एमयूको स्ववियु निर्वाचन स्थगित

सुर्खेत: मध्यपश्चिम विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव स्थगित भएको छ । विद्यार्थीहरूले दायर गरेको एक रिटमाथि सुनुवाइ गर्दै उच्च अदालत सुर्खेतले बिहीवार निर्वाचन रोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेपछि शुक्रवारका लागि तय गरिएको चुनाव स्थगित भएको हो ।

विश्वविद्यालयको स्कुल अफ साइन्स एन्ड टेक्नोलोजीमा बीएस्सी बायोलोजी विषयका पाचौँ सेमेस्टरका विद्यार्थी रञ्जित विकसमेतले आफूहरूको नाम मतदाता नामावलीमा समावेश नभएको भन्दै निर्वाचन स्थगित गर्न माग राखेर रिट दायर गरेका थिए । रिट निवेदकहरूका तर्फबाट अधिवक्ता मातृकाप्रसाद खनाल, खगेन्द्रबहादुर खनाल र नवराज चौलागाईंले बहस गरेका थिए ।

न्यायाधीश मदन पोखरेलको एकल इजलासले यो विषयमा अन्तरिम आदेश छलफलका लागि असोज ६ गते दुवै पक्षलाई छलफलमा बोलाएको छ । त्यतिबेलासम्म सुविधा सन्तुलनका दृष्टिले चुनाव स्थगित गर्नु उपयुक्त हुने भन्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको अदालतका सूचना अधिकारी प्रेमप्रकाश थापाले जानकारी दिए ।

मध्यपश्चिम विश्वविद्यालयका स्ववियु निर्वाचन अधिकृत त्रिभूवन विसीले स्टे अर्डर आएको बताउँदै आगामी असोज ६ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको खबर आएको बताए । तर, पत्र आइनसकेको उनको भनाइ छ । विश्विद्यालयमा साउन ३१ गतेदेखि निर्वाचन प्रक्रिया सुरु भएको थियो । जसअन्तर्गत निर्वाचन अधिकृतको कार्यालयले भदौ ५ गते अन्तिम नामावली प्रकाशित गरेको थियो ।

प्रकाशित मितिः   २८ भाद्र २०८१, शुक्रबार ०५:०१