युवाको भूमिका खै ?
पुनम बिसी |
एक्काईस औँ शताब्दीको नयाँ नेपाल परिवर्तन तथा विकासको पक्षमा छ । नेपाल सरकारद्वारा नेपाली नागरिकमा समान हक तथा अधिकारको कार्यान्वयनका लागि विभिन्न क्रियाकलापहरूको निर्माण भएका भने होइनन् । समाज परिवर्तन चाहन्छ । हामी परिवर्तन चाहन्छौं । परिवर्तनका नाराहरू सडकका भित्ताभित्तामा लेखिएका छन् । माध्यमिकस्तरीय सामाजिक रुढिवादी परम्परा लगायत समाजका नकारात्मक पक्षहरू विरुद्ध विद्यालयहरूमा सुधारका लागि पढाइने पनि गरिन्छ । तर पनि समाज परिवर्तनले प्रभावकारी गतिविधि लिन सकिरहेको छैन ।
धामीझाँक्री ः नेपाल सरकार बिरामीलाई धामी झाँक्रीकोमा उपचारका लागि लानुको साटो अस्पतालमा पु¥याउनका लागि प्रायः सधंै क्रियाशील छ । नेपालका कतिपय स्थानमा अन्धविश्वासमा परि मानिसहरू स्वास्थ्य लाभका लागि पशु वली तथा कैयौँ स्थानमा त बच्चाको बली समेत दिने गरेका छन् । यस्ता समाचारहरू वर्षेनी रूपमा छापिरहेका हुन्छन् । हाम्रो परिवारमा कोही बिरामी हुन्छ भने अझै पनि हामी बिरामीको अस्वभाविक रूप देखेर धामीझाँक्री कहाँ लिएर जान्छौं । कतिपय मनोवलका कारण निको पनि हुन्छन् भने कतिपय मानिसहरू झन् रोगको सिकार भइ मृत्युको मुखमा समेत पुग्ने गरेका छन् ।
छुवाछुत ः देशले जातीय छुवाछुतलाई अत्यको घोषणा पनि गरीसकेको छ । जातीय रूपमा गरिने छुवाछुतलाई कानुनी रूपमा अपराधको रूप दिइदैं दण्ड सजायको पनि व्यवस्था रहेको छ । तर पनि सहर भन्दा गाउँमा अलि बढी मात्रामा जातीय छुवाछुतको धारणा प्रशस्त मात्रामा रहेको हामी पाउँछौं । कुनै दलित समुदायको मानिस हाम्रो गाउँको घरमा काम विशेष आउँछ भने उसलाई हामी हाम्रो घरमा प्रवेश गर्न दिदैनौँ । हाम्रा अभिभावकहरू दिदैनन् । उसको स्थान आँगनसम्म मात्र रहेको छ । यदि उसले घरमा बनेको खानेकुरा खान्छ भने पनि प्रयोग गरिएको भाडा उसले आफैले माँझी धारामा सुकाइदिने गर्छ । अनि मात्र हामी सुनपानीले छर्कदैं चोखो बनाई घरभित्र भाडा लैजाँन्छौ । यो पुरानो नकारात्मक सामाजिक परम्परालाई हामीले अझै पनि आत्मसात् गरिरहेका छौं । परिवर्तनको रूपमा रहेका हामी युवामा समाज परिवर्तनका लागि आफ्नो परिवारका रुढिवादी परम्पराविरुद्ध लाग्न सक्ने आँट नै छैन या हामी यसलाई हेलचेक्क्राई गर्ने गर्छौं ।
बालविवाह ः छोरीको जातलाई अझै पनि समाजमा बोझको रूपमा लिइन्छ । ‘छोरीको कर्म एकदिन अर्काको घर जानु नै हो’ भन्ने भानका साथ हामी छोरीको पढाइलेखाई तथा उसको व्यक्तित्व विकासको बारेमा छोराको तुलनामा कमै मात्रामा सोच्ने गर्छौं । समाजमा यी कुराहरू लुकेका छन् । तर पनि मानिसको भावमा गहिरिने हो भने यस्ता सोचाइहरू प्रशस्त मात्रामा भेटिने गर्छन् । कानुनी रूपमा बालविवाहलाई प्रतिबन्ध गरिएको छ । बालविवाहको विरुद्धमा काम गर्ने संघ–संस्थाहरू पनि थुप्रै खुलेका छन् । कानुन बालविवाहको विरुद्धमा छ । मानिसहरूमा यसबारे जानकारी नभएको भने होइन । तै पनि हाम्रा अभिभावकहरू बालविवाहलाई सामान्य रूपमा लिइदिन्छन् । हामी उनीहरूको अनुशरण गर्दैछौं । कहिले गर्ने युवाले यसको विरोध ? कहिले सम्झाउने हाम्रा अभिभावकहरूलाई ?
