१०औँ राष्ट्रिय खेलकुद: आवास व्यवस्थापन मुख्य चुनौती

सुर्खेत: पूर्वनिर्धारित तालिकाअनुसार नै भएमा अबको ठीक दुई महिनापछि कर्णाली प्रदेशको राजधानी सुुर्खेतमा १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुनेछ । खेलकुदको महाकुुम्भ मानिने प्रतियोगितामा आयोजनाका लागि अहिले धमाधम तयारी अघि बढिरहेको छ । पूर्वाधार निर्माणदेखि प्रतिक्षणसम्मका गतिविधि भइरहेका छन् । तर प्रतियोगिता अवधिभरका लागि आवास व्यवस्थापनलाई मुख्य चुनौतीकारूपमा हेरिएको छ ।
प्रतियोगिताका लागि कम्तीमा पनि ६ हजार बढी खेलाडी सुर्खेत आउने जनाइएको छ । तर, कर्णाली खेलकुद परिषद्ले यसअघि नै करिब तीन हजार पाँच सय खेलाडीलाई मात्रै आवास सुविधा पुग्ने जानकारी राष्ट्रिय खेलकुद परिषद्लाई दिएको छ । बाँकीलाई आवास व्यवस्था गर्न समस्या रहेको जनाएको छ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी पनि १०औँ राष्ट्रिय खेलकुुदको सबैभन्दा ठूलो चुनौती आवास नै रहेको बताउँछन् । उनले शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा भने, ‘साढे ६ हजार खेलाडी जान्छन्, बसोबासको अवस्था कमजोर देखिन्छ । आर्मी, प्रहरी र सशस्त्रको आफ्नै बस्ने अवस्था कमजोर देखिन्छ ।’
त्यसो त प्रतियोगिताअन्तर्गत हुने सबै खेल सुुर्खेतमा मात्रै हुँदैनन् । केही खेल नेपालगञ्ज, काठमाडौं र हुुम्लामा पनि हुने भएका छन् । हिमाली जिल्ला हुम्लामा हुने खेल भनेको हक्की हो । यो खेललाई निकै संवेदनशील मानिन्छ । खेल्ने क्रममा खेलाडी घाइते भए तत्काल उपचार गराउनुुपर्छ । त्यसका लागि २४सै घण्टा हेलिकोप्टरको व्यवस्थापन पनि चुनौतीपूर्ण रहेको मन्त्री चौधरीले बताए ।
अर्कोतिर, अर्थ मन्त्रालयले प्रतियोगिताका लागि आवश्यक बजेटको निकासा गर्न बाँकी छ । त्यसले गर्दा पनि आवश्यक पूर्वाधार निर्माणमा समस्या परिरहेको उनको भनाइ छ । प्रतियोगिता आगामी २ मंसिरदेखि हुने मिति तोकिएको छ । राखेपले प्रतियोगितामा ३५ खेल प्रस्ताव गरेको छ । त्यसमध्ये २४ खेल कर्णाली प्रदेशभित्रै आयोजना गर्ने गरी मिति र स्थान तोकिएको छ । २४ मध्ये १७ खेल सुर्खेतमै र बाँकी सात खेल कर्णाली प्रदेशका अन्य जिल्लामा खेलाउन प्रस्ताव गरिएको छ । हुुम्लामा हक्की हुँदा देलेखमा कबड्डी, कालीकोटमा फुलकन्ट्याक कराँते, जुम्लामा कराँते, रूकुमपश्चिममा आइटीएफ तेक्वान्दो, सल्यानमा टेबल टेनिस र जाजरकोटमा बुद्धिचाल (चेस) प्रतियोगिता हुने निक्र्योल भएको छ ।
