निर्माण व्यवसाय मर्यादित बनाउन सुझाव

सुर्खेत, २५ चैत ।
निर्माण व्यवसायलाई मर्यादित बनाउनुपर्ने सुझाव शुक्रवार वीरेन्द्रनगरमा सम्पन्न एक कार्यक्रमका सहभागीहरूले दिएका छन् । नेपाल निर्माण व्यवसायी एकता समाज सुर्खेतको १७ औं वार्षिक साधारणसभाका सहभागीहरूले यस्तो सुझाव दिएका हुन् ।
कार्यक्रममा बोल्दै नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष शरदकुमार गौचनले निर्माण व्यवसायीहरूकै अस्वस्थ प्रतिस्पर्धाले पेसा मर्यादित हुन नसकेको र काममा गुणस्तरीयता आउन नसकेको बताएका छन् । उनले साना कामहरू साना निर्माण व्यवसायीहरूलाई दिनुपर्ने आफूहरूको माग रहेको भन्दै उपभोक्ताहरूलाई दिइने काम रोक्न सरकारसँग आग्रह गरिएको जनाए ।
सबैभन्दा न्यून रकम हाल्नेलाई टेण्डर दिने सरकारको नीतिले व्यवसायीहरू समस्यामा परेको भन्दै उनले क्षमता र दक्षताका आधारमा काम दिनुपर्ने सुझाव दिए । राम्रो काम गर्नेलाई पुरस्कृत र काम नगर्नेलाई दण्ड दिने प्रावधान नहुँदा पनि निर्माण व्यवसायी पेसा सम्मानित हुन नसकेको उनले बताए ।
नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष रुद्रप्रसाद शर्माले घटेर टेण्डर हाल्नु नै विकास र प्रगतिको बाधक भएको बताए । महासंघका कोषाध्यक्ष रोशन दाहालले निर्माण व्यवसायीहरूले कुनै काममा टेण्डर हाल्दा घटेर होइन थपेर हाल्न आग्रह गरे । सुर्खेतका प्रतिष्ठित व्यवसायी एवम् सुर्खेत उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष डा. सूर्यबहादुर खड्काले काम र अवसर थुप्रै भए पनि पेसा मर्यादित हुन नसकेको बताए ।
नेपाल निर्माण व्यवसायी एकता समाज सुर्खेतका
अध्यक्ष यामबहादुर बिसीको अध्यक्षतामा भएको कार्यक्रममा महासंघका पूर्व केन्द्रीय सदस्यहरू खगेन्द्र पोख्रेल, पूर्णबहादुर बस्नेत, क्षेत्रीय अध्यक्ष मोहनप्रकाश आचार्य, पूर्व अध्यक्ष डम्बरबहादुर बस्नेत, सुर्खेत उद्योग वाणिज्यका कोषाध्यक्ष दिपेन्द्र ढकाल, हेभी इक्वीपमेन्टका अध्यक्ष मदन खड्का, कांग्रेस सभापति कमलराज रेग्मी, एमाले उपाध्यक्ष अमृत बिसी, राप्रपा अध्यक्ष मानबहादुर खड्का, राष्ट्रिय जनमोर्चाका विष्णु शर्मा, एकता समाजका निवर्तमान अध्यक्ष जनक रावल लगायतले शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा महासचिव हर्षविक्रम खड्काले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । सोही अवसरमा निर्माण व्यवसायको क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निर्माण व्यवसायीको छवि बनाउन सफल सुर्खेतका प्रतिष्ठित व्यवसायी डा. सूर्यबहादुर खड्कालाई सम्मान गरिएको थियो ।

प्रकाशित मितिः   २६ चैत्र २०७३, शनिबार १४:५४