सेनाले गर्यो तीन अर्ब लगानी
सुर्खेत, २६ चैत ।
नेपाली सेनाले आफ्ना पूर्व सहकर्मी तथा योद्धाहरूलाई स्वरोजगार बनाउन करिब तीन अर्ब रूपैयाँ लगानी गरेको छ । उक्त लगानीले हालसम्म १७ हजार पूर्व सैनिक स्वरोजगार बनेका छन् । सेनाले थप लगानी वृद्धि गर्दै आगामी दिनमा २५ हजार पूर्व सैनिकलाई स्वरोजगार बनाउने लक्ष्य लिएको हो ।
सेनामा कार्य गरेर अवकास पाएका भूतपूर्व सैनिकलाई आत्मनिर्भर बनाउनका लागि लघुवित्त कार्यक्रममार्फत् नेपाली सेनाले लगानी प्रवाह गर्दै आएको छ । अबको केही वर्षमा लगानी वृद्धि गरेर त्यसबाट करिब २५ हजार पूर्व सैनिकलाई स्वरोजगार बनाउने गरी तयारी भइरहेको सेनाले जानकारी दिएको हो । सैनिक कल्याणकारी बोर्डमार्फत् हालसम्म दुई अर्ब ७५ करोड रूपैयाँ लगानी भइसकेको छ । यो रकम आय–आर्जनका लागि सहुलियतमा पूर्व सैनिकलाई ऋण स्वरूप प्रदान गरिएको हो ।
उक्त रकम लिएर पूर्व सैनिक र तिनका परिवारले आय–आर्जनमा लगानी गरेका छन् । हालसम्म १७ हजार पूर्व सैनिकका परिवारले विभिन्न व्यवसाय गरेर स्वरोजगार बनेको सेनाको भनाइ छ । सेवामा रहँदाको सीप र ज्ञान अवकासपछि काम नलाग्ने तथा पेन्सनले मात्र जीविका चलाउन मुस्किल भइरहेको गुनासो पूर्व सैनिकहरूले गरेपछि उनीहरूलाई आत्मनिर्भर बनाउन यो रकम लगानी गरिएको हो । सेनाले सुर्खेतमा शनिवार भूपू सैनिकहरूको मध्यपश्चिम क्षेत्रीय सम्मेलन सम्पन्न गरेर थप रकम लगानी गर्ने आश्वासन दिएको हो । सैनिक कल्याणकारी बोर्डका कार्यकारी अधिकृत चित्रबहादुर गरुङ्गले लघुवित्त कार्यक्रममार्फत् १७ हजार पूर्व सैनिक स्वरोजगार बनेको जानकारी दिए । साथै उनले यो संख्या अबको केही वर्षभित्र बढेर २५ हजार पुग्ने बताए ।
भूपू सैनिकलाई आत्मनिर्भर तथा स्वरोजगार बनाउनका लागि लगानी भइरहेको भन्दै उनले अब कोही पनि पूर्वसैनिकले अवकाशपछि आर्थिक समस्या झेल्नु नपर्ने दाबी गरे । पूर्व सैनिकलाई विभिन्न सीपमूलक तालिम सिक्न, कृषि तथा पशुपालन गर्न र अन्य व्यवसाय गर्नका लागि बोर्डले बैंकमार्फत् सहुलीयतमा ऋण प्रवाह गर्दै आएको छ । लगानी नभएकै कारण पूर्व सैनिकका परिवारहरूलाई जीविकोपार्जनमा समस्या भइरहेकाले आफूहरूले यस्तो योजना अगाडि सारेको नेपाली सेनाको भनाइ छ । सेनाका अनुसार हाल कोषमा ३६ अर्ब चार करोड २८ लाख ९३ हजार रकम रहेको छ । यो रकम पूर्व सैनिक र तिनका परिवारको आय–आर्जन तथा आत्मनिर्भर बनाउने काममा लगानी हुने बताइएको छ ।
