अन्वेषणमा ढिलाइ

दैलेखमा पेट्रोलियम पदार्थ पत्ता लगाउन अन्तिम चरणको ‘ड्रिलिङ’ को काम धमाधम भइरहेको छ । वैशाख २३ गतेदेखि अन्तिम चरणको ‘ड्रिलिङ’ को काम सुरु गरिएको हो । मेसिनले जमिन मुनिसम्म खनेर पेट्रोलियम पदार्थ भए/नभएको पुष्टि गर्न लागिएको छ । अहिले अन्तिम चरणको ‘ड्रिलिङ’ को काम भइरहेको हो । हालसम्म पेट्रोलियम अन्वेषणअन्तर्गत ‘ड्रिलिङ’ गर्ने काम दुई हजार २० मिटर गहिराइसम्म पुगेको छ । अझै ‘ड्रिलिङ’ को काम सक्न साढे दुई महिना लाग्ने जनाइएको छ । आयोजनामा चार हजार पाँच सय मिटरसम्म गहिराइ ड्रिलिङ गरी अन्वेषणको काम हुनेछ । त्यसपछि उक्त स्थानमा पेट्रोलियम पदार्थको भण्डार कति छ र त्यसको उत्खनन् सम्भावनाबारे अध्ययन गरिने छ ।

सरकारले चालु आर्थिक वर्ष २०८१/८२ भित्रै पेट्रोलियम पदार्थ अन्वेषणको काम सक्ने लक्ष्य राखेको छ । सोही लक्ष्य अनुरूप काम भइरहेको छ । चिनियाँ सरकारको सहयोगमा पेट्रोलियम पदार्थ अन्वेषणको काम सुरु भएको हो । दैलेखको भैरवी गाउँपालिका वडा नं. १ जलजलेमा अन्वेषण साइट छनोट भएको छ । अन्तिम चरणको अन्वेषण गरेपछि दैलेखमा पेट्रोलियम खानीको अवस्था र व्यावसायिक उत्खनन् सम्भावनाको टुँगो लाग्ने छ । अन्तिम चरणमा हुने ‘ड्रिलिङ’ लगायतको कामपछि स्थानीय क्षेत्रमा कति पेट्रोलियम भण्डारण छ भन्ने पत्ता लाग्नेछ । अन्वेषणको प्रतिवेदनले पेट्रोलियम खानी सञ्चालन गर्न सम्भव देखाएमा उत्खनन् योजना अघि बढ्ने जनाइएको छ । अबको साढे दुई महिनामा ड्रिलिङ सक्नेगरी काम भइरहेको जनाइएको छ । चिनियाँ प्राविधिकको टोलीले २०७६ मा स्थलगत अध्ययन गरेको थियो । नेपाल र चीन सरकारबीच भएको सम्झौताअनुसार पेट्रोलियम पदार्थको अन्वेषणका लागि गरिएको सेस्मिक सर्भेको प्रतिवेदनले दैलेखमा ग्यास र पेट्रोल भएको पुष्टि गरिसकेको छ । अहिले ड्रिलिङमार्फत् पेट्रोलियम पदार्थको अन्वेषणको काम भइरहेको छ ।

२०७६ फागुनमा खानी तथा भूगर्भ विभाग र चिनियाँ सरकारको जियोलोजिकल सर्भे कम्पनीबीच दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन् गर्न दुई अर्ब ४० करोड आर्थिक तथा प्राविधिक सहयोगमा सम्झौता भएको थियो । यस समझदारी कार्यान्वयन गर्न चीन र नेपालले संयुक्त कार्ययोजना बनाएका थिए । पहिलो चरण (दश महिना) मा चीनको विज्ञ टोलीले दैलेख क्षेत्रमा भौगर्भिक तथा पेट्रोलियम सर्भेसहित दैलेखमा ड्रिलिङ साइट पहिचानको काम गर्ने समझदारी भएको थियो । दोस्रो चरणमा ड्रिल गर्ने र तेस्रो चरणमा सर्भे प्रतिवेदन बुझाउने सहमति भएको थियो । कोभिड महामारीका कारण सम्झौता अनुसार काम अगाडि बढ्न सकेन । पछिल्लो समय कामले गति लिएको हो । अहिले वर्षायामका केही दिन काम रोकिए पनि धमाधम काम भइरहेको आयोजनाले जनाएको छ ।

प्रकाशित मितिः   २३ भाद्र २०८१, आईतवार ०५:०३