बोर्डिङ्ग स्कुलको शुल्क निर्धारण
सुर्खेत, ३० चैत । (साबिस)
अब सुर्खेतमा निजी (बोर्डिङ्ग) विद्यालयले आफूखुशी विद्यार्थीबाट शुल्क लिन नपाउने भएका छन् । जिल्ला शिक्षा अधिकारी जीतबहादुर शाहको अध्यक्षतामा बुधवार सम्पन्न संस्थागत विद्यालय वर्गीकरण तथा शुल्क निर्धारण समितिको बैठकले निजी विद्यालयको शुल्क निर्धारण गरेको हो ।
समितिले नयाँ वर्ष २०७४ बाट लागू हुने गरी मासिक शुल्क निर्धारण गरेको हो । समितिले जिल्ला भरका निजी विद्यालयमा लागू हुने गरी नर्सरीका लागि मासिक शुल्क आठ सय, एलकेजीका लागि आठ सय २५, यूकेजीका लागि आठ सय ५०, कक्षा एकका लागि नौ सय र कक्षा दुईका लागि नौ सय ५० रूपैयाँ शुल्क निर्धारण गरेको छ ।
त्यस्तै कक्षा तीनका लागि एक हजार, कक्षा चारका लागि एक हजार ५०, कक्षा पाँचका लागि एक हजार एक सय, कक्षा ६ का लागि एक हजार दुई सय, कक्षा सातका लागि एक हजार तीन सय र कक्षा आठका लागि एक हजार चार सय मासिक शुल्क लिन पाउने निर्णय गरिएको छ । कक्षा नौ को लागि एक हजार पाँच सय र कक्षा दशका लागि मासिक शुल्क एक हजार ६ सय तोकिएको हो । साथै समितिले संस्थागत विद्यालयहरूले विद्यार्थीहरूबाट वार्षिक शुल्क लिँदा मासिक शुल्कमा नबढ्ने गरी लिन पाइने र भर्ना शुल्क मासिक शुल्क भन्दा बढी लिन नपाइने निर्णय गरेको छ ।
तोकिएको न्यूनतम शुल्क लागू गर्नुपर्ने र तोकिएको शुल्क निर्धारण नगरेको पाइएमा शिक्षा ऐन नियम तथा निर्देशिका बमोजिम कारबाही गरिने जिल्ला शिक्षा कार्यालयले जनाएको छ । बैठकमा प्याब्सनका अध्यक्ष वेदप्रसाद ढकाल, एनप्याब्सनका अध्यक्ष शरद भण्डारी, अभिभावकहरूको तर्फबाट यमुना नेपाली उषा बालबाटिका र मीना खड्का नवज्योति स्कुल तथा जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत भोजप्रसाद लम्सालको सहभागिता रहेको थियो ।
साझा बिसौनी संवाददाता ।