‘‘विहेको भोलिपल्ट देखें’
जोडी भगवानले माथिबाटै बनाएर पठाएका हुन्छन् रे । नजिक होस् वा टाढा, आफ्नो होस् वा बिरानो लेखिएको कुरा भएरै छोड्छ । भन्छन् नि किस्मतमा लेखिएको कुरा मेटाउन सकिदैन । यस्तै रत्नबहादुर गाहाको किस्मतमा पनि देखेको कुरा होइन लेखिएकै कुरा भयो । उनले कहिल्यै नदेखेको नचिनेको केटीसँग विवाह गर्नुपर्ला भनेर कल्पना समेत गरेका थिएनन् । तर, उनले कल्पना नगरेको कुरा यथार्थमा नै भयो । उनको आमाको रोजाईको केटीसँग उनले विवाह गरे । विवाह त गरे, तर केटीलाई नहेरेर नचिनेरै बालकुमारीसँग विवाह गरे । विवाह गरेको भोलिपल्ट मात्र एकअर्काेको अनुहार राम्रोसँग देखेका थिए । उनीहरू भन्छन्, ‘हाम्रो जोडी भगवानले बनाएर पठाएका थिए त्यसैले एकअर्काेलाई नदेखेर नचिनेर पनि विहे भयो ।’
पिता हस्तबहादुर गाहा र माता बाटुली गाहाको कोखबाट २०२८ सालमा दैलेख खरीगैरामा जन्मिएका रत्नबहादुर गाहाको बाल्यकाल घरको काम र पढाइमा नै बित्यो । साथीसँग खेल्ने भन्दा पनि पढेर बचेको फुर्सदको समयमा घरको काम गरेर नै गाहाको बाल्यकाल बित्यो । उनी बाल्यकालमा धेरै नबोल्ने शान्त र कसैले धेरै जिस्क्याए भने रोइदिने स्वभावका थिए । स्कुल टाढा भएकाले घरदेखि दुई घण्टा हिँडेर पढ्न जानु पथ्र्यो । पढ्न जान आउन नै चार घण्टा हिँड्नु पर्ने यसबाट बचेको समय घरको काम गरेर बित्ने गथ्र्यो । २०४४ सालमा दैलेखबाट नै एसएलसी पास गरेका गाहा उच्च शिक्षा पढ्न सुर्खेत आए । बीएड सुर्खेतबाट पास गरेका गाहाले समाजशास्त्रमा मास्टर भने काठमाडौंबाट पास गरेका हुन् ।
पहिलेदेखि नै राजनीतिमा अलि बढी चासो दिने गाहा क्याम्पसमा पढ्दादेखि नै विद्यार्थी राजनीतिमा होमिए । उनले २०४४ सालपछि मोटो मसालमा आवद्ध भएर राजनीतिको यात्रा सुरु गरे । उनको त्यो राजनीति मोह दिनप्रति दिन बढ्दै गयो । अहिले उनी माओवादी केन्द्र राष्ट्रिय महाधिवेशनको आयोजक केन्द्रीय सदस्य भएका छन् । त्यतिमात्र होइन उनी अहिले माओवादी केन्द्रबाट वीरेन्द्रनगरको प्रमुख पदमा उम्मेदवार पनि दिएका छन् । गाहा दैलेखमा पढाउथे सुर्खेतबाट आमाले बोलाए पछि उनी घरमा आए ।
उनलाई सुर्खेतमा विहे गर्नको लागि बोलाइएको थियो । बाबुआमाले हेरेको केटी के कुरा काट्नु भन्दै गाहा पनि विहेको लागि राजी नै भए । केटी पहिले नै गाहाको आमा र भाइले हेरी सकेका कारण उनलाई केटी हेर्ने मौका मिलेन । जस्ती भए पनि आमाले रोजेको केटी राम्रो नै होला भनेर एक्कासी विहेको लागि केटी लिन गए । उनीसँग विहेको कुरा चलेको केटी अरु कोही नभएर बालकुमारी थिइन् । गाहा र बालकुमारीको आमाहरूले नै उनीहरूको बिहेको कुरा पक्का गरेका थिए । त्यति बेलामा समयमा छोरा छोरीको विहे बाबुआमाले नै रोजेको केटा केटीसँग गर्नु पर्छ भन्ने पनि थियो । यहाँ गाहा सोझो भएकाले पनि आमाले रोजेको केटीसँग नै विहे गर्न राजी भए । गाहाले एक पटक पनि नहेरेरै केटी लिन गए । उनले भने, ‘मेरो आमाले हेरेको केटी राम्रो नै होला भनेर उनलाई नहेरेरै विहे गर्न गए ।’ मगरको रितीरिवाज दुवै घरपरिवारको सहमतिमा बिहे गरे पनि पहिला भगाउने अनि माइती मान्ने चलन छ । गाहा र बालकुमारीको परिवारको सहमतिमा नै गाहा र बालकुमारी भागेर विहे गरे । रातीको समय थियो । गाहा बालकुमारीलाई लिन गए । बालकुमारी कस्ती थिइन् उनले देखेका थिएनन् । रातीको समय भएकाले गाहा र बालकुमारीले एकअर्काेलाई राम्रोसँग देखेनन् पनि । पहिलो पटकको भेट नै उनीहरूको विहे थियो । एकअर्काेसँग कसरी बोल्ने लाजले पनि बोलेनन् । उनीहरू भन्छन्, ‘राती एकअर्काेको अनुहार राम्रोसँग देखेनौ नियालेर हेर्न लाज लाग्यो ।’ उनीहरूले दुवैको घरपरिवारको सहमतिमा नै २०५० सालमा भागी विवाह गरेका थिए ।
विहेको भोलिपल्ट बिहान मात्र एकअर्काेले राम्रोसँग अनुहार देखेका थिए । विहेपछि बालकुमारीले कर्मघर पनि माइतीघर जस्तै पाइन् । तीन अमाजु भए पनि सबैको माया ममता पाइन् । घरमा बुहारी जस्तो व्यवहार नभइ छोरी जस्तो माया पाइन् । विहे भएको ३ दिनमा नै गाहा जागिरमा दैलेख गए । घरमा एक्लोपनको महशुस बालकुमारीलाई घरपरिवारले हुन दिएनन् । उनले भनिन्, ‘मैले घरमा सबै छोरीको दर्जा पाए, उहाँ घरमा नभए पनि सासु अमाजुले सधैं माया ममता दिनु भयो ।’
पिता पहलसिंह रखाल र माता हरिकला रखालको कोखबाट २०३१ सालमा सुर्खेतको कटुवा गैरीगाउँमा जन्मिएकी बालकुमारीको बाल्यकाल रमाइलोसँग नै बित्यो । उनी बाल्यकालमा कसैले पनि अन्याय गरेको सहन नसक्ने स्वभावकी थिइन् । चञ्चले स्वभावकी बालकुमारी कक्षा दुईसम्म भारतको देहरादूनमा पढिन् । कक्षा तीनमा गागे्रतालको स्कुल र कक्षा चारदेखि एसएलसी पास नेवारे स्कुलदेखि गरिन् । कक्षा ११ र १२ बहुमुखी क्याम्पसमा पढ्दै थिइन् उनको गाहासँग विवाह भयो । विहे पछि पनि उनले आफ्नो पढाइलाई रोकिनन् । विहेपछि उनले टेक्निकल पढिन् । ल्याव पढेकी बालकुमारीले गुरुङ्ग नर्सिङ्ग होममा काम पनि गरिन् । अहिले उनले आफ्नै तृप्ती मेडिकल हल सञ्चालन गरेकी छिन् ।
