लक्ष्मीको आगमनसँगै भित्रियो प्रेममा खुशी

हरेक श्रीमान् श्रीमतीलाई चाहना हुन्छ कि आफ्नो जोडीले आफूले भन्दा बढी माया गरिदियोस् । प्रेमप्रकाश देवकोटाले पनि आफूले चाहेको भन्दा बढी माया श्रीमतीबाट पाए । उनलाई यति धेरै माया गर्ने श्रीमती लक्ष्मी हुन् । कुनै बेला उनीसँगै विवाह हुन्छ भन्ने कल्पना समेत नगरेका देवकोटाले लक्ष्मीलाई कसरी मन पराए थाहा नै भएन । प्रेमको दाई भाउजुको घरमा लक्ष्मी छिमेकी नाताले आउने जाने गर्थिन् । लक्ष्मीसँग उनको भेट दाईकै घरमा भएको थियो । सामान्य चिनजान थियो । बोलचाल हुन्थ्यो त्यो भन्दा बढी उनीहरूले केही सोचेको पनि थिएनन् ।
दुवैको सामान्य बोलचाल र भेटघाटले कति बेला दुवैमा एकअर्काेप्रति प्रेम बस्यो थाहा नै भएन । दुवैले एकअर्काेलाई मनमनै मन पराउन थालेका थिए । मुखले नै माया गर्छु भन्नु परेन । एकअर्काेले मन त पराए तर, भागेर विवाह गर्ने आँट दुवैमा भएन । एकअर्काेलाई मन पराएको कुरा दुवैले आ–आफ्नो घरपरिवारलाई भने पछि दुवै परिवारको सहमतिमा नै उनीहरूको २०४४ सालमा मागी विवाह भयो ।
विवाह पछि लक्ष्मीलाई छोरी र बुहारी हुनुको अनुभव खासै फरक लागेन । हुन त विवाह पछि घरमा बुहारीलाई छोरी कै माया ममता दिए पनि माइतीको अभाव खट्की रहन्छ । तर, लक्ष्मीले विवाह पछि घरमा छोरीकै माया ममता पाइन् । उनले भनिन्, ‘मलाई विवाह पछि घरमा कहिल्यै माइतीको अभाव भएन, सासुले सधैं छोरीको दर्जामा राखेर हेर्नुभयो त्यसैले पनि कहिल्यै पराइघरमा छ जस्तो लागेन ।’
पिता झक्कलाल देवकोटा र माता बालिका देवकोटाको कोखबाट २०२१ सालमा लाकुरी गाविस दैलेखमा जन्मिएका प्रेमप्रकाश देवकोटाको बाल्यकाल रमाइलोसँग नै बित्यो । बाल्यकालमा अलि बढी चकचके र चञ्चले स्वभावका थिए । विद्यालयमा पनि आफ्ना दाई–भाईलाई कसैले केही भन्ने बित्तिकै जाइ लागि हाल्थे । उनले भने, ‘म अरुले अन्याय गरेको नसहने मान्छे कसैले केही भन्ने बित्तिकै साथीहरूसँग लड्न गइहाल्थे ।’ एसएलसी पास पछि प्रेमप्रकाश बहुमुखी क्यापसमा उच्च शिक्षा पढ्दा–पढ्दै पढाइ छोडेर जागिर तिर लागे । उनले विद्युत प्राधिकरण जुम्लामा जागिर गर्न थालेका थिए । उनले शिक्षक सेवाको परीक्षा पनि दिएका थिए । शिक्षक सेवामा नाम निस्केपछि उनले विद्युतको जागिर छोडेर २०४६ सालमा शिक्षक पेसामा आवद्ध भए ।
