राष्ट्रिय नाटक महोत्सव

 

हरिप्रसाद कल्याणी रिमाल नाट्यसंगीत प्रतिष्ठान आयोजक रहेको राष्ट्रिय नाटक महोत्सव २०८१ का लागि कर्णाली प्रदेशबाट गणेश गौतमको चर्चित नाटक ‘सतीकलसा’ छनोट भएपछि केही रंगकर्मीका बीच भदौको सुरुमा नै आरंग नेपाल सुर्खेतको कर्मथलोमा पूर्वाभ्यासका लागि प्रारम्भिक छलफल भको थियो । २०६४ सालमा यो नाटक ठाउँ–ठाउँमा मञ्चन भइसकेको हुँदा समय परिस्थिति र उमेर अनुसार सबै नयाँ पात्रबाट अभ्यास गरी पुराना पात्रहरू ब्याक फोर्सका लागि बसौं भन्ने लेखकको भनाइले पूर्ण सार्थकता पाउन सकेन । केही बाध्यता र कारणले कोही उही भूमिकामा दोहोरिदै, कोही फरक भूमिका निर्वाह गर्दै तीनजना पुराना पात्रलाई पनि नाटकमा अभिनय गर्नुपर्ने अवस्था आयो ।

मण्डला थिएटर काठमाडौंमा रंगकर्मसम्बन्धी अध्ययन कार्यशाला र प्रशिक्षणबाट अनुभव प्राप्त गरेका सुर्खेत सिम्ताका रंगकर्मी विशाल केसीलाई पनि यो कथाको गुरुत्वले तानेछ भन्ने लाग्यो । किनभने सिम्ता दराकै कथामा आधारित सतीकलसामा काम गर्ने इच्छा जाहेर गर्दै उनले सक्रियतापूर्वक गतिविधि गरिरहेका थिए । नयाँ अनुहारमा कामको प्रतिफल हेरेपछि मात्र पात्रको मूल्यांकन गरिनुपर्ने र विश्वस्त पनि हुन सकिने कुरामा सबैको सहमति भएपछि विशाल केसीको परिकल्पनामा यामनारायण आचार्यले निर्देशनको जिम्मेवारी पाएका थिए ।

भदौ ३० गते सुरुमै सतीकलसा मञ्चन गर्नुपर्ने भएको हुँदा आयोजकको पत्राचार बमोजिम जसरी पनि २९ गते काठमाडौ पुग्नु पर्ने थियो । २६ र २७ गते सुर्खेतमा भारी वर्षा भएपछि बाटोमा यात्रा अवरुद्ध भइ काममा बाधा नपरोस् भन्ने हेतुले २८ गतेका दिन अर्थात निर्धारित समय तालिका भन्दा अघिल्लो दिन हामी काठमाडौं पुग्यौँ । २९ गते अन्तिम अभ्यास गरी ३० गते सुरु प्रस्तुतिमा आरंग नेपालको नाटक सतीकलसा मञ्चन हुँदा रंगकर्मीहरू यामनारायण आचार्य, माया थापा, हरि ढकाल, खुमलाल न्यौपाने, चन्द्र मन्दिर मगर, मोहन परियार, भरत शाही ठकुरी, लक्ष्मी गिरी, कृति खरेल आदिले अभिनय गरेका थिए । श्रीमानको मृत्युमा अनिवार्य रूपमा श्रीमती सती जानुपर्ने परम्परा रहेको ऐतिहासिक नाटकमा धमारी गीत पनि समावेश गरिएको छ । मूल गायिका स्थानीय महिला गोरी पुन रहे पनि परिस्कृत गायनमा कविराज गिरी र सुनिता रोकायको सुमधुर स्वर रहेको धमारीलाई वरिष्ठ संगीतकार गंगा केसीको संगीतले सुनमा सुगन्ध थपिदिएको थियो । यो नाटकको पूर्ण व्यवस्थापनमा तिलक पौडेलको उल्लेखनीय भूमिका थियो भने नाटकको दृश्य उघार्न र समाप्तिमा पटाक्षेप गर्न प्रकाश पौडेलले सुत्रधारको भूमिका निभाएका थिए ।

 

 

राष्ट्रिय नाचघरको रिमाल हलमा मञ्चन भएको नाटक सती कलसामा सबै रंगकर्मीले जाँगर झिकेर अभिनय गरिरहे पनि बत्ती र प्रविधिले घरीघरी अवरोध पु¥यायो । नाटकका केही कारुणिक दृश्यमा मोहन परियारको बाँसुरी धुनले पात्रको अभिनयलाई जीवन्त पारेर दर्शकको ध्यान खिचिरहेको थियो भने लक्ष्मी गिरीको अश्रुभेलले सबैलाई भावुक बनाइदिएको थियो । हटारुको प्रत्यागमन पश्चात् केहीछिन पछि मात्र उल्टो बाजा बज्नुपर्नेमा हटारुहरू निस्किदा ननिस्किदैँ बाजा बजि हाल्यो जसले गर्दा पात्रलाई अभिनयको लय समाउन मुश्किल मात्रै परेन सम्वाद पनि तलमाथि पर्दै छुट्न गयो । केहीछिन पछि चितामा जल्ने निश्चित भएकी पात्र कलसा र दाजु कलेन्द्र आपसमा छाँद हाली रुँदै बिलौना गरेको गीति संवादमा गीत एक्कसी बन्द भइदिँदा अर्को तनाव थपियो । सतीलाई चितामा चढाउँदा पनि निकै अलमल भयो । मशालमा आगो बल्न पनि आनकानी ग¥यो भने कृत्रिम धुँवा पनि पटक्कै पुत्ताउन मानेन । यसबाट अभ्यासमा अथवा तयारीमा पो त्यति ध्यान पुगेनकी नजरअन्दाज मात्रै गरियो कि वा जसरी पनि यसलाई परिपूरण गर्न सकिन्छ भन्ने आत्माबलले जबरजस्ती जित्यो कि ! नाटकमा थोरै यो कमजोरी खट्कियो ।

