स्थानीय तहको निर्वाचन, गाउँ केन्द्रित भए दलका नेता

सुर्खेत, २९ चैत ।
वीरेन्द्रनगरमा रहेको नेकपा (माओवादी केन्द्र) को पार्टी कार्यालय सुनसान थियो । मंगलवार दिउँसो त्यहाँ पुग्दा कार्यालय कुर्न बसेका एक जना व्यक्ति मात्र भेटिए । नेताहरू सबै सदरमुकाम छोडेर गाउँ पसेकाले कार्यालयमा कार्यकर्ताहरू पनि आउन छोडेछन् । चुनावको प्रचारका लागि सबै नेताले सदरमुकाम छोडेपछि माओवादीको जिल्ला पार्टी कार्यालय पनि सुनसान बन्न पुगेको छ ।
सधैं कार्यकर्ताको भीड लाग्ने नेकपा एमालेको जिल्ला कार्यालयमा पनि चहलपहल देखिएन । जिल्ला कमिटीका पदाधिकारी र सदस्यहरू सबै गाउँ पसेका छन् । नेताहरू गाउँमै भेटिन थालेपछि कार्यकर्ताले पनि पार्टी कार्यालय धाउन छोडेका छन् । हिजो आज एमालेका जिल्ला नेताहरूलाई पनि सदरमुकाममा भेट्न मुस्किल छ । नेपाली कांग्रेसका जिल्ला नेताहरू पनि सदरमुकाममा भेटिन छोडेका छन् । चुनावको प्रचार अभियान लिएर गाउँ पसेपछि नेताहरू सदरमुकाममा भेटिन छोडेका हुन् ।
प्रमुख तीन दल मात्र होइन, जिल्लाका अन्य दलका नेताले पनि विस्तारै सदरमुकाम वीरेन्द्रनगर छोड्न थालेका हुन् । करिब २० वर्षपछि हुन लागेको स्थानीय चुनावमा आफ्नो पार्टीलाई जिताउन भन्दै दलका नेताहरू गाउँ केन्द्रित भएका छन् । सदरमुकाम छोडेसँगै अधिकांश नेताहरूलाई टेलिफोन सम्पर्कमा भेटाउनसमेत मुस्किल भएको छ । यसअघि सदरमुकाममा बस्दै आएका नेताहरू चुनाव नजिकिंदै गएपछि टेलिफोन सम्पर्क नहुने बस्तीसम्म पनि पुगेका छन् । लामो समयपछि नेताहरूलाई गाउँमै भेट्दा कार्यकर्ताहरू भने दंग परेका छन् । माओवादी केन्द्रका केन्द्रीय सदस्य टोपबहादुर दर्लामीले भने, ‘म अहिले गाउँमै छु, चुनाव निकै लागेको छ । पार्टीका सबै नेताहरू गाउँमै हुनुहुन्छ, कोही जिल्लाको पूर्व र कोही पश्चिममा खटिनु भएको छ ।’ आफ्नो पार्टीका सबै नेताहरूले सदरमुकाम छोडेको भन्दै उनले कार्यालय कुर्नका लागि मान्छे राखेको जानकारी दिए ।
माओवादी केन्द्रका जिल्ला नेताहरू मात्र होइन, केन्द्रीय नेताहरू पनि गाउँमा व्यस्त छन् । दर्लामीका अनुसार माओवादी संसदीय दलका सचेतक सीता नेपाली, पोलिटब्यूरो सदस्य नरबहादुर विष्ट र जिल्ला कमिटीका सबै नेताहरू अहिले सदरमुकाम बाहिर नै छन् । ‘हामी पनि गाउँ अभियानमा व्यस्त छौं, जनतासँग मत माग्दै हिँडेका छौं’ नेपाली कांग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले भने, ‘पार्टीका जिल्ला तहका सबै नेताहरू अभियानमै हुनुहुन्छ, हामी सबै वडातहसम्म पुगेका छौं । यो वर्षौंपछिको सुनालौ अवसर हो, साथीहरू सबै सदरमुकाम छोडेर गाउँमा खटिनुभएको छ ।’ जनतामा चुनावको उत्साह देखिएको उनको भनाइ छ । जिल्लाको पश्चिम बिजौरा पुगेका एमाले सुर्खेतका सचिव मोहन बडुवालले टेलिफोन सम्पर्कमा भने, ‘मैले सदरमुकाम छोडेको १५ दिन पुग्यो, निरन्तर गाउँ अभियानमै व्यस्त छु । पार्टीका सबै नेताहरू गाउँ पस्नु भएको छ, चुनावसम्म नेताहरूलाई वीरेन्द्रनगरमा भेटाउन त मुस्किल
नै होला ।’
वैशाख ३१ गतेको स्थानीय तहको चुनावमा पार्टीको पक्षमा नतिजा हात पार्न दलहरू गाउँ केन्द्रित भएका हुन् । प्रमुख दलहरू मात्र होइन, जिल्लामा क्रियाशील साना दलहरूले गाउँको वडा र टोलसम्म पुगेर आफ्नो संगठन विस्तार थालेका छन् । नेपाल मजदुर किसान पार्टीका जिल्ला सचिव धनेन्द्र विकले आफूहरू पनि गाउँ अभियानमा रहेको जानकारी
दिए । उनले भने, ‘वर्षौंपछि स्थानीय चुनाव हुँदैछ, यो अवसर हामीले गुमाउँनु हुँदैन । हामीले पनि गाउँमा अभियान जारी राखेका छौं, टोलसम्म पुगेर अभियान सञ्चालन गरिरहेका छौं ।’ जिल्लाका प्रायः दलका नेताहरू हिजोआज सदरमुकाम बाहिर छन् । दलहरूले गाउँको वडातहसम्म नै जिल्ला नेतृत्वलाई पु¥याउने र मत माग्ने कसरत गरिरहेका छन् । चुनावी अभियानमा भने जिल्लामा मुख्य तीन दल कांग्रेस, एमाले र माओवादी अगाडि देखिएका छन् ।
नेताहरू गाउँ पसेपछि चुनावी माहोल गाउँमा बढी देखिएको छ । गाउँमा सभा, भेला र जुलुसहरूले गर्दा चहलपहल पनि बढेको छ । सदरमुकाम
वीरेन्द्रनगरमा भने चुनावी माहोल बढेको छैन । यसैबीच दलहरूले उम्मेदवारको टुङ्गो लगाउने अन्तिम कसरत गरिरहेका छन् । वडा तहबाट उम्मेदवारको टुङ्गो लगाउँदै माथिल्लो कमिटीमा सिफारिस गर्ने काम भइरहेको दलहरूले जनाएका छन् ।
यही महिनाभित्रमा सबै उम्मेदवारको टुङ्गो लगाइ सक्ने दलहरूको दाबी छ । उम्मेदवारका आकांक्षी धेरै भएपछि जिल्लाका ठूला दलहरूलाई त्यसको व्यवस्थापन गर्न हम्मे–हम्मे परेको हो । जसले गर्दा उनीहरूले उम्मेदवारको टुङ्गो लगाउन सकिरहेका छैनन् ।

प्रकाशित मितिः   ३० चैत्र २०७३, बुधबार १३:२६