सरस्वती प्रावि गरगरेबाट शिक्षक पेसा सुरु गरेका देवकोटाले एक वर्ष करेखोलाको विद्यालयमा पढाए । २०५० सालदेखि जनता प्रावि विद्यालय खोरियामा पढाउन सुरु गरेको देवकोटा अहिले जनता प्राविकै प्राधानाध्यापकको रूपमा काम गरिरहेका छन् । उनी शिक्षक पेसामा जुन–जुन विद्यालयमा आवद्ध भए सबै विद्यालयको हकहितका लागि राम्रो काम गर्दै अगाडि बढे । उनी सफल हुनुमा लक्ष्मीको ठूलो हात रहेको छ । घर व्यवहार सम्पूर्ण राम्रोसँग सम्हाले पनि देवकोटालाई आफ्नो कामलाई सहज र इमान्दारिता पूर्वक निभाउन सजिलो भयो । उनी भन्छन्, ‘मैले त श्रीमती भाग्यले पाएको हो, उनले मलाई हरेक समयमा साथ दिँदै आइन् र आज सफल भएको छु ।’
विवाहपछि यो जोडीको कहिले काहीं सामान्य झगडा भइरहन्छ । उनीहरू भन्छन्, ‘श्रीमान् श्रीमतीको भगडा परालको आगो हो एकै छिनमा निभिहाल्छ ।’ सामान्य झगडालाई कहिल्यै ठूलो रूप दिन नहुने यो जोडीको भनाइ छ । देवकोटा लक्ष्मी भन्दा अलि बढी झनक्क रिसाउने गर्छन् । तर, लक्ष्मी केही नबोले पछि आफै एकै छिनमा शान्त भइहाल्छन् । यो जोडी एक आपसमा जति नै झगडा गरे पनि एकअर्काेको प्रशंसा भने खुलेरै गर्छन् । देवकोटालाई आफ्नो र परिवारको बढी चित्ता गर्ने लक्ष्मीको बानी मनपर्ने गर्छ । देवकोटा भन्छन्, ‘उनको अर्काे कहिल्यै पनि घमण्ड नगर्ने बानी मनपर्ने गर्छ ।’
त्यस्तै लक्ष्मीलाई देवकोटाको घर बाहिर गएपछि समयमा घर फर्केने बानी मनपर्छ । कहिले काहीं अलि बढी झनक्क रिसाउने बानी भने लक्ष्मीलाई अलि मन पर्दैन । उनले भनिन्, ‘अरु सबै बानी राम्रो छ कहिले काहीं अलि बढी रिसाउनु हुन्छ त्यो बानी चाहिँ हटाइदिएको भए हुन्थ्यो जस्तो लाग्छ ।’
विवाहको सुरुका दिनमा जन्मदिन र विवाह वर्ष नमनाएका यो जोडी अहिले भने एकअर्काेको जन्मदिन आउँदा र विवाह वर्ष आउँदा एकअर्काेलाई गिफ्ट पनि दिने गर्छन् । गिफ्न दिन नसकेको समयमा मनपर्ने चिज किन्नु भन्दै पैसा नै दिने गर्छन् । देवकोटाले लक्ष्मीलाई घरको काममा फुर्सद भएसम्म सघाउने गर्छन् ।
पिता हरिबहादुर खत्री र माता जमुना खत्रीको कोखबाट २०२३ सालमा जुम्लामा जन्मिएकी लक्ष्मीको बाल्यकाल रमाइलोसँग नै बित्यो । उनको बुबाको जागिर जुम्ला भएका कारण उनी जुम्ला जन्मिएकी थिइन् । उनी बाल्यकालमा शान्त स्वभावकी थिइन् । साथीहरू एक आपसमा झगडा गर्दा पनि उनी नजिकै पर्न डराउँथिन् । बाल्यकालमा दुई चार जनाको अगाडि बोल्न डराउने लक्ष्मी अहिले सिर्जनशील टोल विकास संस्थाको अध्यक्ष र वडा नागरिक मञ्चको सदस्य भएर काम गरिरहेकी छिन् ।
यो जोडीका अनुसार दाम्पत्य जीवन सफल बनाउन एकअर्काेमा दरिलो विश्वास हुनुपर्छ । एकअर्काेमा जबसम्म विश्वास हुँदैन तबसम्म दाम्पत्य जीवन सफल र सुखमय हुन सक्दैन । एकअर्काको भावना बुझेर कदर गर्नसकेमा मात्र सम्बन्ध दिगो हुने उनीहरूको भनाइ छ । उनीहरूको अनुसार प्रेम भनेको सबैले सबैलाई गरिन्छ, मान्छेदेखि वस्तुलाई समेत प्रेम गरिन्छ । विवाह एउटा व्यक्तिसँग मात्र गरिन्छ जो सामाजिक बन्धन पनि हो ।