विशाल केसीले निर्देशन गरिरहेको नाटक ‘निब’ पनि अनिवार्य हेर्नुपर्ने प्राथमिकतामा थियो । किनकि लुम्बिनी प्रदेशबाट गणेशप्रसाद पौडेलले लेखेको निब अन्तिम समयमा मात्र छनोट गरिएको जानकारी प्राप्त भएको भनी केसी आरंगको कामबाट फुर्सद लिएर हिँडेका थिए । त्यति मात्र होइन त्रिभुवन विश्वविद्यालय अन्तर्गको केन्द्रीय जल तथा मौसम विज्ञान विभागमा स्नातकोत्तर अध्ययन सकेर जागिरको मेलोमेसोलाई थाँती राख्दै विशाल केसी नाटकमा समर्पित भएको कुरा पनि सुनिनमा आएको थियो । त्यसकारण कामको तौरतरिका र शैलीलाई पनि निहाल्नु थियो ।

भाद्र ३१ गते मञ्चन भएको निबको विषयवस्तु सरल थियो । उच्चशिक्षाको लागि गाउँबाट सहर गएको एउटा पात्र राजुलाई ठाउँठाउँमा राजनीति पसल थापेका विद्यार्थी गुटले आफ्नो समूहमा सामेल गराउन तानातान गर्छन् । राजु कसैको केही नसुनी आफ्नै गाउँले एक जना पुरानो चिनारु दाइ सुधनलाई खोज्दै पुग्छ । राजनीतिको नसामा होमिएर ठाउँ ठाउँमा भाषण गर्दै हिड्न व्यस्त गाउँले दाइसँग उसको भेटघाट हुन्छ, फरक विचार राख्ने कोही विद्यार्थी नेतृत्वसँग सुधनले समन्वय गरेपछि मात्र कलेजमा राजुले भर्ना पाउँछ । सिफारिस कागजमा सहि गर्दै गरेको सुधनको कलममा राजु आकर्षित भएकोले सुधनबाट सो कलम उपहारमा पाउँछ ।

कलेजमा दलगत विद्यार्थी राजनीतिको सरगर्मी बढ्दै जान्छ । एक आपसमा घोचपेचका भाषण सम्बोधन, नारा जुलुस र मशाल प्रदर्शन हुन्छ । पालो कुरिरहेको इमानदार राजनीति गर्ने जेहेन्दार सुधनलाई आस्थावान राजनीतिको मूल नेतृत्वले समेत पुरानै विद्यार्थीको परोक्ष रूपमा पक्षधरता लिइ अनेक बहाना बनाइ फेरि पछाडि पार्न खोज्छन् । सफा मनको सुधन भित्री राजनीतिक दाउपेचबाट आजित भएको बुझेपछि मात्र विपक्षी विचारको नेतृत्व साँठगाँठ गर्न र प्रभाव पार्न आउँछ । मदिराको नसामा यिनीहरूले आफ्नो भावना व्यक्त गर्छन् । अन्तरघातबाट आसन्न चुनाव हारिने सम्भावना देखेको विद्यार्थी संगठनले कलेजमा तालाबन्दी गर्न खोज्छन् । प्राध्यापकहरूको सम्झाइबुझाइले केही काम गर्दैन बरु अपमानपूर्वक कोठाबाट निकालिन्छन् । चुनाव स्थगित गर्ने र तत्काल सम्पन्न गर्न खोज्ने दुई विद्यार्थी संगठनका बीचमा नेतृत्वहरूको आदेशले झडप सुरु हुन्छ । कार्यकर्ता विद्यार्थीहरू आपसमा कुटाकुट गर्छन् । अस्वस्थ राजनीतिले पठनपाठन ध्वस्त भएपछि मन खिन्न बनाइ झोला बोकेर राजु गाउँ फर्कने तरखर गर्छ । परिस्थिति र राजनीतिले घरीघरी अन्याय गरेपछि विक्षिप्त भइ थाकेर बसेको सुधनलाई घर जादाजाँदैको राजुले भेटी अक्षर लेख्दै जाँदा निब भाँचिएर काम दिन छोडेको भनि उपहारमा पाएको उक्त कलम फिर्ता गर्छ । विरक्तिएर पल्टंदा संजिवको हातबाट कलम भुइँमा खस्छ नाटक सकिन्छ । लेखक गणेश पौडेलले विश्वविद्यालय र आंगिक कलेजमा हुने राजनीतिक विकृति र विसंगतिलाई यसरी चिरफार गरेका छन् ।

