कविता

देशको आधार

विनिता खड्का

हिमाल, पहाड, तराई हाम्रो देशको आधार
बीर हौँ हामी हट्दैनौ पछि, सहन्नौँ प्रहार
प्रकृति राम्रो, सम्पदा हाम्रो संसारभरीमा
सगरमाथा विश्वकै शीर नेपालको गरिमा

गण्डकी, कोशी, कर्णाली हेर त्यसै प्यास मेटिन्छ
कोट्याऊ थोरै पौरखी माटो सुनैसुन भेटिन्छ
बेगनास, फेवा, रारा र रूपा सबैको गौरव
संस्कृति, धर्म, इतिहास हाम्रो पुर्खाको पौरख

तिहार, दशैँ, लोसार अनि होली र क्रिसमश
दाल र भात, आटो र ढिँडो, मोहीमाथि गुन्द्रुक
सेकु र डोको, हसियाँ सानो ठेकी र मदानी
काँधको शोभा हलो र जुवा रमाइलो किसानी

पसिना रोपी उब्जेको अन्न कोदो र फापर
लालची नयन छिमेकी देशले लगाउँछन् नजर
सन्तुष्ट हुँदै अँगाल्छु मैले नेपाललाई छातिमा
नेपाली हुन पाएको गौरव छ आफै माथिमा

स्वाभिमान देशको नगुमाउन संकल्प लिनेछु
बहुप्रतिभा मभित्रको यो उपहार दिनेछु
तराईको फाँट, पहाडको खोँच, हिमाली शिखर
हिमाल, पहाड, तराई हाम्रो देशको आधार

(कवि खड्का अमरज्योति मा.वि. वीरेन्द्रनगरमा कक्षा ११ मा अध्ययनरत छिन् ।)

प्रकाशित मितिः   १५ भाद्र २०८१, शनिबार ०५:०३