‘चुनाव लड्न युवा उत्साहित छन्’

स्थानीय तहको चुनाव नजिकिदैंछ । राजनीतिक दलहरू जनता फकाउन गाउँ पसेका छन् । यतिबेला दलहरूभित्र उम्मेदवार छनौटको चटारो नै छ । सबैले आफ्नो उम्मेदवारी दाबी गर्दै नेतालाई मनाउने प्रयास जारी राखेका छन् । युवाहरूले पनि यसपटक आफूहरूले अवसर पाउनुपर्ने आवाज उठाइरहेका छन् । युवाको नेतृत्व स्थापित कसरी गर्ने ? युवालाई दलहरूले टिकट दिने सम्भावना कतिको छ ? के युवाहरू चुनाव लड्न तयार छन् त ? यही विषयमा केन्द्रित रहेर सहकर्मी गीता थापाले नेपाल तरुण दलका केन्द्रीय महामन्त्री भुपेन्द्रजंग शाहीसँग कुराकानी गरेकी छन् । प्रस्तुत छ कुराकानीको सारांशः

हिजो आज के गर्दै हुनुहुन्छ ?
तरुण दलले देशैभरी जागरण अभियान सञ्चालन गरिरहेको छ । त्यसैको शिलशिलामा जागरण अभियानमा व्यस्त
छु । देशैभर संगठन निर्माणको काममा पनि लागि रहेका छौं । पछिल्लो समय नजिकिदैं गरेको स्थानीय तहको चुनावको प्रचार–प्रसारमा नै व्यस्त छु ।
चुनावले कत्तिको छोएको छ नि ?
चुनावले छोएकै छ भनौं । चुनाव हुने मिति नजिकिदैं गर्दा नेपाल तरुण दलले नेपाली कांग्रेसलाई स्थानीय तहको निवार्चनमा विजयी बनाउनको लागि विभिन्न कार्यक्रमहरू पनि गर्दै आइरहेको छ । अहिले नेपाली कांग्रेसले केन्द्रीय स्तरबाट चुनाव लक्षित गरेर नै मेची–महाकाली अभियान सञ्चालन गरिरहेको छ । त्यसै अभियानलाई सफल बनाउन तरुण दल पनि लागि रहेको छ ।
स्थानीय तहमा युवा उम्मेदवारले टिकट पाउने सम्भावना कतिको छ ?
स्थानीय तहको निर्वाचन करिब २० वर्षपछि हुन लागेको छ । यो हामी सबै नेपालीको लागि खुशीको कुरा हो । अबको स्थानीय तहको निर्वाचनमा के वृद्ध, के युवा सबैको लागि समान रूपमा टिकट मिलाएर दिनुपर्छ । त्यसका लागि तरुण दलले पनि पार्टीसँग आग्रह गरिरहेको छ । अबको चुनावमा युवाहरूलाई टिकट दिलाउनको लागि तरुण दल परिचालित नै छ । पार्टीले युवालाई टिकट दिए पनि नदिए पनि तरुण दल भने युवालाई नेतृत्वमा पु¥याउनको लागि कटिबद्ध भएर लागि रहेको छ । राज्यको पुनर्संरचनाका लागि स्थानीय तहको चुनावले महŒवपूर्ण भूमिका खेल्ने भएकाले अबको नेतृत्वमा युवा आउन पनि जरुरी छ ।
तर, पार्टीभित्र युवाको नाम नै आउँदैन भन्ने पनि सुनिन्छ त ?
पार्टीभित्र युवाको सहभागिता जति हुनुपर्ने हो त्यति सहभागिता कुनै पनि पार्टीहरूमा छैन । युवालाई पार्टीले लडाईं र नकारात्मक काममा मात्र संलग्न गराउनु भन्दा पनि अब युवालाई सकारात्मक बाटोबाट नेतृत्वमा पु¥याउन जरुरी छ । कुनै पनि पार्टीले युवाको हकअधिकार सुनिश्चित हुने गरी कुनै काम गरेको पनि पाइदैन । अब युवाका हक अधिकारका लागि तरुण दल अघि बढ्ने छ । त्यसका लागि जबसम्म युवाहरू नेतृत्वमा पुग्दैनन्, तबसम्म युवाहरूको हकहितको सुनिश्चित पनि हुँदैन । त्यसैले अबको स्थानीय तहको चुनावमा युवा नेतृत्वमा आउन जरुरी छ । त्यसका लागि तरुण दलले अबको स्थानीय चुनावमा युवालाई नेतृत्वमा पु¥याएर छोड्नेछ ।
स्थानीय निर्वाचनमा युवाको नेतृत्व स्थापित गर्न यहाँहरूले के प्रयास गर्नुभएको छ नि ?
स्थानीय निर्वाचनमा युवाको नेतृत्व स्थापित गराउनको लागि तरुण दलले पार्टीसँग आग्रह गरिरहेको छ । युवा नेतृत्वमा पुगे भने देश विकासका लागि राम्रो र उदाहरणीय काम गरेर देखाउन सक्छन् । अबको चुनाव युवामैत्री बनाउनको लागि तरुण दलले आफ्नो पार्टीलाई मात्र
