खाद्यान्न पिस्नै मुस्किल, घट्टमा बस्दा महिलालाई जोखिम

जुम्ला, २५ चैत ।
आधुनिक प्रविधिको पहुँच नहुँदा कर्णालीका महिलाहरूले खाद्यान्न पिस्नका लागि सास्ती व्यहोर्नु परेको छ । अर्को विकल्प नहुँदा यहाँका महिलाहरू परम्परागत पानी घट्टमा गएर कुटानी तथा पिसानीको काम गर्दै आएका छन् । बस्तीदेखि टाढा रहेका घट्टमा एक्लै रात बिताउनुपर्ने बाध्यताले गर्दा उनीहरूले विभिन्न जोखिमहरू सहनुपरेको हो ।
पिसानीको काम गर्न गाउँदेखि टाढा जानुपर्ने र दुईदेखि तीन दिनसम्मको समय खर्चनुपर्ने बाध्यता छ । रातभर जाग्राम बसेर यहाँका महिलाहरूले घट्टमा गहुँ, मकै, जौ र कोदो पिस्ने गर्दछन् । दिउँसोमा घरको अन्य काममा व्यस्त हुने र रातीमा घट्टमा जानुपर्ने भएकाले उनीहरूले विभिन्न शारीरिक तथा मानसिक यातनाहरू भोग्दै आएका छन् । केही जिल्लामा महिलाहरूले घट्टमै बलात्कार हुनेसम्मका घटनाहरू व्यहोर्नु परेको छ ।
जुम्लामा ग्रामीण क्षेत्रमा यो समस्या ठूलो छ । जिल्लाको चन्दननाथ नगरपालिकाभित्रका महिलाहरू अहिले पनि खाद्यान्न पिस्नका लागि असुरक्षित रूपमा घट्टमा रात बिताउन बाध्य छन् । सदरमुकाममा पर्याप्त आधुनिक मिल नहुँदा खाद्यान्न पिस्नका लागि घण्टौं लामो यात्रा गरी महिलाहरू घट्टमा पुग्ने गरेका छन् । ‘गहुँ र जौ पिस्न नजिकै घट्ट छैनन्, अब नपिसेर छाक टार्न मिल्दैन’ घट्टमा जाँदै गरेकी चन्दननाथ–१० निवासी लक्ष्मी रावतले भनिन्, ‘यहाँबाट तीन घण्टा हिँडेपछि खोलामा पुगिन्छ, त्यही एउटा घट्ट छ । भनेको बेलामा पालो पनि आउँदैन, रातभरी जाग्राम बस्नु पर्दछ ।’ कर्णालीमा घरको काममा महिलाहरू नै बढी सहभागी हुने
गरेका छन् । यसकारण पनि उनीहरूले कुटानी र पिसानीको काममा व्यस्त हुनुपरेको हो ।
‘खोलामा रहेको घट्टमा कतिबेला के हुने हो थाहा हुँदैन’ लक्ष्मीले भनिन्, ‘डराइ–डराइकन रातभर एक्लै घट्टमा कुर्नुपर्छ, चोर–डाँका लाग्ने डर हुन्छ । एक्लै हुँदा त बलात्कारमा पर्ने डर हुन्छ, गाउँमै मिल भएको भए यस्तो दुःख किन हुन्थ्यो र ?’ अझै पनि पुरुषहरूले घरायसी कामकाजमा महिलाहरूलाई सघाउने गरेका छैनन् । जसका कारण महिलाहरूले नै आफ्नो ज्यान जोखिममा राखेर घट्ट कुर्नुपर्ने बाध्यता छ । यहाँका पुरुषहरू रोजगारीका लागि भारत जाने र महिलाले नै घरको काम धान्ने गर्दछन् । सदरमुकाममा रहेको एक÷दुईवटा मिलमा महिनौंसम्म पालो कुर्दा पनि खाद्यान्न नपिसिने भएपछि महिलाहरू घट्टमा बास बस्ने गरेका हुन् । ‘मिलमा फाल्दा पालो आउन महिना बढी लाग्छ,’ चन्दननाथकै लक्ष्मी देवकोटाले भनिन्, ‘त्यसैले एक दिनको काम मारेरै भए पनि टाढाको घट्टमा जानुपर्दछ ।’ अहिले पनि खाद्यान्न पिस्नेदेखि घरमा खाना बनाउनेसम्मका कामहरू महिलाहरूले नै गर्दै आएका छन् ।
नजिक पानी मिल तथा बत्ती नहुँदा असुरक्षित रूपमा खाद्यान्न पिस्न एक रात बास बस्नुपर्ने तलिउमकी एकुमाया गिरीले बताइन् । ‘नजिकमा पानी घट्ट पनि छैन, बत्ती नभएकोले मिल पनि छैन’ उनले भनिन्, ‘त्यसैले दुई घण्टा उकालो हिँडेर घट्टमा पालो कुर्दै खाद्यान्न पिस्नुपर्छ ।’ रात्रीमा खोला किनारमा एक्लै घट्टमा बास बस्नाले यसअघि पटक–पटक महिला तथा किशोरीहरू बलात्कृत भएका घटनाहरू पनि सार्वजनिक भएका छन् । तर नजिकमा सेवा सुविधाको पहुँच नहुँनाले जोखिमपूर्ण तरिकाले खाद्यान्न पिस्नुपरेको यहाँका महिलाहरू बताउँछन् । स्थानीयस्तरमा उत्पादन हुने गहुँ, जौ, मकै, कोदो लगायतका खाद्यान्न पिसेरै खाने गर्दछन् । तर घट्ट र बत्तीको सुविधा नभएका कारण कतिपयले रैथाने बालीको उपभोग समेत गर्न छोडेका छन् ।
‘बाली उत्पादन गरेर मात्रै के गर्नु ? पिसेर खानै समस्या भयो’ मालिकाठाँटाका भैरव बुढाले भने, ‘तीन घण्टा हिँडेर पनि घट्टमा पालो पाइदैन, त्यही भएर अचेल हामी चामल नै किनेर भात खान्छौं । अब बाली लगाउने दुःख को गरोस् ? रैथाने बालीको खेती हुन छोड्यो ।’ पिस्न मुस्किल भएपछि स्थानीयले स्थानीय उत्पादन गर्न छोडेका हुन् । जुम्लामा सडक पुगेसँगै ढुवानीमा सहज भएपछि चामल खरिद गरेर छाक टार्ने प्रचलन बढ्दै गएको
हो । राजनीतिक परिवर्तन भए पनि आफूहरूको जीवनशैलीमा कुनै परिवर्तन आउन नसकेको कर्णालीबासीको गुनासो छ । अहिलेसम्म खाद्यान्न पिस्ने सेवा सुविधा उपलब्ध नहुँदा यहाँका महिलाहरूले निकै जोखिमपूर्ण अवस्था झेल्दै आएका छन् ।

प्रकाशित मितिः   २६ चैत्र २०७३, शनिबार १४:५६