करार कर्मचारी–प्राध्यापकको भरमा विश्वविद्यालय
सुर्खेत: विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा स्वीकृत दरबन्दीभन्दा बढी कर्मचारी कार्यरत रहेको पाइएको छ । केन्द्रीय कार्यालयमा कर्मचारीतर्फ ९७ जनाको स्थायी दरबन्दी छ । तर अहिले कार्यरत विभिन्न तहका कर्मचारीको संख्या भने एक सय ३७ जना छन् । त्यसमा पनि अधिकांश करार र ज्यालादारीमा नियुक्त गरिएका कर्मचारी छन् । उदाहरणका लागि मुख्य सहायक पदमा २१ जनाको स्वीकृत दरबन्दी रहेकोमा ३३ जना कार्यरत छन् । कार्यरतमध्ये २० जना मात्रै स्थायी हुन् । बाँकी १० जना करार, दुई जना मासिक ज्यालादारी र एक जना दैनिक ज्यालादारीका हुन् ।
यस्तै क्षेणीविहीन कर्मचारीको दरबन्दी १९ जनाको हो । तर उक्त पदमा दोब्बरभन्दा बढी कार्यरत छन् । २७ जना स्थायी, १२ जना करार र १२ जना मासिक ज्यालादारीका गरेर ५१ जना कार्यरत रहेका छन् । यसबाहेक सहायक (खरिदार) पदमा २५ जना स्वीकृत दरबन्दी रहे पनि २६ जना कार्यरत छन् । अधिकृत (द्वितीय क्षेणी) को पद रिक्त छ भने अधिकृत (तृतीय क्षेणी) को स्वीकृत दरबन्दी ३१ रहेकोमा अहिले २७ जना कार्यरत रहेका छन् । जसमा २१ स्थायी, दुई जना करार र चार जना ज्यालादारीमा राखिएको हो ।
कर्मचारीतर्फ मात्रै होइन प्राध्यापकतर्फ पनि विश्वविद्यालयमा करारको संख्या ठूलो छ । प्राध्यापकतर्फ स्वीकृत दरबन्दी दश जनाको छ । जसमा दुई जना स्थायी र दुई जना करार गरी चार जना कार्यरत छन् भने ६ जनाको पद रिक्त रहेको छ । उपप्राध्यापकमा भने स्वीकृत दरबन्दीभन्दा दोब्बरले बढी छन् । विश्वविद्यालयले दिएको जानकारी अनुसार ४९ जनाको दरबन्दी रहेकोमा एक सय ६१ जना कार्यरत छन् । जसमा एक सय २२ जना स्थायी र ३९ जना करारका हुन् ।
त्यसैगरी सहप्राध्यापकमा ४२ जनाको स्वीकृत दरबन्दी छ । तर उक्त पदमा भने दरबन्दीअनुसार पदपूर्ति गरिएको छैन । हाल ११ जना मात्र कार्यरत छन् । ११ मध्ये एक जना करारका हुन् । शिक्षण सहायक÷प्रशिक्षक पदमा ११ जना कार्यरत छन् । जसमा दुई जना स्थायी र बाँकी नौ जना करार सेवामा नियुक्त गरिएका हुन् ।
यसैबीच विश्वविद्यालयको रजिष्ट्रार पदका लागि आवेदन माग गरिएको छ । विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. नारायणप्रसाद पौडेलको कार्यअवधि सकिन दश दिन बाँकी रहदा नयाँ आवेदन माग गरिएको हो ।
आइतवार गोरखापत्र राष्ट्रिय दैनिकमा सूचना प्रकाशित गर्दै आवेदन मागिएको छ । मध्यपश्चिम विश्वविद्यालयको रजिष्ट्रार पदमा खुल्ला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्न लागिएको हो । सूचना प्रकाशित भएको मितिले दश दिनभित्र आवेदन दिनुपर्ने रजिष्ट्रार नारायणप्रसाद पौडेलले बताए । नियुक्तिको सिफारिस गर्ने अधिकार उपकुलपतिलाई भएपनि छनोट प्रक्रिया पारदर्शी बनाउन विश्वविद्यालयले खुला दरखास्त आह्वान गरेको छ ।
मध्यपश्चिम विश्वविद्यालय ऐन, २०६७ को दफा २५ बमोजिम रजिस्ट्रारको नियुक्ति हुने व्यवस्था अनुसार आवेदन माग गरिएको पौडेलले बताए । उनले अबको दश दिनमा आफ्नो कार्यकाल सकिने र दश दिनभित्रै विश्वविद्यालयले नयाँ रजिष्ट्रार पाउने जानकारी दिए । रजिष्ट्रार लागि दरखास्त अवधि नौ दिन बाँकी नै छ । आइतवार भने एउटा पनि आवेदन नपरेको पौडेलले जानकारी दिए ।
आवेदन दिनका लागि योग्यता र मापदण्ड पनि तोकिएको छ । शैक्षिक प्रशासनमा विशिष्टता प्राप्त गरेको व्यक्ति हुनुपर्ने, मान्यता प्राप्त विश्वविद्यालयका प्राध्यापक वा कम्तीमा दश वर्ष सेवा पुगेका सह–प्राध्यपक हुनुपर्ने उल्लेख गरिएको छ । योग्यता र मापदण्डहरू खुलाइएको वैयक्तिक विवरण पेस गर्नुपर्ने छ । यसैगरी बढीमा तीन हजार शब्द सम्मको विश्वविद्यालय सुधारसम्बन्धी अवधारणा पत्र पेस गर्नुपर्ने उल्लेख गरिएको छ ।
प्रकाशित मितिः ३१ भाद्र २०८१, सोमबार ०५:०५
साझा बिसौनी ।