‘देशभर एकैदिन स्थानीय चुनाव’

सुर्खेत, २८ चैत ।
निर्वाचन आयोगले देशभर एकै चरणमा स्थानीय चुनाव सम्पन्न हुने जनाएको छ । निर्वाचनका लागि आवश्यक सुरक्षा तयारी मजबुद भएको भन्दै आयोगले देशभर एकैदिन चुनाव सम्पन्न हुने जनाएको हो । दुई चरणमा चुनाव गर्ने चर्चा चलिरहँदा आयोगले भने एकै चरणमा चुनाव सम्पन्न गर्ने बताएको छ ।
प्रदेश नम्बर २ को सुरक्षा चुनौती देखाएर दुई चरणमा चुनाव गर्ने चर्चा चलाइएको भए पनि त्यहाँ थप सुरक्षा बल प्रयोग गरेर देशभर एकैदिन चुनाव गरिने आयोगको भनाइ छ । निर्वाचन आयुक्त सुधिरकुमार शाहले आउँदो वैशाख ३१ गते एकैदिन देशभर चुनाव हुने बताए । आयोगको निर्देशनमा गृह मन्त्रालयले आवश्यक सुरक्षा व्यवस्थापन गरिसकेको भन्दै उनले कुनै पनि हालतमा वैशाख ३१ गते नै देशभर मतदान हुने उल्लेख गरे । अब कसैले चाहेर पनि चुनावलाई प्रभावित गर्न नसक्ने उनको दाबी छ ।
निर्वाचन व्यवस्थापन तथा सञ्चालन विषयक क्षेत्रीय प्रशिक्षण कार्यक्रमको सोमवार वीरेन्द्रनगरमा उद्घाटन गर्दै निर्वाचन आयुक्त शाहले चुनावको विषयमा कुनै भ्रममा नपर्न आग्रह गरे । उनले भने, ‘अब चुनाव हुन्छ कि हुँदैन भनेर भ्रममा पर्नु आवश्यक छैन, आयोगले आवश्यक तयारी पूरा गरेको छ । देशभर एकैदिन र एकै चरणमा चुनाव हुन्छ, सुरक्षाका लागि हामीले सबै समन्वय गरिसकेका छौं ।’ प्रदेश नम्बर २ मा कसरी चुनाव गर्छौ भन्नु र भूकम्प आयो भने के गर्छौ ? भन्नु उस्तै भएको भन्दै शाहले २ नम्बर प्रदेशमा सुरक्षा फोर्स थपेर भए पनि देशभर एकै चरणमा चुनाव हुने जानकारी दिए । अहिले पनि प्रदेश नम्बर २ लगायत देशभरको सुरक्षा नियन्त्रणमा रहेको भन्दै उनले मतदाताले ढुक्कसँग मत दिनसक्ने अवस्था रहेको बताए ।
आयोगको उच्चस्तरीय सुरक्षा समन्वय समितिका संयोजक समेत रहेका शाहले दोस्रो संविधानसभाको निर्वाचनको अनुभवको आधारमा यसपटक पनि नेपाली सेनालाई सुरक्षाको जिम्मा दिइने बताए । साथै उनले निर्वाचन आचारसंहितालाई कडाइका साथ पालना गराउन निर्वाचन अधिकृतहरूलाई निर्देशन दिए । आचारसंहिताले चुनावलाई स्वतन्त्र र भयरहित बनाउने उनको विश्वास छ । मंगलवारसम्म सञ्चालन हुने कार्यक्रममा यस क्षेत्रका विभिन्न जिल्लाहरूबाट मुख्य निर्वाचन अधिकृत र मतदान अधिकृतहरूको सहभागिता रहेको छ । सहभागीहरूले आफूहरू शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गराउन प्रतिबद्ध रहेको बताए ।
कार्यक्रममा निर्वाचन आयुक्त शाहले सरकारले घोषणा गरेकै मितिमा चुनाव सम्पन्न हुने भएकाले मतदाता शिक्षालाई प्रभावकारी बनाउन र निर्वाचनलाई शान्तिपूर्ण बनाउनेतर्फ केन्द्रित हुन निर्देशन दिए । सुरक्षाको सम्पूर्ण व्यवस्थापन भइरहेको भन्दै उनले हल्लाको पछि नलाग्न समेत आग्रह गरे । प्रशिक्षण कार्यक्रमपछि सहभागीहरूले जिल्लामा फर्केर गाउँतहसम्म मतदाता शिक्षा अभियानलाई तीव्रता दिनेछन् । प्रदेश नम्बर २ को सुरक्षा अवस्थालाई हेरेर दुई चरणमा चनाव गर्ने बहस चलिरहँदा निर्वाचन आयोगले भने कुनै पनि हालतमा एकै चरणमा चुनाव सम्पन्न गर्ने अठोट गरेका हो । मधेसवादी दलको असन्तुष्टी सम्बोधन गर्नका लागि दुई चरणमा चुनाव सम्पन्न गर्न सकिने दलहरूले बताउँदै आएका छन् ।
सो अवसरमा सुर्खेतका प्रमुख जिल्ला अधिकारी माहादेव पन्थले चुनावलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन निर्वाचन अधिकृतहरूको भूमिका महŒवपूर्ण हुने बताए । साथै उनले जिल्लामा राजनीतिक दलहरूसँग आवश्यक समन्वय गर्दै अगाडि बढ्न र मतदातालाई ढुक्कसँग मतदानमा भाग लिने अवस्था सिर्जना गर्न आग्रह गरे । निर्वाचन आयोगले जिल्ला न्यायाधीशलाई हरेक जिल्लामा मुख्य निर्वाचन अधिकृत र उप–सचिव स्तरका सरकारी कर्मचारीलाई निर्वाचन अधिकृतमा नियुक्त गरेको छ । यो प्रशिक्षणपछि निर्वाचन अधिकृतहरूले चुनावलाई थप व्यवस्थित गर्नका लागि सक्रिय हुने बताएका छन् ।

प्रकाशित मितिः   २९ चैत्र २०७३, मंगलवार १२:४३