कथा

नाताको उन्माद

फाइल खोलेर पढ्दै गर्दा म अचम्मित भएँ । पाना पल्टाएर फोटो हेर्दा घोर आश्चर्य बनेपछि अझ त्यसमा ध्यान केन्द्रित गर्न अरु बाँकी फाइल टेबुल छेउतिर सारेँ । यो फाइलले मनमा पुरानो घटना याद आयो र १४÷१५ वर्ष अगाडिको विगतमा पु¥यायो ।

त्यतिखेर अतिरिक्त समय कलेजमा पढाउँथे जतिखेर अपुतालीमा गद्दी पाएका नयाँ राजाको चुरिफुरी ज्यादै चुलिएको थियो । आन्दोलनपछि जनताले घृणा गरेको र खास खास दलहरूले सहमति गरेका कारणबाट श्रीपेच बुझाएर राजाले बाध्यतावश दरबार त्यागेका थिए । नयाँ शासन व्यवस्थामा देश अभ्यस्त हुँदै थियो र सबैमा नयाँ आशा पलाएको थियो ।

‘हेल्लो ! नारायण कता छौँ तिमी ?’ उत्तम दाइको फोन ।
‘दाइ नमस्कार ! म कलेजतिरै छु, किन सम्झनुभो दाइ ?’

‘कला र संस्कृतिमा खोज अनुसन्धान गर्न केन्द्रबाट सी एम भट्टको टोलि आएको रहेछ । मैले तिम्रो र हरिहरको नाम टिपाइदिएको छु है ?’
‘हजुर ! त्यहाँ मैले के गर्नुपर्ने रहेछ दाइ ?’

‘उनीहरूले पनि फोन गर्छन । मिलेर काम गर्नुपर्ने होला भन्ने लागेको छ ।’

उत्तम दाइको त्यो फोन संवादले आधा र अँधुरो जानकारी दिएको थियो । कला र संस्कृति क्षेत्रमा सिएम भट्ट पहिलो चोटि सुनेको नयाँ नाम थियो । यता संस्कृतिको जगेर्ना गर्ने बहानामा व्यापारीबाट पैसा उठाएर दुरुपयोग गरेको भनी आरोप खेपेका हरिहरसँग पनि मन पटक्कै उर्सिरहेको थिएन, काम कसरी गर्नु ! त्यसकारण मेरो उत्सुकतामा दिकदारी पनि मिसिएको थियो ।

संस्कृतिविद् सिएम भट्टजीसँग भोलि हाम्रो पहिलो मिटिङ टाकुरीको शिखर रिसोर्टमा हुनेछ भनी त्यही साँझ हरिहरको फोन आयो । टाकुरीको उच्च पहाडबाट उत्तरतिर आँखैमा आउने सेताम्मे हिमाल दक्षिणतिर होचा पहाडमा गाउँबस्ती र फाँटमा सहरको मनोरम दृश्यले जो कसैको मन खिचिन्छ । त्यसकारण पछिल्ला दिनमा टाकुरीतिर पर्यटन व्यवसाय पनि फस्टाइरहेको थियो । तर टाकुरीमा उक्लि गएर संस्कृतिको मिटिङ गर्नुपर्नुको कारण पो बुझ्न सकिरहेको थिएन ।

भोलिपल्ट शुक्रवार दिउँसो एक बजे दुई वटा जीप मेरो आँगन अगाडिको बाटोमा छेउ लागेर रोकिए । सानो एक हातेझोला समाएर पछाडिको गाडीमा चढेँ ।
‘सरसँग परिचय गरौं नारायण दाइ’ हरिहरले त्यसो भनेपछि मैले हात जोडेर आफ्नो नाम भन्दै थिएँ कि अगाडि बसेको उसले टाउको घुमाएर मुसुक्क हाँस्दै भन्यो, ‘म राम्रै चिन्छु नि नारायणजीलाई, सायद नारायणजीले पनि चिन्नुहुन्छ मलाई ।’