प्रतियोगिताअन्तर्गत केही खेल भने प्रतियोगिताको उद्घाटन अघि नै हुनेछन् । कार्तिक २७ देखि महिला फुटबल, बास्केटबल महिला/पुरुष, जुडो, उसु, तेक्वान्दो र महिला÷पुरुष हक्की हुने भएका छन् । कार्तिक २८ देखि भने महिला÷पुरुष ह्याण्डबल तथा २९ गतेदेखि महिला/पुरुष क्रिकेट, फेन्सिङ तथा मंसिर १ गतेदेखि महिला भलिबल र फुलकन्ट्याक्ट सुरु गर्ने कार्यतालिका छ । प्रतियोगिता आयोजनाका लागि संघीय सरकारले ६० करोड रूपैयाँ बजेट छुट्याएको छ ।
प्रतियोगिता लक्षित गरेर निर्माण थालिएको वीरेन्द्रनगर रंगशाला निर्माणको ९३ प्रतिशत भौतिक प्रगति हासिल भएको छ । अहिले पूर्वाधार निर्माणको काम धमाधम भइरहेको कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले जनाएको छ । परिषद्का सदस्य सचिव विश्वमित्र सञ्ज्यालका अनुसार हालसम्म ९३ प्रतिशत भौतिक प्रगति हासिल भएको छ भने ९० प्रतिशत नै वित्तीय प्रगति हासिल भएको छ ।
म्याद थप गरेर रंगशाला निर्माणको काम भइरहेको उनले जानकारी दिए । पूर्वनिर्धारित समयमा सम्पन्न हुन नसकेपछि चार महिना म्याद थप गरिएको छ । आगामी मंसिरमा आयोजना हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता लक्षित गरेर रंगशाला निर्माणको कामलाई अघि बढाइएको छ । २०७८ कार्तिक २८ गते प्रदेश रंगशाला निर्माणको ठेक्का सम्झौता गरिएको थियो । एमएसी–जीएसएल कम्पनीले एक अर्ब ५९ करोड ४७ लाख ४७ हजार ६ सय रूपैयाँमा निर्माणको जिम्मेवारी पाएको हो । २०८१ जेठ ११ गतेभित्र निर्माण सम्पन्न गरिसक्ने गरी सम्झौता भएपनि काम सम्पन्न नभएकाले म्याद थप गरिएको खेलकुद विकास परिषद्ले जनाएको छ । २०८१ असोज १० गतेसम्म रंगशाला निर्माणको म्याद थप गरिएको परिषद्का सदस्य सचिव सञ्ज्यालले जानकारी दिए ।
अत्याधुनिक तरिकाले काम अघि बढाइएको रंगशालाको पहिलो चरणमा डिजाइन, फिल्ड निर्माणलगायत काम भएका थिए । ती काम ६ महिनाको अवधिमै सकिएको थियो । दश हजार दर्शक अट्ने क्षमताको बनाउने गरी काम भइरहेको रंगशालाको फिनिसिङलगायतका काम अन्तिम चरणमा पुगेको सञ्ज्यालले बताए । उनका अनुसार अब मेसिनरी काममात्रै बाँकी छन् । दुई वटा छाना छाउने, दुबो रोप्ने, हरियाली बनाउने लगायतका काम बाँकी छन् । रंगशाला निर्माणको दश प्रतिशत मात्र काम बाँकी रहेको उनले बताए । अहिले झ्याल–ढोका, बाथरुम फिटिङलगायतका काम धमाधम भइरहेका छन् । अबको एक महिनामा उक्त काम सम्पन्न गरिसक्ने जनाइएको छ । अहिलेसम्म एक अर्ब ४३ करोड बजेट कार्यान्वयन भएको छ ।
परिषद्ले तोकिएकै समयमा पूर्वाधार निर्माणका काम सम्पन्न हुने जनाएको छ । जिल्ला–जिल्लामा पूर्वाधार निर्माण तथा मर्मतका काम सकिएको र प्रदेश रंगशालाको काम समेत अन्तिम चरणमा पुगेको बताइएको छ ।
प्रकाशित मितिः ३० भाद्र २०८१, आईतवार ०५:०५
साझा बिसौनी ।