छाउपडी ः छाउपडी हाम्रा समाजका समस्याहरूमध्ये प्रचलित रुढीवादी परम्परा हो । हरेक नेपाली नागरिकलाई यसको बारेमा जानकारी छ । छाउपडीको विरुद्धमा नेपाल सरकार तथा नेपाली आम नागरिक पनि क्रियाशील छ । अर्को शब्दमा जब महिलाहरू ‘पन्छिन्छन्’ उनीहरूलाई घर तथा परिवारको छुवाइ भन्दा टाढा राखिन्छ । जसले महिला स्वास्थ्यमा प्रत्यक्ष रूपमा प्र्रभाव पार्ने गर्दछ । कुनै एक साँघुरो गोठ, ढिक्की तथा अन्य यस्ता स्थानहरू जहाँ महिलालाई तोकिएका केही दिनको लागि अलग्गै व्यवस्था गरिएको हुन्छ । विभिन्न प्रयासका कारण छाउपडी प्रथामा रहेको त्यो छाउगोठ त भत्किएका छन् तर हाम्रो मानसिकता भत्किएको भने छैन । अझै पनि महिला जब पन्छिन्छन् । हामी हाम्रो घरमै उनीहरूलाई छुट्टै व्यवस्था गरिदिएका हुन्छौं । दिएको खाने, कसैको सम्पर्कमा नआउने । अझै पनि हाम्रा आमा पन्छिदा हामी खाना बनाउँछौ, उनीहरूलाई छुन पनि छुदैनौँ ।
यी बाहेक विविध समस्याहरूले अझै पनि हाम्रो समाजमा जरो गाँढेर बसेका छन् । बाहिरी रूपमा समाज यी पक्षहरूलाई सामाजिक अन्धविश्वासको रूपमा वर्णन गर्ने गर्दछ । तर पनि भित्री रूपमा हामी, हाम्रा अभिभावक तथा हाम्रा छिमेकी यसको अनुशरण गरिरहेका छौं । परिवर्तनको रूप बोकेका हामी युवामा आगामी दिनका यस्ता रुढीवादी परम्पराविरुद्ध लाग्न सक्ने आत्मबलको अझै आवश्यकता छ । पुराना रुढीवादी रूप तथा धारणा बोकेका हाम्रा आमा बाबुलाई सम्झाउन जरुरी छ । आमाबाबुलाई यस विषयमा सही मार्गदर्शन गर्नु जरुरी छ । आखिर समाज परिवर्तनको बाटोमा हामी युवाले के ग¥यौं ? एकपल्ट सोचौं त । हाम्री आमा बिरामी हुँदा धामीझाँक्री कहाँ पु¥याउने हामी हैन ? उनको विचारलाई अनुशरण गर्दै लाग्ने हामी हैन ? खोइ त्यो बेला हामी युवाले अस्पतालको बाटो देखाएको ? हामी युवाले रोगलाई बोक्सी तथा दैवी शक्तिको छायाँको रूपमा परिभाषित गरिदिँदा पनि नेपालको यो अवस्था भएको हो । जसकारण पनि धर्म परिवर्तनको होडबाजी नेपालमा चलिरहेको छ ।
अझै पनि दलित जात भएको हाम्रो आत्मीय मित्रलाई हामी हाम्रो घरमा छिराउन हिच्किचाउ्रँछौ । कतै हाम्रा अभिभावक रिसाउने पो हुन् कि भनी । हामी हाम्रा अभिभावकलाई यो किन बुझाउदैनौँ कि यो हाम्रो धर्म संस्कृतिको रुढीवादी पक्ष हो भनी । परिवर्तनको संज्ञा लिएका हामी युवा अझै पुरानो कुरा अनुशरण गरिरहेका छौं । हाम्री बहिनीको अझै पनि कलिलो उमेरमा विवाह हुन्छ । हाम्रा अभिभावकहरू गरिदिन्छन् । खेल्ने, कुद्ने, सिक्ने तथा विकासको समयमा हाम्री बहिनीलाई घरवारको जिम्मेवारी निर्वाह गर्न पठाइन्छ । उमेर नपुग्दै यसरी गरिने बालविवाह तथा छाउपडीप्रथा पश्चात घरमा भएको छाउपडी विरुद्ध हामीले कहिले आावाज उठायौँ ? यी प्रश्नहरू आफ्नै लागि हुन् । कुरामा परिवर्तनको रूप तथा विचारमा नयाँ पुस्ताको संज्ञा पाएका हामी युवाको समाज परिवर्तन गर्ने÷गराउने भूमिका तथा कर्तव्य कहाँ छ ?
साझा बिसौनी संवाददाता ।