खड्का र थानीको गुट गाउँसम्मै

साझा बिसौनी संवाददाता
सुर्खेत, १५ माघ । 
नेपाली कांग्रेस सुर्खेतको राजनीतिमा सबैभन्दा बढी प्रभाव राख्ने दुई नेता हुन्, पूर्णबहादुर खड्का र हृदयराम थानी । पार्टीको सहमहामन्त्री र गृहमन्त्री समेत भइसकेका खड्का र सांसद थानीकै निर्देशनमा जिल्लाको कांग्रेस राजनीति चल्ने गरेको छ । पार्टी केन्द्रमा संस्थापन र देउवा खेमा भए जस्तै सुर्खेतमा खड्का र थानीले आ–आफ्नै गुट निर्माण गरेको बताइन्छ । 
जिल्लाका कार्यकर्ताहरू खड्का र थानी गुटमा विभाजित भएका छन् । जिल्ला नेतृत्वमा रहेका नेताहरू मात्र होइन गाउँदेखि वडासम्मका कार्यकर्ताहरू पनि यी दुई गुटमा विभाजित भएको पाइएको छ । गाउँ तथा वडा अधिवेशनमा भएको निर्वाचनले सुर्खेत कांग्रेसमा विगतदेखि नै हुँदै आएको गुटगत राजनीति थप छताछुल्ल भएको छ । पार्टीको आन्तरिक अधिवेशन भन्दै सर्वसम्मत् नेतृत्व छनौट गर्ने भनिए पनि शुक्रवार त्यसो हुन सकेन । केही गाउँ र वडामा सर्वसम्मत् नेतृत्व छनौट गरियो तर झण्डै आधा गाउँ र वडा समितिको भने निर्वाचन नै भएको छ । ४० वटा गाविस र तीन वटा नगरपालिकाका ५७ वटा वडामा शुक्रवार भएको अधिवेशनमा पनि करिब आधामा यीनै दुई खेमाबीच निर्वाचन भएको हो ।  निर्वाचनमा खड्का र थानी गुटका कार्यकर्ता प्यानल बनाएर लडेका थिए । केही स्थानमा शुक्रवार निर्वाचन हुन नसकेपछि आज (शनिवार) गर्ने तयारी गरिएको छ ।
१३ औं राष्ट्रिय महाधिवेशन नजिकिदै गर्दा त्यसअघि हुने गाउँ, नगर, क्षेत्रीय र जिल्ला अधिवेशनका लागि सुर्खेतमा वडातहसम्मका कार्यकर्ताहरू खड्का र थानी खेमामा विभाजित भएका हुन् । दुवै पक्ष जिल्ला नेतृत्व आफ्नो पोल्टामा पार्ने लक्ष्यसहित वडादेखि नै नेतृत्व ‘कब्जा’ गर्ने कसरतमा लागेका छन् । अघिल्ला अधिवेशनहरूमा सर्वसम्मत् नेतृत्व छनौट हुँदै आएका गाविस र वडामा पनि यसपटक गुटगत लडाईं भएको छ । निर्वाचनलाई लोकतान्त्रिक विधि भनिए पनि दुई वटा छुट्टा छुट्टै प्यानल बनाएर निर्वाचन लड्नुले जिल्लाको गुटगत राजनीति प्रष्टिएको कांग्रेसकै नेता तथा कार्यकर्ताहरू बताउँछन् । गाउँ तथा नगर अधिवेशनमै आफ्नो पकड जमाउन गुटगत अभ्यास सुरु भइसकेका कारण जिल्ला अधिवेशनमा पनि दुई वटा खेमा हुने करिब निश्चितप्राय छ । अघिल्ला अधिवेशनहरूमा जस्तै यसपटक पनि खड्का र थानी खेमामा कांग्रेसका जिल्ला तहका नेता तथा कार्यकर्ताहरू विभाजित भएका छन् । यो अधिवेशनलाई यीनै दुई नेताबीचको प्रतिष्ठाको लडाईंको रूपमा समेत विश्लेषण गर्ने गरिएको छ । 
यतिबेला दुवै पक्ष गाउँदेखि क्षेत्रीय र जिल्ला नेतृत्व आफ्नो पक्षमा पार्ने कसरतमा होमिएका छन् । गाउँ अधिवेशन अघिदेखि नै दुवै पक्षले जिल्ला नेतृत्वका लागि समेत उम्मेदवार तयार पारिसकेको बताइएको छ । जिल्ला सभापतिका लागि हाल आधा दर्जन बढी नेताहरूको नाम कार्यकर्तामाझ चर्चामा छ । वर्तमान कार्यवाहक सभापति उपेन्द्रबहादुर थापा, क्षेत्र नं. २ का सभापति कमलराज रेग्मी, क्षेत्र नं. ३ का सभापति यज्ञबहादुर बिसी, नेता कालीप्रसाद शाक्य, डम्मर जिसी र नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सहमहामन्त्री टोपबहादुर रावतको नाम जिल्ला सभापतिको चर्चामा छ । 
यसैबीच शुक्रवार वीरेन्द्रनगर नगरपालिका भित्रका अधिकांश वडाहरूको अधिवेशन सम्पन्न भएको छ भने केहीको आज निर्वाचन हुने समितिले जनाएको छ । यस्तै सुभाघाट– गंगामाला नगरपालिकाका सबै वडामा सर्वसम्मत् नेतृत्व चयन गरिएको र भेरीगंगामा आज अधिवेशन हुने सहायक निर्वाचन अधिकृत दुर्गाप्रसाद सापकोटाले जानकारी दिए । वीरेन्द्रनगर नगर समितिको निर्वाचन पनि आज हुँदैछ । नगर सभापतिका लागि खड्का खेमाबाट ललितबहादुर भट्टराई र थानी खेमाबाट देवकुमार सुवेदीले उम्मेदवारी दिएका छन् । 
प्रकाशित मितिः   १६ माघ २०७२, शनिबार ११:३९