म ताजुबले हैरान परेँ । मेरो भाइ माधवसँंग हाइस्कुल पढेको चन्द्रमणि भट्ट एसएलसी फेल भएको आक्रोशमा स्कुलको कुर्सी टेबल तोडफोड गरेपछि प्रहरी कारबाहीमा परेको थाहा थियो । गाउँमा मन्दिर बनाउँदा ठूलो रकम हिनामिना गरेपछि फेरि प्रहरी खोरमा पुगेको पनि थाहा थियो तर कहिले कसरी संस्कृतिविद भएछ त्यो पटक्कै थाहा थिएन । आफ्नो हैरानी दबाएर बनावटी खुसी प्रकट गर्दै भनेँ, ‘चिन्छु नि सर किन नचिन्नु ! यो उचाइ प्राप्त गर्नु भएछ खुसी लाग्यो । अब हाम्रो ठाउँले पनि पालो पाउने भयो ।’
सम्बन्धित विषयमा ज्ञान हासिल गरेको विद्वान, परिपक्व उमेरको चरीत्रवान, मिजासिलो व्यक्तित्व र फरासिलो छवि होला भन्ने अड्कल अथवा संस्कृतिविद प्रतिको जे धारणा बनेको थियो सिएम भट्टलाई देखेपछि सबैथोक ध्वस्त भयो ।

संस्कृतिविद सिएमले ज्ञान र सन्देश दिइरहेको थियो भने हरिहरले होमा हो मिलाइरहेको थियो । दुवैको खुबै जोडा मिलिरहेको थियो । उत्साह र जाँगर जतिसुकै मुर्झाए पनि नगै नहुने बाध्यता जस्तै भयो । जतिसुकै दिकदार लागे पनि मिटिङका लागि आफुले डायरीमा तयार पारेको एजेन्डामाथी पुनरावलोकन गरिरहेको थिएँ । टाकुरीमा पुगेपछि ड्राइभरसहित हामी बाह्र जना सबै उत्रियौं ।

ऊनीहरुले क्यामेरा निकालेर वरिपरिको फोटो खिचे । ठाउँ ठाउँमा हामीलाई उभ्याएर पनि खिचे । चारैतिर सीसा हालेको सेतो रंगले पोतेको अग्लो भ्युटावरमा चढेर पनि त खिचियो । औंलाले पारिपट्टीको पखेरो देखाउँदै त्यसलाई चलचित्रको छायांकन स्थल निर्माण गर्ने कुरा गरे संस्कृतिविदले । तुरुन्त एकजना कर्मचारीले डायरीमा व्यहोरा टिपिहाले भने क्यामेरा हरुले पनि कोण कोणबाट पखेराको फोटो खचाखच खिचे ।

‘अगाडिको त्यो सानो डाँडो छनी ? त्यसलाई खारेर एउटा विशाल भवन बनाउनु पर्छ…।’
‘सपिङ मल ? गजब हुन्छ सर अहा !’ हरिहरले भन्यो ।

‘कहाँको सपिङ मल भनिरहेको ! आधा भागमा चलचित्रको प्रयोगशाला हुन्छ आधामा कला संस्कृतिको खोज अनुसन्धान केन्द्र हुन्छ ।’

‘आहा गजब गजब गजब !’ भन्दै सबैले ताली बजाए । डायरीमा टिप्नेले टिप्यो, क्यामेराले फोटो खिच्यो । उडन्ते कुराबाट दिक्क लागेर म तल झरेँ । माथि उनीहरू योजना तर्जुमा गर्दैमा व्यस्त थिए । चार बज्यो घाम ओरालो झ¥यो । कति बेला होला मिटिङ केही टुँगो थिएन । संस्कृतिविद्को टोलि बनेका हामी शिखर रिसोर्टमा पस्यौं । उज्यालो कोठामा दुईवटा ठूला टेबल जोडेर वरिपरी बस्यौँ ।

‘के खाउँ हँ नारायणजी ? भन्नुस न ।’
‘ओहो समय त गैसक्यो मिटिङ कतिखेर त..?’

