‘कुप्रथा अन्त्य गर्न सरकार प्रतिवद्ध’

सुर्खेत: कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले समाजमा व्याप्त अन्धविश्वास, कुप्रथा र रूढीवादी परम्पराको अन्त्यका लागि सरकार प्रतिवद्ध रहेको बताएका छन् । सोमवार वीरेन्द्रनगरमा आयोजित कर्णाली प्रदेशमा बालविवाह न्यूनिकरणका असल अभ्यासहरू संकलन कार्यशालालाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले यस्तो बताएका हुन् ।

उनले सबै प्रकारका विभेद र कुसंस्कारको अन्त्य गर्दै आधुनिक समाज निर्माणका निम्ति प्रदेश सरकार क्रियाशील रहेको जानकारी दिए । रूढीवादी परम्परा र अन्धविश्वासको अन्त्यका लागि ऐनकानुनको प्रभावकारी कार्यान्वयनमा सरकारले जोड दिएको उनको भनाइ छ । सामाजिक कुरीति अन्त्य गर्न समाजका सबै वर्गको भूमिका महŒवपूर्ण हुने उल्लेख गर्दै उनले भने, ‘बालविवाहलाई पूर्ण रूपमा अन्त्य गर्न सरकार पूर्ण प्रतिवद्ध छ । बालविवाह, बहूविवाह अन्त्यका लागि नीति कार्यान्वयन जोड दिन्छौँ,’ मुलुक राजनीतिक रूपमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा प्रवेश गरे पनि आर्थिक रूपमा धेरै पछाडि रहेको वास्तविकता औँल्याए । कँडेलले बालविवाह, बहूविवाह, हलिया, छाउपडीलाई पूर्ण रूपमा अन्त्य गर्नुपर्नेमा जोड दिए । त्यसको अन्त्य गर्नका लागि नीति कार्यान्वयन आवश्यक हुने उनको भनाइ छ ।

सामाजिक विकास मन्त्रालयको आयोजना भएको कर्णाली प्रदेशमा बालविवाह न्यूनिकरणका असल अभ्यासहरू संकलन कार्यशाला दुई दिनसम्म चल्नेछ । ‘हामी सबैको ऐक्यवद्धता बालविवाह विरुद्धको साझा प्रतिवद्धता’ भन्ने अभिप्रायका साथ कार्यक्रम सुरु गरिएको मन्त्रालयका महिला तथा बालबालिका शाखाका अधिकृत अनिता ज्ञावलीले बताइन् ।

उनले सोमवार र मंगलवार दुई कार्यक्रम सञ्चालन हुने जनाइन् । कार्यक्रमले ठोस योजना तयार पार्नेछ । कार्यक्रममा कर्णालीका दशवटा जिल्लाका बालअधिकारका लागि साझा अभियानका प्रतिनीधिहरूको सहभागिता रहेको छ ।

प्रकाशित मितिः   ८ आश्विन २०८१, मंगलवार ०५:०१