को हो ठूलो ?

हाम्रो नेपाली समाजमा चलिसकेको अर्को पक्ष छ, ठूलोपन्थी । मानिस ठूलो हुनै लागि जन्मिएको हो । शारीरिक वृद्धि विकासपश्चात्को मानसिक वृद्धि विकास अनी फेरि मानवको सामाजिक वृद्धि विकासमा रहेको ठूलो हुने चाहना । अर्थात् ठूलोपन्थी । यहाँ सबैलाई ठूलो हुनु छ । चाहे त्यो शारीरिक पविर्तनका कुरा होस् या चाहे त्यो समाजमा खोजिएको ठूलोपन्थीकै कुरा किन नहोस् । यही नै हो हाम्रो सामाजिक धारणा । यही नै हो हाम्रो नेपाली मानसिकता । यस्तै छौं हामी । हामी सबै ठूला । यसलाई सकारात्मक पाटोको रूपमा लिने कि सामाजिक कु–संस्कृति । सामाजिक परिवेश पश्चात्को मानसिकताबाटै हामी ठूलोपन्थीलाई वर्गीकरण गर्नसक्छौं । कोही यसलाई के सुनाउँछन्, कोही के परिभाषित गर्ने गर्दछन् ।
अब समाजमा, घर बनाउने मिस्त्री ठूलो कि घर मालिक ? गाडीको चालक ठूलो कि गाडी मालिक ? उदाहरणहरू प्रशस्तै छन् । तर विशेषतः ठूलो कसलाई भन्ने ? कोही बलको घमण्डले आफूलाई ठूलो सुनाउँछन्, कोही धनको घमण्डले । समाजमा दुई चार पैसा हुँदैमा, सफा कपडा लगाएर मानिस शिल गरिएको पानी माग गर्दै मानिस आफूलाई ठूलो परिभाषित गरिरहेको छ । त्यो कत्तिको जाएज ? यसलाई कहीं कतै कोही आडम्बरी पन पनि स्वीकार्ने गर्छन् । यो पक्ष आडम्बरी पक्ष नै हो । ऊ ठूलो होइन आडम्बरी हो । गरीब राष्ट्रको सूचिमा रहेर पनि आफूलाई ठूलो देखाउन समाजमा भ्रम सिर्जना गर्ने आडम्बरी, ठूलो मान्छे । यही सन्दर्भमा एउटा भनाइ छ । भनिन्छ नि, सारा झुपडीहरूको बीचमा एउटा महल मालिक भन्दा महलहरूको बीचमा झुपडी मालिक ठूलो हो । यसलाई हामी जसरी पनि अर्थ लगाउन सक्छौं । उक्त देशको परिस्थिति तथा त्यहाँका नागरिकहरूको विचार, उनीहरूको जीवनशैली अनि उनीहरूको स्वतन्त्रता । यसैले हाम्रो समाजलाई विश्वसामु एउटा भिन्दै रूप दिइरहेको छ । आणविक हतियारको कुरा चलिरहेको विश्वमा यही ठूलोपन्थीको कारण नै हामी आज पानी तथा बिजुली बत्ती जस्ता सामान्य कुराहरूको लागि झगडा गरिरहेका छौं । माग गरिरहेका पनि छौं तर उपलब्धता ? पर्याप्त छैन ।
अर्को कुरा, ज्ञानको । शास्त्रमा पनि उल्लेख छ, जुन ज्ञानले सकारात्मक समाज परिवर्तनको भावना लिएको हुँदैन त्यो व्यर्थ छ । अनि हामी समाजमा फेरि आफूलाई यति पढेको, उति पढेको सुनाउँदै देखाउँदै ठूलोपन्थीको लहरमा राखिरहेका छौं । आखिर किन ? के अर्थ त्यो ज्ञानको जसले घरमा काम गर्न आएको कामदारसँग राम्रो व्यवहार गर्न सिकाउँदैन । के अर्थ त्यो ज्ञानको जसले, टोलमा बनिरहेको कुलो समयमा नबन्दा औंला उठाउन सक्दैन । के अर्थ त्यो ज्ञानको जसले आफूलगायत अन्यको प्रतिभाहरूलाई प्रस्फुटन गर्न मद्दत गर्दैन । र अन्तमा के अर्थ त्यो ज्ञानको जसले सकारात्मक समाज निर्माणको भूमिका खेल्दैन । आखिर ज्ञान व्यवहार परिवर्तनको कुरा हो । जीवनशैली परिवर्तनको कुरा हो । ज्ञान आर्जनको निहुँ पश्चात् जागिर हुँदै सफा कपडा धारण गरेर मिनिरल वाटर खाँदै आफूलाई
सामाजिक ठूलोपन्थीको लाइनमा अड्याउनुलाई ज्ञानी भनि कसरी परिभाषित गर्ने ? ज्ञानी त सहयोगी हुन्छ, ज्ञानी
आफू तर परेर पनि अरुलाई माथि धकल्न खोजिरहन्छ । ज्ञानी समान व्यवहार गर्नमा माहिर हुन्छ । ज्ञानी कामलाई जहिले पनि सम्मान गर्छ । ज्ञानी समाज परिवर्तनको धारणा बोकेको हुन्छ ।
म, हामी र सबैमा यही ठूलोपन्थीको कारण हामी आफ्नो स्थान यही समाज बनाइरहेका छौं । हाम्रो परिवेश तथा हाम्रो सन्दर्भमा अरु कसैलाई दोष दिने अवस्था छैन । वर्तमान समाजको अवस्था हाम्रै कारण हाम्रै कारण भएको हो । खराबी हामीमा छ, हाम्रो ठूलोपन्थीमा छ । हाम्रो सामाजिक दायित्वमा हाम्रो समाजमा रहेको यही ठूलोपन्थीले बली बढी नै नकारकात्मक भूमिका खेलिरहेको छ । सुर्खेतको सन्र्दभमा रहेर एउटा घटनाको वर्गीकरण गरौं । चेतन पुरी । अस्वभाविक रूपमा उनको मृत्यु भएको घटनाले सारा सुर्खेत शोखमा डुब्यो । मोटरसाइकल दुर्घटनाका कारण उनको ज्यान गयो । दोषीलाई कारबाही तथा परिवारलाई उचित क्षतिपूर्ती, त्यसको पनि आफ्नो स्थान छ । मानिसको परिवारलाई केही आर्थिक सहयोग दिँदैमा ज्यानसँग आर्थिक साट्न वा तुुलना गर्न सकिदैन । तर हामी त्यही नै गरिरहेका त छौं नि ? समाजमा हरेक प्रकारका घटना हुन्छन् । बलात्कार, झै–झगडा तथा ज्यान जाने किसिमका घटनाहरू । मानसिक तनावका घटनाहरू । अनि कानुन पनि यसलाई छिनोफानोको लागि केही आर्थिक धरौटी जसलाई क्षतिपूर्तीको रूप दिएर घटना साम्य पनि बनाउन खोजिरहेको छ । होइन र ?
