सडकको गुरुयोजना

कर्णाली प्रदेश सरकारले प्रादेशिक सडकको गुरुयोजना निर्माण गर्ने भएको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेटेर सडक गुरुयोजना निर्माणको काम अघि बढाउने भएको हो । विकासको मेरुदण्डको रूपमा रहेको पूर्वाधारलाई सन्तुलित, व्यवस्थित, प्रभावकारी, दिगो, भरपर्दो र सुरक्षित बनाउन पहिचान भएका प्रदेश लोकमार्ग तथा मार्गहरूको प्राथमिकीकरणसहित प्रादेशिक सडक गुरुयोजना निर्माण गर्न लागिएको हो । चालु आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम र बजेटमा समेटेर योजना कार्यान्वयन गर्न लागिएको सरकारले जनाएको छ । गुरुयोजना तयार गर्नका लागि चालु वर्षमा २५ लाख बजेट विनियोजन गरिएको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले जनाएको छ । यो वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेटेर योजना ल्याइएको मन्त्रालयका प्रवक्ता रमेश सुवेदीले बताए । उनका अनुसार सडक व्यवस्थित गर्न गुरुयोजना निर्माणको योजना अघि सारिएको छ ।

प्रादेशिक सडकहरूको गुरुयोजना बनाएपछि सडक पूर्वाधार निर्माण तथा मर्मतसम्भारका लागि प्रदेशको प्राथमिकता तय हुने छ । प्रादेशिक सडकलाई व्यवस्थित गर्नका लागि गुरुयोजना बनाउन लागिएको हो । सडक निर्माण, मर्मत, सुधार, स्तरोन्नति तथा यातायात पहुँचको अवस्था र पुनर्निर्माण गर्नुपर्ने सडकको माग संकलन, सडक यातायातसँग सम्बन्धित आवश्यक सेवा तथा सुविधाका लागि गुरुयोजनाले सहयोग पुग्ने अपेक्षा गरिएको छ । हालसम्म कर्णालीमा सडक गुरुयोजना थिएन । मनलाग्दो योजनाहरू कार्यक्रममा पर्ने गरेका थिए । अब गुरूयोजना निर्माण भएपछि प्रदेशका योजनाको प्राथमिकता निर्धारण हुनेछ । प्रादेशिक सडक गुरुयोजना निर्माणको चर्चा चलेको लामो समय भयो । सरकारले आफ्नो नीति तथा कार्यक्रममा राख्ने तर कार्यान्वयन नहुने गरेको थियो । गतवर्ष मात्र भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले गुरुयोजनाको खाका तयार पा¥यो । बेला–बेला भइरहने सरकार परिवर्तनले गर्दा निर्माण गरिएको खाकाले अन्तिम रूप लिन भने सकेको छैन । गतवर्ष निर्माण गरिएको गुरुयोजनाको ड्राफ्ट प्रदेश योजना आयोगमा थन्किएको छ । आयोगको स्वीकृतिका लागि योजना आयोगमा गुरुयोजनाको मस्यौदा पेस गरिएको थियो । लगत्तै भएको सरकार फेरबदल र आयोग पदाधिकारीविहीन हुँदा काम अघि बढ्न सकेन ।

प्रदेशको सडक पूर्वाधार विकासलाई व्यवस्थित गर्न प्रादेशिक सडक गुरुयोजना अनिवार्य हुन्छ । गुरुयोजना नबन्दा सडक निर्माण गर्न बजेट छरिने र त्यसले उपलब्धि दिन नसक्ने अवस्था देखिएको छ । त्यसैले पनि यो वर्ष सरकारले बजेट विनियोजन गरेर योजना अघि सारेको हो । गतवर्ष सामान्य गुरुयोजनाको खाका निर्माण भएको छ । अहिले त्यसैलाई परिमार्जन गरेर अघि बढाइने वा नयाँ निर्माण गर्ने विषयमा छलफल भइरहेको भौतिक मन्त्रालयले जनाएको छ ।

प्रकाशित मितिः   ७ आश्विन २०८१, सोमबार ०५:०३