डिजिटल कर्णाली बनाउन गुरुयोजना

 

सुर्खेत: कर्णाली प्रदेश सरकारले डिजिटल कर्णालीको गुरुयोजना निर्माण गर्न लागेको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेटेर गुरुयोजना निर्माण गर्न लागेको हो । डिजिटल कर्णाली प्रदेशको अवधारणा अनुरूप डिजिटल कर्णाली गुरुयोजना तयार गर्न लागिएको प्रदेश सरकारले जनाएको छ ।

कर्णालीमा कसरी डिजिटल रूपान्तरण गर्न सकिन्छ भन्ने उद्देश्यले प्रदेश सरकारले ठोस कामको सुरुवात गर्ने भएको छ । यसका लागि सरकारको तर्फबाट कर्णालीलाई डिजिटल प्रणालीमा रूपान्तरण गर्नेगरी गुरुयोजना तयार हुँदैछ । गुरुयोजना निर्माणको खाका तयार गर्ने काम सुरु गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ । नीति तथा कार्यक्रममा राखिएको विषयलाई मन्त्रालयले कार्यान्वयन गर्न लागेको मन्त्रालयका सचिव कमानसिंह खत्रीले बताए । गुरुयोजना निर्माणको ‘कन्सेप्ट’ निर्माणको काम थालिएको खत्रीले जानकारी दिए । यससँग सम्बन्धित विभिन्न क्षेत्र र विज्ञहरूसँग छलफल गरेर गुरुयोजना निर्माणको काम सुरु गरिने उनको भनाइ छ । कर्णालीलाई डिजिटल प्रदेश बनाउने उद्देश्यसहित डिजिटल कर्णाली गुरुयोजना निर्माण गर्न लागिएको खत्रीले बताएका छन् । यसअघि कर्णालीलाई डिजिटल बनाउने गरी मन्त्रालयले गरेका कार्यक्रमको निचोडका आधारमा समेत योजना तयार पार्न लागिएको हो ।

२०८० फागुनमा डिजिटल कर्णाली कन्क्लेभको आयोजना गरिएको थियो । कर्णालीलाई डिजिटल प्रदेश बनाउने उद्देश्यसहित आन्तरिक मामिला तथा कानुन मन्त्रालय र आइसिटी फाउन्डेसन नेपालको आयोजनामा कन्क्लेभको आयोजना गरिएको हो । डिजिटल साक्षरता विकासका लागि कन्क्लेभको आयोजना गरिएको मन्त्रालयले जनाएको छ । दुई दिने कन्क्लेभले प्रदेशको लागि डिजिटल रोडम्यापको खाकासमेत तयार पारेको थियो । विषयगत प्राथमिकता निर्धारण गर्न र आवश्यक नीतिगत निर्णय गर्नका लागि सरकारले उक्त कार्यक्रमको आयोजना गरेको थियो । कर्णाली प्रदेशको कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, डिजिटल पहुँचलगायतका विषयहरू समेटेर गुरुयोजना निर्माण गरिनेछ । डिजिटल अर्थव्यवस्था र लगानीको वातावरणका क्षेत्रसमेत गुरुयोजनाले समेटने छ । मन्त्रालयले डिजिटल कर्णालीलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ । सोही कार्यक्रमहरूले निर्धारण गरेका क्षेत्रहरूलाई समेत समेटेर गुरुयोजना निर्माण गरिने मन्त्रालयका सचिव खत्रीले बताए । उनका अनुसार अहिले पनि विभिन्न विषय क्षेत्रका विज्ञसँग छलफल थालिएको छ ।

 

१४ बुँदे प्रतिबद्धता

‘आइसिटी फाउण्डेशन’ नामक संस्थासँगको सहकार्यमा ‘डिजिटल कर्णाली’ बारे २०८० फागुन १८ र १९ गते वीरेन्द्रनगरमा ‘कन्क्लेभ कर्णाली’ आयोजना गरी ‘डिजिटल कर्णाली’ बनाउन १४ बुँदे प्रतिवद्धता गरिएको छ । राष्ट्रियस्तरको ‘डिजिटल कर्णाली कन्क्लेभ’ कार्यक्रममार्फत् सरकारले काम अघि बढाउने जनाएको छ । सोही अनुसार गुरुयोजना निर्माण गर्न लागिएको हो । सरकारको योजनाअन्तर्गत ‘वेब पोर्टल’ तयार गरी सरकारका तथ्याङ्क डिजिटलरूपमा व्यवस्थापन गर्ने तयारी थालिएको छ । सूचना प्रविधिसम्बन्धी उपलब्ध सेवा सुविधाको अधिकतम् उपयोग गरी सार्वजनिक सेवा प्रवाहलाई गुणस्तरीय र प्रभावकारी बनाउन एकीकृत सूचना प्रणाली निर्माण गर्ने प्रतिवद्धतामा उल्लेख छ ।

पारदर्शी प्रशासन बनाउन प्रविधिको सहज पहुँच विस्तारका लागि आवश्यक पूर्वाधार, संस्थागत व्यवस्था र क्षमता विकास गर्न नीति, योजना कार्यक्रम र बजेटको व्यवस्था तथा दूरसञ्चार प्राधिकरण, टेलिकम र विद्युत प्राधिकरणसँग आवश्यक समन्वय गर्ने प्रतिवद्धतामा उल्लेख छ । प्रदेशमा सूचना, प्रविधिसम्बन्धी दक्ष जनशक्ति उत्पादन तथा सीप विकास गर्न आइटी कलेज स्थापनाको पहल, शैक्षिक संस्थामा प्राविधिक शिक्षासम्बन्धी तालिम प्रदान गरी क्षमता विकास गरिने, सबै जिल्लामा डिजिटल साक्षरता अभिवृद्धि गर्न अभियान सञ्चालनमा जोड दिने प्रतिवद्धतामा जनाइएको छ ।

यहाँका सबै जिल्लामा कम्तीमा एउटा सरकारी वा सामुदायिक शैक्षिक संस्थामा डिजिटल पूर्वाधार विकास गरी आधुनिक तथा प्रविधिमैत्री शिक्षण सिकाइलाई प्राथमिकीकरण गरिने योजना रहेको मन्त्रालयले जनाएको छ । प्रदेशमा आइटी उद्योग विकासका लागि कम्पनी स्थापना सञ्चालन गर्न प्रोत्साहन गर्ने, अनुसन्धान केन्द्र सञ्चालनका लागि पहल गरिने उल्लेख छ । प्रदेशमा स्नातक तहमा आइसिटी अध्ययन गर्ने गरिब तथा जेहेन्दार विद्यार्थीका लागि निश्चित कोटामा विशेष छात्रवृत्तिको व्यवस्था गर्ने बताएको छ । गरिएको प्रतिवद्धतालाई समेटेर कर्णाली डिजिटल गुरुयोजना निर्माण गर्न लागिएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मितिः   ७ आश्विन २०८१, सोमबार ०५:०५