अन्तरजातीय विवाह गर्दा गाउँ छोड्न बाध्य
रासस
जाजरकोट, १५ माघ ।
जिल्लाको गर्खाकोट–३ का गणेश चँदारा र ज्योति शाहले अन्तरजातीय विवाह गरेका कारण गाउँ छोड्न बाध्य हुनुपरेको छ । विवाह गरेपछि आफ्नो घरमा बस्न नपाएको चार महिना भयो । घरमा बस्नै नपाएपछि उनीहरूको जोडी गत कार्तिक २३ गतेदेखि सदरमुकाम खलङ्गामा विस्थापित जीवन बिताउन बाध्य भएका छन् ।
कार्तिक ९ गते अन्तरजातीय विवाह गरेपछि माइती पक्षबाट आक्रमणको प्रयास भएपछि उनीहरू भागेर खलङ्गामा विस्थापित भएका हुन् । ‘गाउँमा गए ज्यान मार्ने धम्की’ र आक्रमणका प्रयास हुन थालेपछि आफूहरू गत कार्तिकदेखि सदरमुकाममा विस्थापित जीवन बिताउन बाध्य भएको पीडित गणेश सुनारले बताए । अन्तरजातीय विवाहका कारण गणेश र ज्योति मात्र होइन गणेशका बुबा कमारो चँदारा, बहिनी यमुना चँदारा, दाइ राजेश चँदारा, भाउजु कल्पना चँदारा र भतिजा निश्चल चँदारा पनि गत चार महिनादेखि सदरमुकाममै विस्थापित जीवन बिताइरहेका छन् ।
गाउँमा जाने बित्तिकै आफूहरूको ज्यानै जाने खतरा भएपछि सदरमुकाममै बसेर विस्थापित हुनुपरेको पीडित गणेशका बुबा कमारो चँदाराले बताए । राज्यका निकाय, राजनीतिक दल, मानवअधिकारवादी, पत्रकारसँग ‘जीवन सुरक्षा र घरमा निर्धक्कसँग बस्न पाउने वातावरण बनाइ दिन उनले आग्रह गरे ।’ गाउँमा बस्न नपाएका कारण छोरी बुहारीले पढ्नै नपाएको र माइला छोरा राजेशले स्कुलमा गएर पढाउनै नपाएको चँदाराले बताए । ८ कक्षामा पढ्दादेखि नै प्रेममा परेर आफूहरूले २०६७ सालमा भागेर विवाह गरेको र ठकुरीकी छोरीले दलितको छोरासँग बिहे गरेको भन्दै ज्योतिका बुबा उत्तमकुमार शाहले आफूबाट ज्योतिलाई खोसेर लिएको गणेशले बताए ।
आफूलाई ज्यानमार्ने धम्की दिँदै ज्योतिलाई गम्भीररूपमा कुटपिटसमेत गरेको गणेशले बताए । ज्योतिले गणेशबाट खोसेर लगेर बुबाले सुर्खेत छिन्चुका स्थानीय गिरी थरका युवासँग बिहे गराइदिएको बताइन् । बिहे गरेको केही समयमै आफूलाई घरमै राखेर ती युवा विदेश गएपछि ९ महिनापछि फेरि माइतीघरमा आएको र चार वर्षसम्म त्यहीं बसेर पढेको ज्योतिले बताइन् ।
चार वर्षसम्म माइतीमै बसेकी ज्योतिले फेरि गत कार्तिक ९ गते गणेशसँग दोस्रो पटक भागेर बिहे गरेको बताइन् । पहिलो पटक गणेशसँग बिहे गर्दा निकै शारीरिक यातना पाएकी ज्योति अहिले भने माइती पक्षको सम्पर्कबाट बाहिर बसेकी छन् । ‘मलाई जातभातको कुनै मतलब छैन । मेरो सानैदेखिको प्रेम हो, त्यसैले म कुनै पनि हालतमा गणेशसँग छुट्टिएर बस्न सक्दिन’ ज्योतिले भनिन् । उनले दुबै परिवार सचेत भएर मिल्ने वातावरण बनाइदिन सबैसँग अनुरोध गरिन् । विवाहपछि माइतीपक्षले गाउँबाट लखेटेका कारण आफूले कक्षा १२ को पढाइ छोड्न मात्र होइन परीक्षा दिन समेत नपाउने अवस्था आउन लागेको उनले बताइन् ।
आफ्नो जोडीलाई निर्धक्कसँग जिउने वातावरण बनाइदिन स्थानीय प्रशासन, राजनीतिक दल र पत्रकारलाई गणेशले आग्रह गरे । गणेश र ज्योतिको बिहेका कारण आफूले विद्यालयमा गएर पढाउन नपाएको चार महिना बितिसकेको गणेशका दाजु राजेश चँदाराले बताए । स्थानीय मष्टा प्राथमिक विद्यालय तलीघुइँलाका प्रधानाध्यापकसमेत रहेका राजेशले आफूलाई विद्यालयमा गएर पढाउने वातावरण बनाइ दिन आग्रह गरे । ज्योति र गणेशले अन्तरजातीय विवाह गरेपछि गाउँका सबै ठकुरी र उनीहरूका समर्थकहरूले चँदारा परिवारलाई गाउँ निकाला र भौतिक आक्रमणको प्रयास गरिरहेको स्थानीय वीरबहादुर रावतले बताए । स्थानीय माओवादी कार्यकर्ता समेत रहेका रावतले चँदारा परिवारलाई गाउँ निकाला गर्न र आक्रमण गर्नका लागि सबै पार्टीमा आवद्ध ठकुरी एकै ठाउँमा रहेको बताए ।
उनीहरूको आक्रमणबाट चँदारा परिवारको घरमा आगजनी या अन्य आक्रमणको सम्भावना भएपछि गत पुस २४ गतेदेखि प्रहरीले घरमा पहरा दिइरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायब उपरीक्षक दानबहादुर मल्लले बताए । उनले प्रहरीका तर्फबाट विवाद मिलाउन प्रयास गरिएको र समाजका सबै निकायको सहयोग लिएर समस्या समाधानको पहल गरिरहेको बताउए । समस्यालाई कानुनको प्रयोगभन्दा पनि जातीय सद्भाव कायम गर्नेगरी सबैले सहयोग गर्नुपर्ने उनले जनाए ।
साझा बिसौनी संवाददाता ।