सात वटै प्रदेशमा एकैदिन निर्वाचन हुन्छ : आयुक्त शाह
सुर्खेत, २८ चैत । निर्वाचन आयोगको निर्वाचन आयुक्त सुधिरकुमार शाहले आउँदो वैशाख ३१ गतते सात वटै प्रदेशमा निर्वाचन सम्पन्न हुने दावी गरेका छन् । सोमवार सुर्खेतमा निर्वाचन व्यवस्थापन तथा सञ्चालन विषयक क्षेत्रीय प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
निर्वाचन आयोगले गृह मन्त्रालय र चारवटै सुरक्षा निकायसँग समन्वय गरेर सुरक्षा योजना निर्माण गरिसकेको भन्दै शाहले सुरक्षाका वहानामा निर्वाचन प्रभावित नहुने बताए । उनले प्रदेश नम्बर २ को सुरक्षास्थिति पनि नियन्त्रणभित्र रहेको बताए । उनले २०७४ वैशाख ३१ गते सात वटै प्रदेशमा एकै दिन एकै चरणमा चुनाव सम्पन्न हुने जिकिर गरे ।
निर्वाचन अयोग सबै स्थानमा एकैपटक निर्वाचन गराउन कटिवद्ध रहेको पनि उनको भनाइ थियो । सुरक्षा, व्यवभार, समय लगायतका सबै कारणले गर्दा देशभर एकैपटक निर्वाचन सम्पन्न गर्नुपर्ने उनको भनाइ छ । उनले प्रदेश नम्बर २ मा थप सुरक्षाकर्मी परिचालन गरेर भएपनि निर्वाचन सम्पन्न गरेरै छोड्ने दावी गरे ।
जिल्ला निर्वाचन कार्यालय सुर्खेतको संयोजनमा आयोजित प्रदेशस्तरको प्रशिक्षणमा १० जिल्लाका ८१ जना जिल्ला निर्वाचन अधिकृत र मतदान अधिकृतहरुको सहभागिता रहेको छ । प्रशिक्षण दुई चल्ने जनाइएको छ । यो प्रशिक्षणपछि हरेक जिल्लामा जिल्लास्तरीय प्रशिक्षण सञ्चालन गरिने बताइएको छ ।
प्रकाशित मितिः २८ चैत्र २०७३, सोमबार १३:३०
साझा बिसौनी ।