आवास व्यवस्थापनको चुनौती
पूर्वनिर्धारित तालिकाअनुसार नै भएमा अबको ठीक दुई महिनापछि कर्णाली प्रदेशको राजधानी सुुर्खेतमा १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुनेछ । खेलकुदको महाकुम्भ मानिने प्रतियोगितामा आयोजनाका लागि अहिले धमाधम तयारी अघि बढिरहेको छ । पूर्वाधार निर्माणदेखि प्रतिक्षणसम्मका गतिविधि भइरहेका छन् । तर प्रतियोगिता अवधिभरका लागि आवास व्यवस्थापनलाई मुख्य चुनौतीकारूपमा हेरिएको छ । प्रतियोगिताका लागि कम्तीमा पनि ६ हजार बढी खेलाडी सुर्खेत आउने जनाइएको छ । तर, कर्णाली खेलकुद परिषद्ले यसअघि नै करिब तीन हजार पाँच सय खेलाडीलाई मात्रै आवास सुविधा पुग्ने जानकारी राष्ट्रिय खेलकुद परिषद्लाई दिएको छ । बाँकीलाई आवास व्यवस्था गर्न समस्या रहेको जनाएको छ ।
त्यसो त प्रतियोगिताअन्तर्गत हुने सबै खेल सुुर्खेतमा मात्रै हुँदैनन् । केही खेल नेपालगञ्ज, काठमाडौं र हुुम्लामा पनि हुने भएका छन् । हिमाली जिल्ला हुम्लामा हुने खेल भनेको हक्की हो । अर्कोतिर, अर्थ मन्त्रालयले प्रतियोगिताका लागि आवश्यक बजेटको निकासा गर्न बाँकी छ । त्यसले गर्दा पनि आवश्यक पूर्वाधार निर्माणमा समस्या परिरहेको उनको भनाइ छ । प्रतियोगिता आगामी २ मंसिरदेखि हुने मिति तोकिएको छ । राखेपले प्रतियोगितामा ३५ खेल प्रस्ताव गरेको छ । त्यसमध्ये २४ खेल कर्णाली प्रदेशभित्रै आयोजना गर्ने गरी मिति र स्थान तोकिएको छ । २४ मध्ये १७ खेल सुर्खेतमै र बाँकी सात खेल कर्णाली प्रदेशका अन्य जिल्लामा खेलाउन प्रस्ताव गरिएको छ । हुुम्लामा हक्की हुँदा देलेखमा कबड्डी, कालीकोटमा फुलकन्ट्याक कराँते, जुम्लामा कराँते, रूकुमपश्चिममा आइटीएफ तेक्वान्दो, सल्यानमा टेबल टेनिस र जाजरकोटमा बुद्धिचाल (चेस) प्रतियोगिता हुने निक्र्योल भएको छ । प्रतियोगिताअन्तर्गत केही खेल भने प्रतियोगिताको उद्घाटन अघि नै हुनेछन् । कार्तिक २७ देखि महिला फुटबल, बास्केटबल महिला/पुरुष, जुडो, उसु, तेक्वान्दो र महिला÷पुरुष हक्की हुने भएका छन् । कार्तिक २८ देखि भने महिला/पुरुष ह्याण्डबल तथा २९ गतेदेखि महिला÷पुरुष क्रिकेट, फेन्सिङ तथा मंसिर १ गतेदेखि महिला भलिबल र फुलकन्ट्याक्ट सुरु गर्ने कार्यतालिका छ ।
प्रतियोगिता लक्षित गरेर निर्माण थालिएको वीरेन्द्रनगर रंगशाला निर्माणको ९३ प्रतिशत भौतिक प्रगति हासिल भएको छ । म्याद थप गरेर रंगशाला निर्माणको काम भइरहेको छ । अबको एक महिनामा उक्त काम सम्पन्न गरिसक्ने जनाइएको छ । अहिलेसम्म एक अर्ब ४३ करोड बजेट कार्यान्वयन भएको छ । परिषद्ले तोकिएकै समयमा पूर्वाधार निर्माणका काम सम्पन्न हुने जनाएको छ । जिल्ला–जिल्लामा पूर्वाधार निर्माण तथा मर्मतका काम सकिएको र प्रदेश रंगशालाको कामसमेत अन्तिम चरणमा पुगेको बताइएको छ ।
प्रकाशित मितिः ३१ भाद्र २०८१, सोमबार ०५:०३
सम्पादकीय ।