बिरुवा संरक्षण योजना

रोपिएका बिरुवा संरक्षण गर्न कर्णाली प्रदेश सरकारले नयाँ कार्यक्रम ल्याएको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेटेर बिरुवा संरक्षणका लागि नयाँ कार्यक्रम ल्याएको हो । यो वर्षदेखि नयाँ कार्यक्रमको रूपमा ‘अभिवृद्धि वृक्षारोपण र संरक्षण कार्यक्रम’ सञ्चालन गर्न लागिएको हो । प्रदेशका दश वटै जिल्लाबाट कार्यक्रम कार्यान्वयन गरिनेछ । अहिले कार्यविधि निर्माणको काम भइरहेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले जनाएको छ । ‘अभिवृद्धि वृक्षारोपण र संरक्षण कार्यक्रम कार्यविधि–२०८१’ निर्माण गरेर कार्यक्रम सञ्चालन गर्न लागिएको हो । कार्यक्रमको कार्यविधि निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । कार्यविधि निर्माण गरेर आर्थिक मामिला तथा योजना मन्त्रालयमा पेस गरिएको छ । मन्त्रालयले सहमति दिएमा मन्त्रीपरिषद्को बैठकले स्वीकृति गर्नेछ ।

बिरुवा रोप्ने तर संरक्षणमा चासो नदिने गुनासो बढेको भन्दै मन्त्री अधिकारीले बिरुवा संरक्षणका लागि नयाँ कार्यक्रम राखिएको हो । बर्सेनि रूपमा बिरुवा रोप्ने गरिएता पनि संरक्षणमा भने निकै कम मात्र चासो दिने गरिएको छ । सरकारले यो वर्षदेखि बिरुवा संरक्षण गर्ने उद्देश्यले कार्यक्रम सुरु गर्न लागेको हो । उक्त कार्यक्रमका लागि यो वर्ष ९५ लाख बजेट विनियोजन गरिएको छ । नयाँ बिरुवा रोप्ने तथा रोपिएका बिरुवाको संरक्षण गर्ने जनाइएको छ । यो वर्षबाट वृक्षारोपणको कार्यक्रमलाई समेत व्यवस्थित गर्न लागिएको हो । प्रदेशका नौ वटै जिल्लाका डिभिजन वन कार्यालय र उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सुर्खेतबाट कार्यक्रम कार्यान्वयन हुनेछ । विगतका वर्षहरूमा भइरहेको कार्यक्रमलाई थप व्यवस्थित बनाउन नयाँ कार्यक्रम ल्याइएको हो । पछिल्लो समय प्रदेश सरकार बिरुवा रोप्ने र बिरुवा जोगाउने अभियानमा लागेको छ । मासिँदै गएको वन जंगलका कारण वातावरणीय असर परेको भन्दै सरकारले वृक्षारोपण र संरक्षणलाई प्राथमिकतामा राखेको हो । प्रदेश सरकारले रोपेको बिरुवाको रेखदेख र संरक्षण गर्दै आइरहेको छ । त्यसलाई व्यवस्थित गर्न नयाँ कार्यक्रम ल्याएको हो । कार्यविधि निर्माण गरेर कार्यक्रम कार्यान्वयन गर्न लागेको जनाइएको छ । बिरुवा रोप्ने तर संरक्षणमा चासो नदिएको गुनासो बढ्दै गएपछि सरकारले बिरुवा संरक्षण गर्ने रणनीति ल्याएको हो ।

हरेक वर्ष विभिन्न पर्व तथा उत्सवको अवसर छोपेर कतै न कतै बिरुवा रोपी औपचारिकता निभाउने गरिन्छ । तर, बिरुवाको संरक्षण कतै भएको छैन । जंगलको विनाशले दिनहुँ वातावरणीय समस्या देखिए पनि संरक्षणका उपाय अवलम्बन गरिएका छैनन् । वर्षको एक पटक औपचारिकताका लागि मात्र रूख रोप्ने र अर्को दिनदेखि त्यसलाई हुर्काउनतर्फ ध्यान पुगेको छैन । यसरी रोपिएका बिरुवाको अवस्थाबारे भने सबै अनभिज्ञ छन् । बिरुवा रोपेपछि कोही कसैले चासो नदिँदा यस्तो समस्या आउने गरेको हो ।

प्रकाशित मितिः   १९ भाद्र २०८१, बुधबार ०५:०३