प्रदेश सरकारसँग छैन ‘हेभी इक्युपमेन्ट’
सुर्खेत: कर्णालीका अधिकांश सडक सुरक्षित छैनन् । भूगोल, विभिन्न समयमा आउने प्राकृतिक विपद् र निर्माण कम्पनीकै लापरबाहीका कारण धेरै सडक असुरक्षित छन् । वर्षायाम सुरु हुनेबित्तिकै स–साना सडकदेखि राजमार्गका सडक पनि लामो समयसम्म अवरुद्ध हुने गरेका छन् । अवरुद्ध भएका सडक दुरीका हिसाबले निकै टाढा र निजी निर्माण कम्पनीले मर्मत गर्ने हुँदा धेरै समय लाग्ने गरेको छ । कर्णाली प्रदेश सरकारसँग आफ्नै ‘हेभी इक्युपमेन्ट’ छैन ।
सरकारले आफ्नो योजनामा नराखेको भने होइन । चार वटा सरकार फेरिरहँदा प्रदेश सरकारको प्रत्येक वर्षको नीति तथा कार्यक्रममा समिट्ने गरेको भएपनि बजेट विनियोजन नहुँदा उपकरण खरिद हुन सकेको छैन । अहिले सडकको आकस्मिक तथा नियमित मर्मतका लागि भाडामा खरिद गरेर ‘हेभी इक्युपमेन्ट’ ल्याउने गरिएको छ । जसले गर्दा सरकारको ठूलो बजेट खर्च भइरहेको छ भने काममा निकै ढिलासुस्ती हुने गरेको छ । ‘हेभी इक्युपमेन्ट’ खरिदका लागि पटक–पटक बजेट माग गर्ने गरिएको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले जनाएको छ । प्रदेश सरकारसँग आफ्नै ‘हेभी इक्युपमेन्ट’ नहुँदा तत्काल गर्नुपर्ने सडक मर्मतका काममा समस्या हुने गरेको मन्त्रालयका प्रवक्ता रमेश सुवेदीले बताए । प्रत्येक वर्ष सामग्री खरिदका लागि मन्त्रालयले बजेट माग गरेपनि अहिलेसम्म बजेट उपलब्ध हुन नसकेको सुवेदीको भनाइ छ । सडकको आकस्मित तथा नियमित मर्मतका लागि नीजी कम्पनीसँग भाडामा उपकरण ल्याएर काम चलाउने गरिएको सुवेदीले जानकारी दिए । यसो गर्दा बर्सेनि सरकारको ठूलो रकम खर्च भइरहेको छ ।
सरकारसँग सामग्री नहुँदा समयमै सडक मर्मत नहुने, महँगोमा खरिद गर्नुपर्ने, कहिलेकाहीँ मर्मतका उपकरण नपाइने गरेको सुवेदीको भनाइ छ । उनले भने, ‘हेभी इक्युपमेन्ट निकै आवश्यक छ, आफूसँग सामग्री नहुँदा तत्काल गर्नुपर्ने मर्मतका काममा ढिलाइ हुने गरेको छ, हामीले यो वर्ष पनि मन्त्रालयको तर्फबाट बजेट माग गरेका छौँ ।’ मर्मतका लागि प्रदेश सरकारको आफ्नै उपकरण नहुँदा तत्काल खुलाउनुपर्ने सडक एक हप्तासम्म पनि अवरुद्ध हुने गरेका छन् । सुरुका वर्षदेखि नै मन्त्रालयले उपकरण खरिदका लागि बजेट मागगरेपनि सरकारले सुनुवाई नगरेको सुवेदीले जानकारी दिएका छन् ।
नीति तथा कार्यक्रममा आयो, बजेटमा आएन
कर्णाली प्रदेश सरकारले सुरुका वर्षदेखि नै सडकको तत्काल मर्मतका लागि उपकरण खरिद गर्ने कुरा उल्लेख गर्दै आएको छ । प्रत्येक वर्षको नीति तथा कार्यक्रममा समावेश गरिने तर बजेटमा भने नसमेटिने योजनाका रूपमा उपकरण खरिदलाई लिन सकिन्छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेत उक्त कुरा उल्लेख गरिएको छ । चालु आर्थिक वर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रममा उक्त कुरा उल्लेख गरिएको हो । सडकको आकस्मिक तथा नियमित मर्मत सम्भार गर्न आवश्यक एक्साभेटर, रोलर, ट्रिपरलगायतका ‘हेभी इक्युपमेन्ट’ खरिदका गर्ने जनाइएको छ । सरकारले यो वर्ष पूर्वाधार एम्बुलेन्सको अवधारणासमेत ल्याएको छ । तर बजेट भने विनियोजन गरेको छैन । सरकारले यो वर्ष मात्र होइन् अघिल्ला वर्षहरूमा समेत उक्त उपकरण खरिद गर्नका लागि एक रूपैयाँसमेत छुट्टाएको छैन । सरकारको प्राथमिकतामा नपर्दा उक्त योजनाले पूर्णता नपाएको मन्त्रालयले जनाएको छ । यो वर्ष पनि अर्थ मन्त्रालयसँग बजेट माग गरिएको मन्त्रालयका प्रवक्ता सुवेदीले बताए ।
राजमार्गको अवस्था झन दयनस्य
सामान्य वर्षाका कारण कर्णालीका मुख्य सडक तथा राजमार्गहरू पहिरोले अवरुद्ध हुने गरेका छन् । अझ वर्षायाममा सडक अवरुद्ध हुँदा यातायातका साधनहरू आवत–जावतमा समस्या हुनेगरेको छ । विशेषगरी माथिल्लो कर्णालीमा नागरिकलाई थप सास्ती हुने गरेको हो । राजमार्गका सडक संघीय सरकारले हेर्ने गरेको छ । सडक डिभिजन कार्यालय सुर्खेत र जुम्लाले तत्काल र नियमित मर्मतको काम गर्ने गरेका छन् । धेरै जसो कर्णाली राजमार्ग, कर्णाली करिडोर र भेरी करिडोर बढी प्रभावित हुनेगरेका छन् । यो वर्षपनि कर्णाली राजमार्ग हप्ता दिनभन्दा बढी अवरुद्ध भएको थियो । यता प्रदेश सरकार मातहतका सडक अवरुद्ध हुँदा भाडाका उपकरण प्रयोग गर्ने गरिएको छ । जसले गर्दा तत्काल सुचारु गर्नुपर्ने सडक हप्तादिन लाग्ने गरेको छ । प्रदेश सरकारको प्राथमिकतामा नपर्दा वर्षाैंदेखि नागरिकले सास्ती पाइरहेका छन् ।
प्रकाशित मितिः ४ आश्विन २०८१, शुक्रबार ०५:०३
साझा बिसौनी ।