नभइ अन्य पार्टीहरूलाई समेत आग्रह गरिरहेका छौं ।
एउटा युवा तरण दलमा किन लाग्ने ?
तरुण दल भनेको युवाहरूको हकहितका लागि काम गर्ने संगठन हो । दलले युवाहरूको हकअधिकारको सुनिश्चितका लागि काम गर्दै आइरहेको छ । तरुण दल युवाहरूको लागि आशाको घर पनि हो । यस संगठनले युवाहरूको हकहितका लागि आवाज उठाउँदै र लड्दै पनि आइरहेको छ । त्यसैले पनि यो संगठन विशुद्ध युवाहरूको लागि मात्र हो । तरुण दलले युवाहरूलाई विदेश पलायन हुनबाट रोक्न र स्वदेशमा नै स्वरोजगार बनाइ आर्थिक समृद्धको बाटोमा लगाउनको लागि काम गरिहेको छ । त्यसैले युवा तरुण राजनीतिमा लाग्न जरुरी छ ।
युवाहरूलाई दलले केवल प्रयोग मात्र गरे, अवसर दिएनन् भन्ने पनि सुनिन्छ । कत्तिको सत्य हो ?
युवाहरूलाई प्रयोग साधन बनाइनु हुँदैन । युवाहरूले पनि पहिला आफूभित्रको शक्तिलाई चिन्न सक्नुपर्छ । आफूभित्रको शक्तिलाई चिन्न सक्ने युवाले कहिल्यै दलको प्रयोगको साधन बन्नुपर्दैन । युवालाई धेरै जसो आन्दोलनका क्रममा र लडाईंको क्रममा बढी प्रयोग गरेको पाइन्छ । त्यस्तो अवस्थामा युवाहरू सचेत हुन जरुरी छ । कसैको प्रलोभनमा नपरेर आफ्नो क्षमतालाई चिनेर काम गर्दा राम्रो हुन्छ । युवाहरूलाई सधैं लडाईं र आन्दोलनमा मात्र होइन अब औपचारिक ढंगबाट युवालाई औद्योगिक विकास, आर्थिक विकास र देशको समृद्धतर्फ लगाउन जरुरी छ । युवालाई स्वरोजगार बनाइ विदेश पलायन हुनबाट युवालाई रोक्न जरुरी छ । त्यसका लागि राज्यले पनि ठोस व्यवस्था गर्नुपर्छ ।
स्थानीय तहको नेतृत्वका लागि युवाहरूको रुचि कस्तो पाउनुभयो नि ?
स्थानीय निर्वाचनमा युवाहरू नेतृत्वमा जान इच्छुक छन् । पार्टीले टिकट दिने कि नदिने भन्ने कुरामा मात्र समस्या हो । युवाहरू नेतृत्व गर्न सक्षम पनि छन् । त्यसका लागि इच्छा भएका युवाहरूलाई नेतृत्वमा पु¥याउनको लागि तरुण दलले पार्टीसँग आग्रह पनि गरिरहेको छ । समाजदेखि देशको विकास र परिवर्तनको लागि र सामाजिक भावनाका साथ नेतृत्वमा आउन चाहने युवालाई तरुण दलले सदैव सहयोग गर्नेछ । पछिल्लो समय धेरै युवाहरू शिक्षित भएका कारण पनि युवा नेतृत्वमा आउँदा देशको लागि राम्रो नै हुन्छ ।
युवाको नेतृत्व स्थापित र सुनिश्चित गर्न के गर्नुपर्ला ?
नेपालमा युवाको जनसंख्या झण्डै ४५ प्रतिशत छ । संविधानमा युवाको हक अधिकारका बारेमा धेरै कुरा लेखिए पनि कार्यान्वयन हुन सकेको छैन । यस्तो अवस्थामा अबको स्थानीय तहको निर्वाचनमा युवाको नेतृत्व स्थापित र सुनिश्चित गराउन जरुरी छ । अबको चुनावमा युवाको नेतृत्व स्थापित र सुनिश्चित गराउनका लागि तरुण दलले हर प्रयास गरिरहेको छ ।
अन्त्यमा केही भन्न चाहनुहुन्छ ?
नेपाल तरुण दल वैचारिक रूपमा अनुत्पादित नभइ उत्पादित क्षेत्रमा काम गर्ने संगठन हो । तरुण दलले युवालाई आर्थिक समृद्धितर्फ लाग्न प्रेरित गर्दै आइरहेको छ । युवालाई अब स्वरोजगार बनाउन जरुरी छ । त्यसका लागि राज्यले पनि ठोस रूपमा कदम अगाडि बढाउनुपर्छ । अब हुने स्थानीय तहको चुनावमा नेपाली जनताले आफ्नो मान्छे नभइ राम्रो र युवाको क्षेत्रमा काम गर्ने संगठन र देश विकासका लागि काम गर्ने संगठनलाई छानेर भोट हाल्न आग्रह गर्छु ।

प्रकाशित मितिः   ३१ चैत्र २०७३, बिहीबार १३:३०