सहिदप्रति सम्मान

विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि विभिन्न कार्यक्रम गरी देशभर सहिद दिवस मनाइएको छ । दिवसको अवसरमा कतिपयले सप्ताह नै मनाएका छन् भने कतिपयले एक दिन मात्रै भए पनि सहिदहरूको सम्झना गरेका छन् । सहिद आत्मीय सम्मानको शब्द हो । यो शब्दलाई सहर्ष स्वीकार्दै देश र जनताप्रति बफादार भइ जीउज्यानको बाजी थाप्नेहरू हुन् सहिद । तर पछिल्लो समय समूह—समूहबीच, मोर्चा—मोर्चाबीच र दल—दलबीच मात्र नभएर व्यक्ति—व्यक्तिबीच द्वन्द्व मच्चिरहेको छ । युद्ध वैचारिक रूपमा मात्र सीमित नरही सशस्त्र रूपमै भौतिक आक्रमण हुन थालेको छ । जसको कारण धेरै नेपालीहरू नेपालीद्वारा नै मारिएको अवस्था छ । राजनीतिक तवरले संरक्षण पाएकाहरू र नपाएकाहरू बीचमा घटना, परिघटनामा परी मृत्यु हुनेहरूको वर्गीकृत हुने क्रम तीव्रतर बन्दैछ । देश र जनाताप्रति भइरहेको अन्याय, अत्याचार विरुद्ध आवाज बुलन्द गर्दै तत्कालीन तानाशाही तन्त्रको अन्त्य गर्न विद्रोहको ज्वारभाटा सिर्जना गरी आफूलाई बलिदानी दिनेहरूको दिनको सम्झनामा सहिद दिवस मनाउने गरिन्छ । समय—समयमा शासन सत्ताद्वारा जनतामाथि गरिने शोषणको विरुद्व आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूको संख्या आज मनग्य भइसक्यो । यसरी सहादत प्राप्त गर्नेहरूलाई कसरी सम्बोधन गर्ने ? कुन अर्थमा कसरी सम्मान गर्ने ? जस्तो प्रश्नहरू यतिबेला उत्पन्न भएका छन् ।
जनताले आफ्नो प्राण नै उत्सर्ग गरेर धेरैलाई शासनसत्ता चलाउने हैसियत बनाइदिए, तर आफैंले पठाएकाहरूबाट सबै कुराको अपेक्षा शून्यसरह भएको छ । धेरैको बलिदानी पश्चात् अज्ञाएको व्यवस्थाले समेत कुनै ठोस जनपक्षीय कार्य सम्पादन हुन सकेन । सहिदको रगतमा रंगिएर सत्तासिन हुन पुगेकाहरू किन, कता, कतिञ्जेल हराइरहने हो ? नेपालीहरूले नेपालभित्र आफ्नो नेपालीत्व खोज्नुपर्ने समय आइरहेको छ । के हाम्रा सहिदहरूले यो अवस्थाको कल्पना गरेका थिए त ? दुई—दुई पटकसम्म संविधानसभाको चुनाव सम्पन्न गरी संविधानसभामार्फत् संविधान जारी गरिएको अवस्था छ । तर पनि जनताको संविधान पूर्णरूपमा आउन सकेन । फलस्वरूपः क्षेत्रगत रूपमा आन्दोलन चल्न सुरु भयो र भइरहेको पनि छ । जातिगत रूपमा आन्दोलन चल्न सुरु भयो । देशभित्र विविध तवरले यो संविधानको विरोध भइरहेको छ । सही तवरले जनताका अधिकार सम्बोधन हुन सकेको छैन । यस्तो द्वन्द्व सिर्जना हुने संविधान के कति कारणले किन जारी गरिएको हो ? यो प्रश्नको उत्तर सत्तासीनहरू र संविधान जारी गर्नेहरूमै निहित छ । सिङ्गो देश दिपावलीमय हुनुपर्नेमा देशको कतिपय भागमा अन्धकार छाउन पुग्यो । यस्ता गतिविधिहरूले सहिदकै अपमान भएको छ । 
सहिदको रगतले सिर्जना गरेको वा गठन गरिएको संविधानसभाबाट जारी गरिएको संविधानले जनताको भावनालाई कुण्ठित बनाउनु, उपेक्षित गर्न खोज्नु भनेको शोभनीय कुरा र कार्य होइन । यो शैलीले अन्तरकलह, आन्तरिक द्वन्द्व निम्त्याउँछ । यसले देशलाई अधोगतितर्फ धकेलिदिन्छ र विदेशीहरूले आफ्नो स्वार्थसिद्ध गर्ने मौका पाउँछन् । सहिदहरूले भावी सन्ततिले राम्रो र सुशासन पाउन् भनी आफ्नो ज्यान नै बाजी थापेर सङ्घर्षमा होमिएका थिए । तर अहिले नेतृत्वको कमजोरीले गर्दा चौतर्फी जनताले दुःख र सास्ती भोग्नु परिरहेको छ । कुनै पनि कार्यक्रमको औपचारिकता र अनौपचारिकतामा सहिदलाई सम्झने कुरा आफ्नै ठाउँमा छ । तर सहिदको बारेमा चर्चा—परिचर्चा गरेर मात्र अपमानित गर्नु हुँदैन । सहिदले देखेको सपना, सहिदले खोजेको कुरा र व्यवस्था जनताले प्रत्यक्ष अनुभूत गर्न पाउनुपर्छ । दिन—प्रतिदिन सफलता हासिल गर्दै जानुपर्छ । तब मात्र सहिदको सच्चा स्मरण गरेको र सम्मान प्रदान गरेको ठहर्नेछ । 
प्रकाशित मितिः   १७ माघ २०७२, आईतवार १०:३६