‘वीरेन्द्रनगरलाई उप–महानगर बनाउनुपर्छ’
सुर्खेत, २६ चैत । (साबिस)
नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा. बाबुराम भट्टराईले हाल निर्धारण गरिएको स्थानीय तहको संरचना आधारहीन भएको बताएका छन् । साथै यो पुनर्संरचनाले सुर्खेतलाई उपेक्षा गरेको उनको भनाइ छ । सम्भावना र पूर्वाधार भएर पनि वीरेन्द्रनगरलाई उप–महानगरपालिका नबनाएको भन्दै उनले अहिलेको सीमांकन अवैज्ञानिक भएको बताए ।
स्थानीय तहको सीमांकन अवैज्ञानिक रहेको भन्दै उनले यसको पुनर्निर्धारण हुनुपर्ने बताएका हुन् । कर्णालीका जिल्लामा पार्टीको कार्यक्रममा सहभागी भएर फिर्ता हुनेक्रममा शनिवार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा नेता भट्टराईले यस्तो बताएका हुन् । प्रदेश नम्बर ६ को केन्द्र वीरेन्द्रनगरलाई कुनै पनि हालतमा अब उप–महानगरपालिका बनाउनुपर्ने उनको भनाइ छ । उप–महानगर हुनका लागि वीरेन्द्रनगरसँग सबै आधारहरू रहेको भन्दै उनले यसतर्फ पहल हुनुपर्ने उल्लेख गरे ।
यस्तै भट्टराईले कर्णाली विकास आयोग पुनर्गठन गर्नुपर्ने बताए । कर्णालीको अवस्था दयनीय रहेको भन्दै उनले आयोगको पुनर्गठन गरेर विकासलाई तीव्रता दिनुपर्ने जनाए । राज्यले नै कर्णालीलाई अब हेर्ने दृष्टीकोणमा परिवर्तन आवश्यक रहेको उनको भनाइ छ । फरक प्रसंगमा आफ्नो पार्टीलाई चुनाव चिन्ह उपलब्ध नगराइएको भन्दै उनले वर्तमान सरकारलाई आफूहरूले घुँडा टेकाउने र चुनाव चिन्ह आँखा लिएर निर्वाचनमा भाग लिने बताए । लोकतन्त्रको चर्को वकालत गर्नेहरूले आफूहरूलाई जनताबाट अनुमोदन हुन नदिने षड्यन्त्र गरेको उनको भनाइ
छ । चुनाव चिन्ह प्राप्तीका लागि आफूहरूले संघर्ष गरिरहेको र केही दिनमा आफ्नो पार्टीले चुनाव चिन्ह आँखा नै पाउने दाबी गरे । ‘वर्तमान सरकार निरकुंश बन्दै गएको छ, ठूला दलहरू तानाशाह बन्ने दाउमा छन्’ उनले भने,‘लोकतन्त्रमा सबैले जनताको बीचमा जान पाउनुपर्दछ, हामी पनि जनताबाट अनुमोदित हुन चाहन्छौं । अब हामीलाई निर्वाचनमा जान कसैले पनि रोक्न सक्दैन, प्रचण्ड सरकारलाई आन्दोलनबाट धुलो चटाएरै चुनाव चिन्ह आँखा लिनेछौं ।’ देशमा जारी राजनीतिक संकट समाधानका लागि तोकिएकै मितिमा चुनाव सम्पन्न हुनुपर्ने उनको भनाइ ।
साझा बिसौनी संवाददाता ।