सोमनाथ खनाल, बेदना राई, रिजन केसी, सुदिप मगर, गणेश पौडेल, प्रार्थना पाठक, नवीन शाही, पवनकुमार तामाङ, हेमन्त खड्का, अग्नी श्री, अजय कार्की, टेकराज राइ, शरद न्यौपाने, पुकार चापागाईं र अनुप आचार्यको अभिनय रहेको नाटकमा पाखुरा सुर्कासुर्की मात्र होइन कुर्सी हानाहान पनि हुन्छ । द्वन्द्वलाई अत्यन्त कलात्मक पारिएको छ, हानेको र चोट खाएको आभास प्रशस्त छ, तर तोडफोड कतै केही छैन ।

 

 

भाषण गर्दा होस् या सिद्धान्तका कुरामा होस् या सिद्धान्तबाट पनि यथार्थका कुरामा ओर्लदा होस् अभिनयमा अस्वभाविक कतै देखिँदैन । कलाकारहरूलाई मञ्चको प्रस्तुतिमा छोडेर निर्देशक प्रकाश र ध्वनिको जिम्मेवारी सम्हाल्न नियन्त्रण कक्षमा पुग्छन् । गायनमा वेदना राई, सुदिप मगर, संगीतमा नरेश गजुरेल, अर्पण महर्जन र बिकेन कटुवाल थिए भने नेपथ्यमा उमेश तामाङ, आदित्री मिश्रा, सुनिल तामाङ, विजय नेपाल, बलु राई, सुजन घिमिरे, समीप आचार्य र सार्थक केसीको अहम भूमिका थियो ।

कुनै पात्रलाई उच्चासनमा राखिएको बिम्बबाट नै व्यक्ति विशेष महत्वको हो भन्ने प्रष्ट बुझिन आउँछ । नेताको नजिकै चुपचाप उभिएको पात्र प्रतिबिम्ब हो,जसको मौनताले धेरै कुरा बोलेको बुझिन्छ । अभिनय अनुकूल प्रकाश र ध्वनिको उचित संयोजनले नाटकलाई जुरुक्क उचालेको छ । निर्देशन पक्ष बलियो भएपछि नाटक सफल हुन्छ भन्ने उदाहरण बनेको छ नाटक निब । दर्शकदीर्घाबाट मात्र होइन आयोजकको मूल्यांकनले पनि यो नाटकलाई सार्थकता दिएपछि उत्साह र उमंग बोकेर मण्डला थिएटरमा नाटक निब असोज ३ देखि ५ गतेसम्म ३ दिन मञ्चन भएको थियो ।

आरंगको प्रस्तुतिमा प्रायः विषयको गाम्भीर्यता रहने गर्दछ ।

प्रा.डा. जिवेन्द्रदेव गिरी, वरिष्ठ रंगकर्मी प्रेमदेव गिरी र सुर्खेती साहित्यकार पृथ्वीवहादुर सिंहको प्रेरणाबाट लोक गाथालाई आधार मानी लेखकले तयार पारेको नाटक सती कलसाले सय वर्ष भन्दा अगाडिको कठोर समय काललाई चित्रण गरेको छ, जतिखेर पति वियोगको शोकमा डुबेका महिलाहरूलाई मृतक पतिसँगै जिउँदै चितामा जलाउने प्रथा कायम थियो । संस्कारका रूपमा चलिरहेको त्यो आततायी यातना आजका नयाँ पिढीलाई कपोलकल्पीत मात्र होइन मिथ्या पनि लाग्न सक्छ जो कैयन महिलाले विगतमा भोगे व्यहोरे र खरानी भए । त्यो इतिहास र विषयको मर्म बोकेको छ सती कलसाले ।

पछिल्ला दिनमा नाट्य साहित्यमा पनि आकर्षण बढ्दै जान थालेपछि उत्साह स्वतः चढ्दै गएको छ । निबन्ध, आख्यान र कविता श्रव्य विधा हुन भने नाटक मात्र श्रव्य र दृश्य दुवै विधा हो । नाटकको लागि अनिवार्य अभिनय चाहिन्छ, अभिनयले मात्र नाटकलाई सार्थक बनाउँछ । नेपाली नाट्य क्षेत्रमा अति महŒवपूर्ण योगदान दिनुभएका व्यक्तित्व हरिप्रसाद रिमालको शतवार्षिकीको स्मृतिमा रङ्गकर्म गर्ने अवसरले गौरवान्वित बनायो । त्यसकारण राजधानीमा सम्पन्न राष्ट्रिय नाटक महोत्सवसँग एउटा भावनात्मक सम्बन्ध गाँसिन पुग्यो ।

जय नाट्यश्वरी !

प्रकाशित मितिः   १२ आश्विन २०८१, शनिबार ०५:०४