‘सर एउटै ब्रान्ड गरौं फरक फरक नगरौँ’ मेरो प्रश्नलाई च्यापेर डायरीमा टिपोट गर्ने चाहिँले भन्यो । ‘त्यसोभए रेडलेबल नै गरौँ’ म घरीघरी अचम्ममा परिरहेँ । रक्सी खान सुरु गरेपछि काम कुरा त ओझेलमा परिहाल्यो ।

रक्सीका बोतल गिलास मासु काजु बदाम सलाद भटमास टेबलभरी प्रशस्त आयो । खान्न भनी आदर्श देखाउँदै कता जानु, खान्छु भनी धक फुकाएर कसरी खानु ! काममा चित्त बुझिरहेको थिएन । बेमतलबमा ढुकुटीको रकम यसरी खर्च हुँदा मलाई मात्रै अप्ठ्यारो लागेर के गर्नु ! त्यसमाथि घरिनाले घरीघरी फोन गरेर बोलाइ रहेकी थिइन् । कला र संस्कृतिको जगेर्नामा भासिएको छु भनेर उनीलाई कसरी सम्झाउँ !

नशा चढ्दै गएपछि संस्कृतिविदले अश्लील शब्दमा जोड दिन थाल्यो । हरिहर पनि हौसिरहेको थियो ।
‘यो तिम्रो ठाउँ हो हरि कोही कान्छीको व्यवस्था गरन यार ।’
‘त्यो यहाँ हुँदैन सर तलै झर्नुपर्छ’ मात चढिरहेको थियो ।

‘पक्का ?’
‘आइ प्रमिस सर ।’

‘एस एस भेरी गुड् । थ्यान्क्यु’ अब नशासँग अंग्रेजी भाषा पनि मिसिन थाल्यो ।

हिजो तास खेल्नेलाई मुखमा तास कोचाउने, रक्सी खानेलाई टाउकाबाट खन्याइदिने र परस्त्री ताक्नेलाई ठाउँका ठाउँ भाटे कारबाही गरेकाहरू, आज ती घृणित हर्कत आँफै दोहो¥याउँदा तिनलाई संकोच लाग्न छोडिसकेको रहेछ । नशाको भन्दा पनि माथि चढ्दोरहेछ सत्ताको आडमा उम्लने मात ।

हरिहरले दोहोरी साँझमा लैजाने बाचा गरेपछि मात्र सिएम थलाबाट उठ्यो । आठ बजे मात्र मोटर चढेर हामी झ¥यो ओरालो । उसले बाटाभरि आफ्नो दम्भ हैकम र फुर्तिको व्याख्या गरिरह्यो ।

‘ल सबैलाई शुभरात्री ! मेरो घर आयो म झर्छु’ मैले भनेँ ।
‘ए नारायण ! यो देशमा केही अप्ठ्यारो प¥यो भने मलाई एक कल फोन गर्नु । है ? केही चिन्ता नगर्नु म छु…।’
‘हुन्छ हुन्छ म फोन गर्छु ।’ म उत्रिएपछि पश्चिम मोडिएर ती गाडी ओरालो झर्दै गए ।
‘कहाँ जानुभएको दाइ आधारात सम्म ? आमा र भाउजूले गनगन गरिरहनुभाछ’ भाइले भन्यो ।
‘किन गनगन गर्नुपर्ने ? मैले खाना खाएर आउँछु भनेकै त थिएँ नि ।’
‘अलि बेलैमा आउनुपर्छ नि त… ।’

‘कहिलेकाहीँ त्यस्तै हुन्छ के माधव । परिस्थितिले पो बाध्य पारिदिन्छ । ए साँच्चै एउटा कुरा सोध्छु । पारी गाउँले भट्टको छोरो थियोेनी चन्द्रे तँसँग स्कुल पढ्ने ? त्यो लामो समयसम्म भूमिगत भएर अहिले त ठूलो पदको मान्छे भएको रहेछनी ।’

‘कहिले भएछ त्यो फटाह भूमिगत ? हामी कलेज पढ्दा त्यो बसमा खसी बोका ओसार्ने गर्थ्यो । बरु उसको भिनाजु नाता पर्ने गोपिराम शर्मा भूमिगत भएका हुन लामो समयसम्म ।’
‘ए ! गोपिरामको सालो हो त्यो ? गोपिराम त ठूलै नेता हो ।’

‘गोपिरामकी स्वास्नीकी आमा र त्यो चन्द्रेकि आमा एउटै, बा दुई वटा हुन् । भिनाको जोड बलबाट सालाले स्वार्थ भेटायो । नत्र त्यसको के त्यस्तो ल्याकत हुन्थ्यो ? योग्यताको कुरा गरौं भने कलेजको नाकमुख देखेको छैन विचरा । जति ठुलो भए पनि त्यो पित्तलमा सुनको जलप चढाएको मात्रै हो । खुइलिन्छ पछि  ।’ ‘हेर त त्यस्तो मान्छे संस्कृतिविद ! कता जाँदैछ यो देश !’

