दलहरू गाउँमा भोट माग्न व्यस्त

सुर्खेत, १ वैशाख ।
गाउँमा चुनावको माहोल तातेको छ । करिब २० वर्षपछि स्थानीय तहको चुनाव हुने भएपछि राजनीतिक दलहरू पनि गाउँ पसेका छन् । यसअघि काममा मात्र व्यस्त हुने किसानहरू समेत चुनावको प्रचारमा व्यस्त छन् । स्थानीय तहको नेतृत्व हत्याउनका लागि जिल्लाका प्रमुख दलहरू गाउँ छिरेका हुन् ।
चौतारी, चिया पसल, पँधेरो र कामकाजमा गएका बेला मेलापातमा समेत हिजोआज चुनावकै चर्चा हुन थालेको छ । दलहरू आफ्नो पकड बनाउनका लागि गाउँमा व्यस्त छन् । पछिलो चरणमा प्रचारप्रसार गरेर फर्केका दलहरू अब नेतृत्व आफ्नो पक्षमा ल्याउन जनतासँग भोट माग्दै दोस्रो चरणमा गाउँ पसेका हुन् । नेता र कार्यकर्ता मात्र होइन, सर्वसाधारणहरू समेत आफ्नो पार्टीको पक्षमा भोट माग्न व्यस्त छन् । जसले गर्दा चुनावको रौनक सदरमुकाममा भन्दा गाउँमा बढी देखिएको छ ।
जनताको घरमै सरकारको प्रतिनिधित्व गर्ने स्थानीय तहमा आफ्ना प्रतिनिधि रोज्न जनताले योग्य उम्मेदवार खोजीरहेका छन् । दलहरू पनि गाउँमा लोकप्रिय र जित्न सक्ने उम्मेदवारको चर्चा चलाउन व्यस्त भएका छन् । विशेष गरी जिल्लाका तीन ठूला दल नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्रले चुनावी प्रचार–प्रसार गर्दै जनतासँग भेटघाट गर्ने कार्यलाई तीव्रता दिएका छन् । चुनाव आउन अब एक महिना मात्रै बाँकी भएकोले चुनाव लक्षित प्रचार–प्रसार अभियानलाई तीव्रता दिएको दलका प्रतिनिधिहरू बताउँछन् । निर्वाचनमा युवा प्रतिनिधिहरूको निकै चर्चा भइरहेको छ ।
नेपाली कांग्रेस जुम्लाका सभापति नरबहादुर शाहीले लामो समयपछि जनताले आफ्नै जनप्रतिनिधि चुन्ने अवसर पाएकाले जनता पनि उत्साहित भएको बताए । ‘करिब दुई दशकसम्म स्थानीय निकाय जनप्रतिनिधिविहिन बने’ उनले भने,‘अब आफ्नै प्रतिनिधि चुन्ने अवसर आएको छ, जनता आतुर
छन् । हामीले पनि अभियान तीव्र बनाएका छौं, गाउँमा चुनावको लहर नै चलेको छ ।’ पार्टीको साख बचाउन र आफ्ना उम्मेदवारलाई जिताउन आफूहरू गाउँ अभियानमा व्यस्त रहेको नेकपा एमालेका युवा नेता रतननाथ योगीले बताए । उनले भने,‘जनता भोट हाल्नका लागि प्रतिक्षामा छन्, हामी उम्मेदवार छनौट गर्दैछौं । जनतामा निकै उत्साह देखियो, जिल्ला नै चुनावमय बनेको छ ।’
अब दोस्रो चरणमा पुनः उम्मेदवारसहित गाउँ जाने तयारी भइरहेको युवा नेता योगीको भनाइ छ । स्थानीय तहमा जनप्रनिनिधि नहुँदा व्यापक अनियमितता र विकास निर्माणमा ढिलाइ भएकोले पनि जनप्रनिनिधि चुन्नको लागि जनता उत्साहित भएको माओवादी केन्द्र जुम्लाका नेता राजकुमार शाहीले बताए । ‘स्थानीय तहको निर्वाचन मात्रै नभइ अधिकार सम्पन्न स्थानीय सरकारको प्रतिनिधित्व गर्ने भएका कारण सक्षम नेतृत्व चयन गर्ने एजेण्डासहित गाउँ पसेका छौं,’ उनले भने । अहिले गाउँमा विभिन्न सभा तथा भेलाहरू सम्पन्न भइरहेको उनको भनाइ छ । सातवटा स्थानीय तह रहेको जुम्लामा कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, नयाँ शक्ति लगायतले नेतृत्व आफ्नो पोल्टामा पार्नको गाउँमै घरघरमा पुगेर भोट मागिरहेका छन् ।
यद्यपि कुनै पनि दलले हालसम्म नगरपालिकासहित अन्य तहका लागि उम्मेदवारको टुंगो लगाइसकेका छैनन् । सबै ठाउँमा युवा नेताहरूलाई नै टिकट दिनुपर्ने आवाज उठे पनि वैशाख पहिलो हप्तासम्म उम्मेदवारको टुंगो लगाउने दलका नेताहरूले बताएका छन् । प्रत्येक दिन फरकफरक दलका गाउँमा कार्यक्रम हुने भएकोले जनताहरू पनि काम छोडेरै चुनावी कार्यक्रममा सहभागी हुने गरेका छन् । रात्रीमा सांस्कृतिक कार्यक्रमदेखि विभिन्न भेलालाई तीव्रता दिइएको छ । ‘काम त हामी विस्तारै गरिहाल्छम्,’ सिंजा धाँपाका रामप्रसाद आचार्यले भने,‘जनप्रतिनिधि चुन्ने अवसर धेरैपछि आएको छ, यसलाई गुमाउनु हुँदैन ।’ आफूहरू भोट हाल्न आतुर रहेको भन्दै उनले कुनै पनि हालतमा अब चुनाव विथोलिन नहुने बताए ।
स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि स्थानीय सरकार प्रुमख समेत हुने भएकोले ज्ञान र सीप हासिल गरेको नैतिकवान उम्मेदवारलाई टिकट दिन सर्वसाधारणले दलहरूलाई सुझाव दिएका छन् । आफ्नो गाउँको विकास निर्माणका साथै सुशासन कायम राख्न प्रतिबद्ध र सक्षम नेतृत्वलाई भोट दिन आचार्यको भनाइ छ । ‘अहिले गाउँमा प्रचार गर्न त सबै दलहरू आएका छन्,’ मालिका ठाँटाका जयबहादुर बुढाले भने,‘सक्षम, आँटिलो र नैतिकवान व्यक्ति जसले उठाउँछ उसैलाई भोट दिन्छौं ।’ पार्टी भन्दा पनि उम्मेदवारको क्षमता र काम हेर्ने उनको भनाइ छ ।

प्रकाशित मितिः   २ बैशाख २०७४, शनिबार १७:५६