यो जोडी विहे गरेर एकअर्कोलाई नजिकबाट बुझ्न नपाउँदै टाढा टाढा नै भए । गाहाको जागिर दैलेख थियो बालकुमारी सुर्खेत बस्थिन् । त्यसैले पनि होला यो जोडीको विहेपछि एकआपसमा झगडा भएको छैन । भनिन्छ नि जति टाढा भयो उति माया बढ्छ । यो जोडीको सँगै बस्ने दिन थोरै नै हुन्थ्यो । त्यसैले पनि भेट हुँदा झगडा भन्दा पनि माया बढी हुन्थ्यो । यो जोडी एकअर्काेबीचमा कुरा कहिल्यै लुकाउँदैनन् । एकअर्काेबीचमा सबै कुरा सेयर गर्दा दाम्पत्य सम्बन्ध दिगो हुने उनीहरूको भनाइ छ । उनीहरू भन्छन्, ‘दाम्पत्य सम्बन्धलाई मजबुद बनाउनको लागि एकअर्काेमा विश्वास चाहिन्छ ।’ एकअर्काेको भावना बुझ्न जरुरी छ । तब मात्र सम्बन्धलाई बलियो बनाउन सकिन्छ ।
यो जोडी जति एकअर्काेलाई विश्वास र माया गर्छन् त्यति नै एकअर्काेको खुलेर प्रशंसा पनि गर्छन् । गाहालाई बालकुमारीको नरिसाउने बानी मन पर्ने गर्छ । त्यस्तै बालकुमारीलाई पनि गाहाको नरिसाउने बानी नै मनपर्ने गर्छ । उनी भन्छन्, ‘मेरो आफन्त, इष्टमित्र साथीभाइलाई सधैं मिठो बोली बचन गर्छिन् त्यही बानी मन पर्छ ।’ गाहा कहिलेकाहीं साथीहरूसँग बाहिर गए पछि घर ढिलो आउने बानी भने बालकुमारीलाई अलि मन पर्दैन । उनी भन्छिन्, ‘कहिलेकाहीं साथीहरूसँग बाहिर जानु भयो भने अलि ढिलो घर आउनुहुन्छ त्यो बानीचाहिँ हटाइदिए हुन्थ्यो जस्तो लाग्छ ।’
यो जोडी पहिलेदेखि नै एकअर्काेको जन्मदिन र विवाह वर्ष धुमधाम गरेर मनाउने र गिफ्ट दिने गर्दैनन् । उनीहरू भन्छन्, ‘पहिले मनाइएन् अहिले बुढो भइयो लाज लाग्छ मनाएका छैनौं ।’ फुर्सद भएसम्म यो जोडी घुम्न पनि जाने गर्छन् । जो जोडीका अनुसार जीवन भनेको अमूल्य उपहार हो । जीवनमा एक चोटी पाउने अमूल्य जीवनलाई कसरी सुखी बनाउने भन्ने कुरा स्वयम् व्यक्तिको हातको कुरा हो । उनीहरू भन्छन्, ‘जीवन सबैको उत्तिकै महŒवपूर्ण हुन्छ र एउटै पनि तर, त्यो जीवनलाई कसरी सदुपयोग गर्ने भन्ने कुरा व्यक्तिमा भर पर्छ ।’ भगवानले कसैलाई पनि सुखी र दुखी जीवन दिदैंनन् । जीवनलाई त कसरी सुखी बनाउने भन्ने आफूमा भर पर्छ । त्यसैले जीवन बाचुञ्जेल सुखी बनाउनु पर्छ ।
उनीहरू भन्छन्, ‘एकअर्कोको दुःख–सुखमा साथ दिने साथी नै जीवनसाथी हुन् ।’ जीवनको अन्तिम साससम्म पनि साथ दिन सक्ने साथी नै जीवन साथी हो । आमापछिको दर्जा जीवनसाथीलाई नै दिइन्छ । हरेक सुख–दुःख बिसौनी चौतारी हुन् जीवन साथी । उनीहरूका अनुसार प्रेम जोसँग नि हुन्छ । जसलाई नि गर्न सकिन्छ । परिवारलाई प्रेम गरिन्छ । व्यक्तिदेखि वस्तुलाई समेत प्रेम गरिन्छ । तर, विवाह एक जनासँग मात्र गरिन्छ । जो सामाजिक बन्धनको रूपमा बाधिएको हुन्छ ।
यो जोडी नवदम्पत्ती जोडीलाई विवाह पछिका दिनमा एकअर्कोबीच कुनै कुरा नलुकाएर सेयर गर्नुपर्ने सुझाव दिन्छन् । एकअर्काेबीचका सबै कुरा एकअर्काेलाई थाहा हुँदा सम्बन्ध दिगो हुने उनीहरूको भनाइ छ ।
साझा बिसौनी संवाददाता ।