‘बोकाको मुखमा कुभिन्डो । यिनै चन्द्रमणीहरुले खाइदिन्छन भोलि यो व्यवस्था’ भाइले त्यसो भनेपछि मेरो मनमा आधा रातसम्म कुरा खेल्यो । उचित ठाउँमा अनुचित मान्छे पुगेपछि पढ्नु–नपढ्नु बीचमा अन्तर नभएपछि राम्रा छोडेर हाम्रा रोज्दै गएपछि र राजनीतिका आडमा आवाराहरुले पद फुत्काएपछि देशले कसरी सुख पाउन सक्ला ! क्रान्तिका जतिसुकै ठूला कुरा गरेपनि परिवार र नातागोताको भरणपोषणका लागि नै सत्ता चाहिएको रहेछ । त्यो कुराले मलाई रातभर घोचेर निन्द्रा पर्न दिएको थिएन । उत्तम दाइको त्यो सदासयता पनि मेरा लागि अभिशाप जस्तै बन्यो त्यतिखेर ।

फेरि मैले फाइलमै आँखा जोतेँ । मोबाइल फोनको लोकेसन, कल डिटेल, सेन्ड मेसेज, सिसीटिभी फुटेज, मेडिकल रिपोर्ट र साक्षी गवाही समेत प्रमाणको आधारमा फैसला भएको रहेछ । सबै प्रमाण फसाउने हेतुले प्रपन्च गरि जुटाइएको हो भनी इन्कार गर्ने प्रतिवादीको दाबी रहेछ । जबरजस्ती करणी गरेको ठहर सहित दोषी उपर कानुन बमोजिम सजाय तोकि सुरु अदालतले गरेको फैसलामा चित्त नबुझाइ प्रतिवादी ले पुनरावेदन गरेको रहेछ ।

नजिकैको दराज खोलेपछि मैले कालो कोट झिकेर लगाएँ । दराजको ठूलो ऐनामा हेरेँ, ऐनाको छविले मलाई त्यसरी नै एकटक हेरिरहेको थियो र आँखामा आँखा जुधाएर सदा झैँ मेरो इमानदारीको परख पनि जाँचिरहेको थियो । सरकारवादी मुद्दामा बहस गर्ने वकिल मात्र नभएर न्यायको मर्म धर्म र कर्म जोगाउन जोडजुलुम गर्ने न्यायाधिवक्ता पनि थियो त्यो छवि । त्यसकारण न्यायाधिवक्ताको गहन दाइŒव बोकि त्यो फाइल उठाएर अदालतको लागि आफ्नो अफिसबाट निस्किएँ ।

वादी–प्रतिवादी झगडियाहरु प्रहरी हिरासतमा पुगेका अभियुक्तहरु र काला कोटधारी वकिलहरुको बाक्लो उपस्थिति थियो अदालतभरी । कुनै पनि अभियुक्तलाई हत्कडी मुक्त गरेर मात्र अदालतमा पेश गर्नुपर्ने हुन्छ । अंगरक्षक झैँ दायाँबायाँ प्रहरी लागेर अदालतमा आइपुग्यो चन्द्रमणी भट्ट उर्फ सिएम भट्ट  । सत्ताको उन्मादले जतिसुकै उम्लिए पनि अपराध कसुर गर्दा कानुनको फन्दामा परेपछि मान्छे पनि रुझेको मुसोजस्तै बन्दो रहेछ । हेराहेरमा हाम्रो आँखा जुधेपछि ऊ केही बोल्न चाहन्थ्यो तर बोलेन । मैले त्यो अनुमान गरेँ । मेरो आँखामा सिधा हेर्न नसकेर नजर झुकाएपछि यस्तो लाग्यो मानौँ उसले आफ्नो अपराध कबुल गरिरहेको छ ।

-उमालाल आचार्य

प्रकाशित मितिः   १५ भाद्र २०८१, शनिबार ०५:०४