केन्द्रलाई सिद्धार्थको सहयोग

साझा बिसौनी संवाददाता
सुर्खेत, १५ माघ । 
सिद्धार्थ सञ्चार सहकारी संस्थाले आफ्नो आठौं वार्षिक साधारणसभाको अवसरमा वीरेन्द्रनगर–१६ मा रहेको नवजीवन बाल संरक्षण केन्द्रलाई सहयोग गरेको छ । केन्द्रमा रहेका बालबालिकालाई  मनोरञ्जनका लागि टेलिभिजन र कापीकलम उपहार दिइएको हो ।
दिवसको अवसरमा सहकारीका अध्यक्ष दीपबहादुर रानाले बाल केन्द्रका संरक्षक मोहनदास गुरूङ्गलाई उक्त सहयोग सामग्री हस्तान्तरण गरेका हुन् । सहकारीका पदाधिकारी, जिल्लास्थित सञ्चारकर्मीहरू बाल केन्द्रमा नै पुगेर उक्त सहयोग सामग्री प्रदान गरिएको थियो । करिब १८ हजार नौ सय ८५ रूपैयाँ बराबरको एलइडी टेलिभिजन प्रदान गरिएको छ । अध्यक्ष रानाले सहयोग सामग्री प्रदान गर्दै शुक्रवारदेखि सञ्चार सहकारीबाट सञ्चालित सिद्धार्थ केबुलको एकलाइन बाल केन्द्रको लागि निःशुल्क प्रदान गरेको घोषणा समेत गरे ।
सञ्चार सहकारी आफैमा सामाजिक संस्था भएकोले समाजिक दायित्व निर्वाह गर्नका लागि केन्द्रलाई सहयोग गरेको अध्यक्ष रानाले बताए । रानाले असहाय बालबालिकाको लागि केन्द्रले गरिरहेको अथक प्रयासमा आफूहरूको सानो सहयोगले पनि टेवा मिल्नसक्छ भनेर सहयोग गरेको उनको भनाइ थियो । ‘सञ्चारले यस कार्यबाट सामाजिक सहयोगको कामको सुरुवात गरेको छ’ उनले भने, ‘आगामी दिनमा पनि सहकारीले यस्ता सामाजिक कार्यलाई निरन्तरता दिदैं जानेछ ।’ एउटा कोठाभित्र बसेर स्थापना दिवस मनाउने खर्चले यस्ता थुप्रै पे्ररणादायी काम बन्ने भन्दै उनले आगामी दिनमा यसको निरन्तरता दिने प्रतिबद्धता जनाए । सबैले यस्ता सहयोगी संस्थालाई सहयोग गरी मानवताको कर्तव्य निर्वाह गनुपर्नेमा जोड दिए । उनले समाजिक क्षेत्रमा पनि विकास गर्नको लागि सहकारीले यस्ता थुप्रै कार्यक्रमहरू गर्ने जानकारी दिए । प्रत्येक वर्ष असहाय बालबालिका, बिरामी र ज्येष्ठ नागरिकहरूका लागि संस्थाले विभिन्न खाले सहयोग गर्दै जाने उनले दाबी गरे ।
बालकेन्द्रका संरक्षक मोहनदास गुरूङ्गले सहकारीले बालबालिकाको सहयोगार्थ टेलिभिजन र स्टेशनरी सामग्री प्रदान गरेकोमा धन्यवाद दिए ।
प्रकाशित मितिः   १६ माघ २०७२, शनिबार ११:३६