स्थानीय तहको निर्वाचनः युवालाई टिकट पाउनै मुस्किल

सुर्खेत, ३० चैत ।
स्थानीय तहको निर्वाचनका लागि नेतृत्वले उमेर ढल्केका (पाका) उम्मेदवार रोज्न थालेपछि युवा पुस्ता निराश बनेको छ । उम्मेदवारमा आकांक्षा भए पनि पार्टी नेतृत्वले यसअघिका जनप्रतिनिधि, उमेर ढल्केका र लामो समयदेखि पार्टी नेतृत्वमै रहेका व्यक्तिलाई नै अगाडि सार्न थालेपछि युवाहरू निराश भएका हुन् । यसपटक पनि युवाको नेतृत्व स्थापित हुने सम्भावना टरेको भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका छन् ।
चुनावको मिति नजिकिदैं जाँदा दलहरूले पूर्व जनप्रतिनिधिलाई नै उम्मेदवारको रूपमा प्राथमिकता दिन थालेका छन् । यस्तै जिल्लाको पार्टी नेतृत्वमै रहेका अधिकांश नेताहरू नै गाउँपालिका र नगरपालिकाको नेतृत्व हात पार्ने कसरतमा जुटेका छन् । करिब २० वर्षको अन्तरालमा हुन लागेको स्थानीय चुनावमा उम्मेदवारका लागि पाका नेताहरूले नै हानथाप गर्न थालेपछि युवा पुस्ताको चर्चा नै हुन छाडेको हो । पार्टी नेतृत्वले समेत युवाहरूलाई उमेर भएकाले आउँदा दिनमा अवसरमा पाइने भन्दै यसपटक पाका उम्मेदवारको खोजी गरिरहेका छन् ।
‘टिकट पाउन त कपाल नै फुल्नुपर्ने रहेछ, युवाको त नाम नै आउँदैन’ कांग्रेस निकट नेपाल तरुण दल सुर्खेतका अध्यक्ष हरि विष्टले भने, ‘हामी युवालाई त वडामा नै समस्या भयो, २० वर्ष पहिलेका गाविस अध्यक्षहरूले नै अहिले वडाको टिकट मागिरहेका छन् । पार्टी नेतृत्वले पनि अनुभवी भनेर उनीहरूको चर्चा चलाएको छ, युवाहरूको लागि त मुस्किल नै छ ।’ आन्दोलन र सडकमा लड्नु पर्दा युवाहरूलाई अगाडि लगाउने नेतृत्वले अहिले अवसर लिने बेलामा आनाकानी गरिरहेको उनको भनाइ छ । उनी भन्छन्, ‘हामीले कम्तीमा पनि ५० प्रतिशत युवा सहभागिताको माग गरेका छौं, यसका लागि पार्टीभित्र लडिरहेका छौं । तर युवाले टिकट पाउने सम्भावना देखिएन, आखिर युवा सहभागिता नारामा मात्र सीमित हुनेभयो ।’ नेतृत्वले पाका उम्मेदवार खोज्न थालेको भए पनि अन्तिमसम्म आफूहरू यूवाको पक्षमा संघर्ष गर्ने उनले जानकारी दिए ।
प्रदेश नम्बर ६ को सम्भावित केन्द्र वीरेन्द्रनगर नगरपालिकाको मेयरमा सबैको आकांक्षा छ । मेयरका लागि सबै दलका युवाले आकांक्षा नराखेका पनि होइनन् । तर दलको नेतृत्वले युवालाई भन्दा पनि पाका उम्मेदवारको खोजी गरिरहेका छन् । मेयरका लागि कांग्रेसका युवा नेता देवकुमार सुवेदीले आकांक्षा राखेका छन् । युवाहरूले उनलाई नै टिकट दिन नेतृत्वलाई दबाब दिइरहेका छन् । तर कांग्रेस नेतृत्वले पूर्व जनप्रतिनिधि र पार्टीका पुराना नेताहरूको समेत चर्चा चलाएको छ । एमालेभित्र पूर्व मेयर बालाराम शर्मादेखि पार्टीकै जिल्ला पदाधिकारीहरूको चर्चा छ । माओवादी केन्द्रले त पार्टीका केन्द्रीय सदस्य रत्नबहादुर गाहालाई उम्मेदवार बनाएको छ । यसले पनि दलहरू युवा पुस्तालाई नेतृत्व दिने मनस्थितिमा नरहेको पुष्टी गरेको छ । युवाहरूले टिकटका लागि रस्साकस्सी गरिरहको भए पनि नेतृत्वले त्यसको सम्बोधन गर्ने संकेत देखिन्न ।
एमालेका युवा नेता टेकेन्द्रकुमार बस्नेत भन्छन्, ‘अपवाद बाहेक अब युवाले नेतृत्व पाउने अवस्था देखिएन, उमेर ढल्केकाहरूको मात्र चर्चा चलेको छ । युवाहरू त केवल लडाईंमा मात्र प्रयोग हुने भए, नेतृत्व गर्ने अवसरबाट वञ्चित गरिदैंछ ।’ जिल्लाका कुनै पनि दलले युवालाई अवसर दिने
अवस्था नरहेको भन्दै उनले कानुनी बाध्यता बाहेक नेतृत्वले अन्यत्र ध्यानै नदिएको बताए । जिल्लामा २१ देखि ४० वर्ष उमेर समूहका मतदाता सबैभन्दा बढी रहेको भन्दै उनले नेतृत्वमा भने सबैभन्दा कम पुग्ने अवस्था आएकोमा चिन्ता व्यक्त गरे । ‘हामीले निकै प्रयास गरेका छौं, तर उही पुराना अनुहारको मात्र चर्चा छ’ उनले भने, ‘यो सबै पार्टी नेतृत्वमा पुरानो सोच भएकाहरू हावी हुँदाको परिणाम हो, पुरानोे पुस्ताले नयाँ पुस्तालाई अवसर दिन चाहँदैन । यसका संकेतहरू अहिले पनि देखिएका छन्, यसले नेतृत्वलाई थप जाममा राख्ने खतरा बढ्यो ।’ माओवादी केन्द्र निकट युवा संगठन वाईसीयलका जिल्ला इञ्चार्ज अमर चन्दले प्रविधिसँग घुलमिल भएको युवा पुस्तालाई नेतृत्वको अवसर दिनुपर्ने बताए । उनले भने, ‘युवाहरू टायर बाल्न मात्र जन्मिएका होइनन्, सडकमा ढुंगा हान्ने काममा मात्र प्रयोग गर्नु भएन । अब नेतृत्व गर्ने एउटा अवसर आएको छ, दलहरूले लचिलो भएर युवालाई टिकट दिने मात्र होइन, विजयी पनि गराउनु पर्दछ ।’ आफूहरूको निरन्तरको दबाबपछि पार्टीले पहिलाको भन्दा यसपाली युवालाई बढी अवसर दिएको उनको भनाइ छ । यद्यपि यसबाट आफूहरूले पूर्ण रूपमा सन्तुष्ट हुने अवस्था नरहेको भन्दै उनले यूवालाई नेतृत्वमा पु¥याउनेतर्फ आफूहरू पार्टीभित्र आन्तरिक संघर्ष गरिरहेको जानकारी दिए ।

प्रकाशित मितिः   ३१ चैत्र २०७३, बिहीबार १३:३२