास्ती व्यहोर्नुपरेको थियो ।
प्रकाशित मितिः २ कार्तिक २०८१, शुक्रबार १६:२५
साझा बिसौनी ।