यार्सा संकलनको जोखिम
कर्णालीका हिमाली क्षेत्रमा यार्सागुम्बा टिप्न जाँदा बर्सेनि मानिसहरूको मृत्यु हुने गरेको छ । उच्च भूभागमा हिमपहिरोले पुरिएर र लेक लागेर मानिसहरूको मृत्यु हुने गरेको हो । सामान्य सावधानीका उपायसमेत नअपनाउँदा नागरिकले ज्यान गुुमाउने गरेका छन् । यार्सा पाइने ठाउँमा लेक लाग्छ भन्ने थाहा भएपनि तयारी केही नहुँदा मानिसहरूको मृत्यु हुने गरेको हो । पछिल्लो समय बर्सेनि रूपमा नागरिकले ज्यान गुमाइरहेका छन् । प्रदेश प्रहरी कार्यालय सुर्खेतको तथ्यांक हेर्दा त्यो संख्या हरेक वर्ष बढ्दो क्रममा छ । श्वासप्रश्वासमा समस्या भएर धेरैको ज्यान जाने गरेको हो । प्रहरीको तथ्यांक अनुसार बर्सेनि रूपमा यार्सागुम्बा टिप्न जाँदा नागरिकको मृत्यु हुने दर बढिरहेको छ । सावधानी नअपनाउँदा नागरिकले ज्यान गुमाउने गरेको पाइएको छ ।
कर्णालीका हिमाली जिल्लामा यार्सा संकलन गर्ने गरिएको छ । हिमाली जिल्ला डोल्पा र मुगुमा धेरै यार्सा संकलन हुन्छ । डोल्पाका १४ नाका र मुगुको दुई वटा नाकाबाट सर्वसाधारणलाई यार्सा टिप्नका लागि खुल्ला गरिन्छ । डोल्पाको शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जको माथिल्लो डोल्पा, रिग्मो, साल्दाङ्, धो, त्रिपुराकोट, तोइजुम, खालीवन, सुलिगाड, भिजेर, सुम्दुवा, छेप्का, पलमलगायत १४ वटा पाटनक्षेत्र र मुगुको डोल्फु र किम्री पोष्टबाट धेरै जसो यार्सा संकलन गर्ने गरिएको हो । यार्साको आम्दानी लोभलाग्दो भएपनि संकलन गर्न भने सजिलो छैन । कतिपयको यही मृत्यु हुन्छ, कतिपय बीचबाटोमै लुटिन्छन् । भौगोलिक विकटतासँग पौठेजोरी खेल्दै ज्यानको बाजी थापेर यार्सा संकलन गर्ने गर्छन् । ज्यान जोगाउन भने निकै मुश्किल हुने गर्छ । अझै कतिपय नागरिक बिरामी परेर बीचबाटै फर्कनुपर्ने, लेक लागेर मृत्यु हुने गरेको छ । कोही बिरामी भएर बीचमै फर्कनुपर्ने बाध्यता हुन्छ भने कसैको त लेक लागेर ज्यानै जान्छ ।
जोखिम मोलेर संकलन गरेको यार्साको मूल्य भने आकर्षक रहेपनि यहाँका नागरिकले न्युन मूल्यमा बेच्नुपर्ने बाध्यता छ । यार्सा निर्यात गर्ने एजेण्डले ठूलो मात्रामा कमिसन लिने हुँदा संकलनकर्ताको हातमा भने मूल्य न्युनमात्र पर्छ । भर्खर टिपेको र ढुसी नपरेको एउटा यार्साको सामान्यतया मूल्य तीन सय पर्छ । किलोमा कम्तीमा २० लाखदेखि ३० लाख रूपैयाँसम्म । तर, यो मूल्य पनि निकै कम हो । चीनमा यसको एक किलो यार्साको मूल्य एक करोडको हाराहारीमा पुग्छ । यार्सा लैजाने व्यापारीहरूले आफूखुसी मूल्य तोक्छन् । वर्षैंपिच्छे नेपाल सरकारले यार्साको मूल्य तोकेपनि त्यो मूल्य यहाँका संकलकले पाउँदैनन् । जोखिमपूर्ण व्यवसाय बनेको यार्सा संकलनलाई सुरक्षित बनाउन राज्यले पनि विशेष ध्यान पु¥याउनुपर्ने देखिन्छ ।
प्रकाशित मितिः १४ आश्विन २०८१, सोमबार ०५:०३
सम्पादकीय ।