भूपू सैनिकको मध्यपश्चिम क्षेत्रीय सम्मेलनको शनिवार वीरेन्द्रनगरमा समापन गर्दै प्रधान सेनापति राजेन्द्र क्षेत्रीले भूपू सैनिकहरूले सेवामा रहँदा पु¥याएको योगदानलाई सम्मान गर्न आफूहरूले कुनै कसर बाँकी नराख्ने बताए । त्यही योगदानको कदर गर्दै नेपाली सेनाले स्वरोजगार योजना अगाडि सारेको उनको भनाइ छ । राष्ट्रको सुरक्षाका लागि सेवामा रहँदा रगत र पसिना बगाएका सैनिकहरूको अवकाशपछिको सेवामा सेना जुटेको प्रधान सेनापतिको भनाइ छ । ‘सेवामा रहँदा देशका लागि भूपूहरूले रगत बगाए, परिवार नै त्यागेर सेवा गरे’ प्रधान सेनापति क्षेत्रीले भने, ‘अब हामीले उहाँहरूको सेवा गर्नु आवश्यक छ, पेन्सनले मात्र परिवारको खर्च चल्ने अवस्था छैन । हामीले सहुलियतमा ऋण प्रवाह गरेका छौं, तपाईंहरूले यसको सही सदुपयोग गरेर लाभ लिनुहोला ।’ सम्मेलनबाट आएका सुझावका आधारमा नै अबका दिनमा सेना अगाडि बढ्ने प्रतिबद्धता प्रधान सेनापति क्षेत्रीले व्यक्त गरे ।
उनले थपे, ‘भूपूहरूको रगत र पसिना खेर जाने छैन, उहाँहरूको राज्यले उचित मूल्यांकन गर्नेछ । त्यसका लागि हामीले कल्याणकारी बोर्डमार्फत् भूपूहरूलाई आत्मनिर्भर बनाउन ऋण लगानी गरिरहेका छौं, आगामी दिनमा लगानी बढाउँदै जानेछौं ।’ देशका सबै भूतपूर्व सैनिकहरूलाई स्वरोजगार र आत्मनिर्भर बनाउने योजना रहेको उनले जानकारी दिए । सेनाले लघुवित्तमार्फत् पूर्व सैनिक, उनीहरूका आफन्त र वहालवाला सैनिकलाई पनि आय–आर्जनका लागि भन्दै ऋण उपलब्ध गराउँदै आएको हो । सम्मेलनमा पूर्व सैनिकहरूले सेनामा जागिर खाँदा सिकेको सीप समुदायमा फर्कदा काम नलाग्ने र आफूहरूलाई जिविकोपार्जनमा समस्या हुने गरेको दुखेसो पोखेका थिए । साथै उनीहरूले लघुवित्तले आफूहरूलाई आत्मनिर्भर बनाउन सहयोग पुगेको भन्दै खुशी व्यक्त गरे । सम्मेलनमा यस क्षेत्रमा रहेका अवकास प्राप्त भूतपूर्व सैनिक र तिनका परिवारका सदस्यहरूको सहभागिता थियो । सो अवसरमा भूतपूर्व सैनिकहरूले पेन्सनको भरमा मात्र परिवार पाल्न कठिन भएको भन्दै रोजगारमूलक तथा आय–आर्जन गर्न सकिने सीप तथा व्यवसायमा लगानी गर्न सेनालाई आग्रह गरेका थिए । आफूहरूले विगतमा गरेको योगदानको उचित मूल्यांकन भएको र आय–आर्जनका लागि थप लगानी विस्तार गर्न उनीहरूले मागसमेत गरे । सेनाले नेपाल इन्भेष्टमेण्ट बैंकको सहकार्यमा कर्जा प्रवाह भइरहेको र लघुवित्त कार्यक्रम लोकप्रिय बन्दै गएको दाबी गरेको छ ।
साझा बिसौनी संवाददाता ।