बहुउद्देश्यीय परियोजनाको सम्भाव्यता अध्ययन हुँदै

 

सुर्खेत: कर्णाली प्रदेश सरकारले जलविहार सहितको बहुउद्देश्यीय परियोजनाको सम्भाव्यता अध्ययन गर्ने भएको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेटेर कार्यक्रम कार्यान्वयन गर्न लागेको हो । सुर्खेतको बुलबुले तालबाट काँक्रेविहार हुँदै निकाससम्म जलविहार सहितको बहुउद्देश्यीय परियोजनाको सम्भाव्यता अध्ययन गरिने जनाइएको छ ।

यो वर्ष सम्भाव्यता अध्ययनको काम गर्ने र आगामी वर्षबाट परियोजना निर्माण गर्नेगरी काम अघि बढाउन लागिएको हो । चालु आर्थिक वर्षमा परियोजनाको सम्भाव्यता अध्ययनको काम गरिने जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले जनाएको छ । परियोजनाको अध्ययनको काम भने उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले गर्नेगरी नीति तथा कार्यक्रममा राखेको थियो । यो वर्ष सम्भाव्यता अध्ययनका लागि बजेट विनियोजन नभएको मन्त्रालयका सूचना अधिकारी निरज श्रेष्ठले बताए ।

यता जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले सम्भाव्यता अध्ययनका लागि ब्लक बजेट राखिएको जनाएको छ । मन्त्रालयमा परियोजनाको सम्भाव्यता अध्ययनका लागि ब्लक बजेट राखिएको मन्त्रालयका सचिव नविनचन्द्र अधिकारीले बताए । उनले भने, ‘नीति तथा कार्यक्रममा उद्योग मन्त्रालयले सम्भाव्यता अध्ययनको काम गर्ने भनिएको छ, सरकारकै परियोजना भएकाले जलस्रोत मन्त्रालयमा बजेट रहेकाले अध्ययनको काम यो वर्ष नै गरिनेछ ।’ यो वर्ष मन्त्रालयले विभिन्न परियोजना अध्ययनका लागि ब्लकमा बजेट राखेको उनले जानकारी दिए । जलविहारसहितको बहुउद्देश्यीय परियोजना प्रदेश सरकारको महŒवपूर्ण परियोजना भएकाले मन्त्रालयले सम्भाव्यता अध्ययनको काम अघि बढाउन लागेको सचिव अधिकारीले जानकारी दिए । यो वर्ष सम्भाव्यता अध्ययनको काम गर्ने बताउँदै सचिव अधिकारीले आयोजनालाई अघि बढाउन भने लगानीको खोजी गर्नुपर्ने जानकारी दिए ।

 

परियोजना अघि बढाउन विश्व बैंकसँग अपिल

कर्णाली प्रदेश सरकारले बहुउद्देश्यीय परियोजना अघि बढाउन विश्व बैंकसँग छलफल अघि बढाएको छ । यो वर्ष परियोजनाको सम्भाव्यता अध्ययन गरेर आउँदो वर्षबाट परियोजना अघि बढाउने प्रदेश सरकारको योजना रहेको छ । यो वर्ष सुर्खेतको बुलबुले तालबाट काँक्रेविहार हुँदै निकाससम्म जलविहारसहितको बहुउद्देश्यीय परियोजनाको सम्भाव्यता गर्न लागिएको हो । परियोजना अघि बढाउन विश्व बैंकसँग निरन्तर छलफल भइरहेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ ।

प्रि–फिजिविलिटी अध्ययनको काम यो वर्ष नै गर्ने र आउँदो वर्षबाट परियोजना निर्माणको काम अघि बढाउनेगरी अघि बढेको सरकारले जनाएको छ । परियोजना अघि बढाउन धेरै रकम लाग्ने भएकाले नीजि क्षेत्रसँग लगानीका लागि पहल भइरहेको मन्त्रीपरिषद्को कार्यालयका सचिव आनन्द सारुले बताए । उनले विश्व बैंकसँग लगानी गर्नका लागि अनुरोध समेत गरिएको जानकारी दिए । उनले भने, ‘जलविहारसहितको बहुउद्देश्यीय परियोजना अघि बढाउन विभिन्न निजी क्षेत्रसँग छलफल भइरहेको छ, पछिल्लो पटक विश्व बैंकसँग समेत निरन्तर छलफल भइरहेको छ, उहाँहरू पनि सकारात्मक देखिनु भएको छ ।’ लगानी धेरै लाग्ने भएकाले विभिन्न क्षेत्रसँग छलफल भइरहेको उनको भनाइ छ ।

 

सम्भाव्यता अध्ययन गरिएका आयोजना अघि बढाउन समस्या

कर्णालीमा ठूला परियोजना सञ्चालनमा छैनन् । धेरैजसो परियोजनाको सम्भाव्यता अध्ययनको काम हुने गरेको भएपनि कार्यान्वयनमा भने न्यून मात्र आउँने गरेका छन् । प्रदेशमा लगानीमैत्री वातावरण नहुँदा ठूला आयोजना सञ्चालनमा समस्या हुनेगरेको हो । जलविद्युत तथा सिमेन्ट उद्योगहरूले परियोजनाको सम्भाव्यता अध्ययनको काम गरेको भएपनि परियोजना कार्यान्वयन हुन सकेको छैन । प्रदेशमा लगानीमैत्री वातावरण नहुँदा आयोजना सञ्चालनमा कठिनाई हुनेगरेको जनाइएको छ ।

प्रकाशित मितिः   १२ आश्विन २०८१, शनिबार ०५:०५