बजेटको व्यवस्थापन

वीरेन्द्रनगर सिटी हल (सभागृह) निर्माणको दोस्रो चरणको काम अन्योलमा परेको छ । सरकारले चालु आर्थिक वर्षमा बजेट विनियोजन गरेको छैन । बजेटको स्रोत सुनिश्चित नहुँदा सिटी हल निर्माणको बाँकी काम अघि बढाउन समस्या भएको हो । सर्वोच्च अदालतले यसअघि ठेक्का पाएको निर्माण कम्पनीलाई कामको भुक्तानी दिन अन्तिरिम आदेश दिएसँगै नयाँ ठेक्का सम्झौताको बाटो खुलेको छ । २०८० चैत २० गते सम्झौता रद्द भएको निर्माण कम्पनीले गरेको कामको मूल्यांकनका आधारमा भुक्तानी दिन सर्वोच्चले भनेको छ । चालु आर्थिक वर्षमा बजेट विनियोजन नहुँदा कामको भुक्तानी दिन र नयाँ ठेक्का सम्झौताको काम अघि बढाउन नसकिएको भवन डिभिजन कार्यालय सुर्खेतले जनाएको छ ।

यसअघि नक्कली कागजपत्र पेस गरेर ठेक्का पाएको निर्माण कम्पनीसँग सम्झौता रद्द गरिएको छ । सर्वोचले समेत काम अघि बढाउन मार्गप्रशस्त गरिसकेको छ । जसअनुसार २०८० चैत २० गते, ठेक्का रद्द भएको निर्माण कम्पनीको कामका आधारमा भुक्तानी दिने र नयाँ ठेक्का सम्झौता गरी काम अघि बढाउने तयारी गरिएके छ । २०७८ मा मजदुर पी.एस जेभी सुर्खेतले दोस्रो चरणको कामका लागि चार करोडमा ठेक्का सम्झौता गरेको थियो । २०७९ असारसम्म निर्माण सम्पन्न गर्नेगरी जिम्मा पाएको कम्पनीको कागजपत्र नक्कली भएका पाइएपछि उक्त ठेक्का रद्द गरिएको हो । सहरी विकास तथा भवन डिभिजन कार्यालय सुर्खेतले २०८० भदौमा ठेक्का तोडेको हो । ठेक्का रद्द गरिएपछि बाँकी रहेको काम अलपत्र परेको छ । चालु आर्थिक वर्षमा सरकारले बजेट नै विनियोजन नगरेपछि निर्माण कम्पनीले भुक्तानी पाएको छैन भने नयाँ ठेक्का सम्झौता गरेर काम अघि बढाउन सकिएको छैन । गत आर्थिक वर्षमा भने बजेट विनियोजन भएको थियो । काम नभएको भन्दै भवन डिभिजन कार्यालय सुर्खेतले सर्वोच्चको फैसला हुनु अगाडि नै बजेट विभागमा फिर्ता पठाएको थियो । गत वर्ष तीन करोड ७५ लाख बजेट फ्रिज गएको हो ।

ठेक्का तोडिएको एक वर्ष बितिसक्दा समेत नयाँ प्रक्रिया अघि बढ्न सकेको छैन । सम्झौता रद्द हुनुअघि उक्त कम्पनीले ५५ प्रतिशत काम भने गरिसकेको छ । यद्यपि, कम्पनी कालोसूचिमा परेका कारण रकम भुक्तानी लिएको छैन । अहिले सर्वोच्चले निर्माण कम्पनीले गरेको कामको भुक्तानी पाउनुपर्ने निर्णय गरिसकेको छ । यसअघि निर्माण कम्पनीको कार्यसम्पादन जमानतसमेत कार्यालयको खातामा तानिएको छ । फर्जी कागजपत्र पेस भएकाले अहिलेसम्म एक रूपैयाँसमेत कम्पनीले पाएको छैन । कम्पनीले करिब तीन करोड बराबरको काम गरिसकेको छ । अहिले दोस्रो चरणको काम अलपत्र परेको छ ।

प्रकाशित मितिः   २८ भाद्र २०८१, शुक्रबार ०५:०३