राउटेको जनसंख्या घट्दै
सुर्खेत: लोपोन्मुख राउटे समुदायका एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा २२ वर्षीय वृषबहादुर शाही रहेका छन् । शाहीलाई भदौ ३१ गते उपचारको लागि प्रदेश अस्पताल लगिएको थियो । उपचार हुन नसकेपछि अहिले राउटे बसोबास गरेको स्थान गुराँस गाउँपालिका–१, सिमेलसाल फर्कंदै गर्दा बुधवार राति ९ बजे सुर्खेतको कल्यान काँधमा मृत्यु भएको राउटे परियोजनाका स्वास्थ्यकर्मी विनोद बिसी जानकारी दिए ।
उनका अनुसार मृतक युवा ६ महिनादेखि बिरामी थिए । उपचार गर्न अस्पताल जान नमान्ने राउटे समुदायलाई सम्झाई–बुझाई गर्दा बल्ल भदौ ३१ मा उपचार गर्न सहमति जनाएका थिए । गुराँस गाउँपालिकाको सहयोगमा प्रदेश अस्पताल सुर्खेत ल्याइएको उनले बताए । खकार चेक गर्दा क्षयरोग रोग देखियो । उपचारमा संलग्न चिकित्सकले सरुवा टिबी भएको जानकारी दिए । ‘क्यान्सर पो हो कि भनेर मासु लिएर चेक गर्न खोज्दा राउटे मञ्जुर भएनन्’, बिसीले भने, ‘अस्पतालले डिस्चार्ज गरिदियो । फर्किंदै गर्दा बाटोमा मृत्यु भएको हो ।’
उनी राउटे समुदायभित्र पर्ने कल्याल जातीका मुखिया वीरबहादुर शाहीका साइँला सन्तान हुन् । यसअघि मृतकका दाजु कपिल शाहीको ६ वर्षअघि मृत्यु भएको हो । २०७२ सालमा कपिल अछामको भैरवस्थानको कुजेडामा आगोले पोलिएका थिए । कपिल वीरबहादुर शाहीका जेठा छोरा हुन् ।
वृषबहादुरको मृत्यु भएसँगै अब राउटेको जनसंख्या घटेर १३४ मा झरेको छ । २०७५ असारदेखि यता यो समुदायमा ४३ जनाको मृत्यु भएको छ भने ३१ जनाको मात्र जन्म भएको सोसेक नेपालका कर्मचारी लालबहादुर खत्रीले जनाए ।
साझा बिसौनी ।