बाढी–पहिरोले ठूलो क्षति
सुर्खेत: लगातारको वर्षापछिको प्राकृतिक विपद्ले ठूलो धनजनको क्षति गरेको छ । बिहीवारदेखिको अविरल वर्षापछि गएको बाढी र पहिरोका कारण देशभर ६० जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरी बलले दिएको तथ्यांक अनुसार शनिवार साँझसम्म ६० जनाको मृत्यु भइसकेको छ ।
काठमाडौं उपत्यकाका तीन जिल्लामा ३४ जना, बागमती प्रदेशका पाँच जिल्लामा १९ जना र कोशी प्रदेशमा सात जना गरेर ६० जनाको मृत्यु भएको छ । विभिन्न प्रदेशमा गरेर ३४ जना घाइते भएका छन् भने ६४ जना बेपत्ता छन् । सशस्त्र प्रहरीका अनुसार दुई हजार एक सय तीन जनाको उद्धार गरिएको छ ।
कोशी प्रदेशमा एक सय ५२, मधेशमा १०, उपत्यकामा दुई र बागमती प्रदेशमा ३१ गरेर एक सय ९५ घरमा क्षति पुगेको छ । सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार, सशस्त्र प्रहरी बलले उद्दारका लागि उपत्यकामा २३ वटा डुंगा र गोताखोरसहितको टोली ९० स्थानमा परिचालन गरेको छ । नेपाली सेनाले पनि उद्दारमा उपत्यकासहित बाढी, पहिरो प्रभावित इलाकामा फौज परिचालन गरेको छ । सेनाको सूचना तथा जनसम्पर्क निर्देशनालयका अनुसार, सेनाको हेलिकोप्टरमार्फत कुसुन्ती चेकमा डुबानमा फसेका दुई जनासहित चार जनाको उद्दार गरिएको छ । ललितपुरको नख्खुवेसीबाट पनि पाँच जनाको उद्दार गरेर काठमाडौं ल्याइएको सेनाले जनाएको छ ।
अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबान लगायत प्राकृतिक विपद् जोखिममा परेका नागरिकहरूको खोज तथा उद्धारका लागि मुलुकभर २० हजारभन्दा बढी प्रहरी परिचालन भएको छ । विपद्बाट हुने क्षति न्युनीकरण, नागरिकको जीउधनको रक्षा र विपदमा परेकाहरूको खोज तथा उद्दार, स्वास्थ्य उपचारमा सुरक्षाकर्मी परिचालन भएका छन् ।
पछिल्लो पटकको बाढी, पहिरो र डुबानबाट एक हजार भन्दा बढी नागरिकको सकुशल उद्धार भइरहँदा नेपाल प्रहरीबाट १० हजार ४१ जना र सशस्त्र प्रहरी बल नेपालबाट १० हजार पाँच सय ४० जना प्रहरी परिचालन भएका छन् । सेनाको टोली देशभरको प्रभावित क्षेत्रमा परिचालन भएको छ । यसअघि गृहमन्त्री रमेश लेखकले बाढी पहिरोमा अवरुद्ध सडक सञ्चालन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका थिए ।
प्रकाशित मितिः १३ आश्विन २०८१, आईतवार ०५:०१
साझा बिसौनी ।