अब चेतन पुरीको कुरा । के हामीले ऊ जिवित रहनेबेलासम्म उसका सकारात्मक समाज परिवर्तनका पक्षहरूलाई आत्मसात् ग¥र्यौं त ? यो पंक्तिकारको ऊ सँग कुनै संगत त भएन तर उसको बारेमा पंक्तिकारले समाजमा सुनिरहन्थ्यो । चेतल कलाकार थियो, चेतन नेता थियो, चेतन एक व्यापारी थियो र चेतन एक असल छोरा अनि साथी थियो । हरेक मानिसभित्र नकारात्मक पक्ष त रहेको नै हुन्छ, त्यो म मा पनि छ र तपाईंमा पनि छ । फरक यति मात्र हो कि हामी कतिसम्म हाम्रो नकारात्मक पक्षलाई आफूभित्रै दबाउन सक्छौं भन्ने कुरो हो । जसको कारण हाम्रो समाज हाम्रो नकारात्मक पक्षले नकारात्मक दिशातिर नजाओस् भन्ने हो । चेतनको पनि भिन्दा–भिन्दै रूप भएता पनि चेतन पनि एक सामाजिक व्यक्ति हो । अभियन्ता हो । जसका क्रियाकलापले सकाजलाई सकारात्मक बाटोमा लगेका थिए र थप लग्न पनि सक्थे । उसका योजनाहरू सक्षम र आत्मविश्वासी थिए । मृत्यु पश्चात् फेसबुकमा पोष्टिनुको साटो उसको जीवन रहनुञ्जेल उसलाई सहयोग अथवा उसका योजनाहरूमा आत्मबल प्रदान गरिएको भए आज समाज उत्तरोत्तरमा थप सघाउ पुग्ने थियो ।
चेतन पुरीको मृत्यु पश्चात् हामीले हाम्रो दायित्व के ठान्यौं, फेसबुकमा ऊप्रति समवेदना पोष्टिने । क्या गज्जब ? के त्यही थियो एक सामाजिक अभियान्ताको लागि हाम्रो दायित्व र हाम्रो साथ ? ऊ जीवत रहँदा हामीले उसलाई सहयोग गर्नुथियो । उसका सकारात्मक योजनाहरूलाई जिवित तुल्याउनु थियो । सायद, त्यही नै थियो हाम्रो दायित्व । र, ऊ जिवित रहँदा उसलाई हामीद्वारा प्रयाप्त सहयोग गर्न नसक्नुको कारण नै हो हाम्रो ठूलोपंक्ति । को ठूलो ? यसैमा हरायौं हामी । त्यसैमा लाग्यौं हामी तर यो ठूलोपन्थीको अन्तिम लक्ष कसैले भेटेको छैन । ठूलोपंक्ति बाहक समाजमा गुमनाम रहन्छ । हामीसँग मानवी व्यवहार छैन, हराइसक्यो । हामीसँग दायित्वका कुरा छैन, हराइसक्यो । हामी हाम्रो बारेका सोचिरहेका छैनौं, हराइसक्यो । हामी सहयोगी होइन स्वार्थी भएका छौं । सहयोगी नामको खोल ओडेर स्वार्थी । सहयोगको नाममा सय गेडा तीन ब्याज लिने हामी सहयोगी ? वा, समाज । अब यो परिस्थितिमा कसरी कसलाई ठूलो भन्ने ? किनकी ठूलो भन्नका लागि उसमा मानवता हुनुप¥र्यो, काम र समाजप्रति उसको सकारात्मक दायित्व र कर्तव्यपालन रहनुप¥यो । सहयोगी जस्ता विविध पक्षहरू ठूलोमान्छेले आत्मसात् पक्कै गरेको हुन्छ । तर समाजको यथार्थको कुरा फरक छ । ठूलो त त्यो हो जसले समाज परिवर्तनको संवाहकको रूप धारण गरेको छ, थियो । ऊ नै ठूलो हो, किनकी उसको कारण हामी आफूलाई ठूलो बनाउ खोज्दैछौं । जसले आजको यो समाज भए पनि बचाएर हाम्रो लागि पस्किएको छ, ऊ ठूलो अनि आडम्बरी हामी ठूला । तर हामी ठूलो कहिल्यै भएका छैनौं ।

प्रकाशित मितिः   २७ चैत्र २०७३, आईतवार १३:१८