लगानीको सम्भावना

सुर्खेत उद्योग वाणिज्य संघले आउँदो वर्ष २०७३ लाई लगानी वर्ष मनाउने तयारी गरेको छ । यसले समग्र जिल्लाको विकासमा महŒवपूर्ण भूमिका निर्वाह गर्ने विश्वास गरिएको छ । सुर्खेतमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्ताहरू पनि इच्छुक देखिएका छन् । सुर्खेत उद्योग वाणिज्य संघले आउँदो वर्षलाई सुर्खेत लगानी वर्षका रूपमा मनाउने तयारी गरिरहँदा अन्तर्राष्ट्रिय लगानीकर्ताहरूले यस्तो इच्छा देखाएका हुन् । जिल्लाको कृषि र पर्यटन क्षेत्रमा लगानी गर्नका लागि विदेशी लगानीकर्ताहरूले अहिले जिल्लामा त्यसको सम्भाव्यता अध्ययन समेत गरिरहेका छन् । सुर्खेतमा लगानी गर्न सकिने क्षेत्र र सम्भावनाहरूको खोजी गर्न नेदरल्याण्डका व्यवसायीहरूको एक टोली सुर्खेत आएको छ । सो टोलीले जिल्लामा लगानी गर्न सकिने क्षेत्रहरूको समेत पहिचान र अध्ययन थालेको छ । सुर्खेत उद्योग वाणिज्य संघको निमन्त्रणामा सुर्खेत आएको नेदरल्याण्डको टोलीले जिल्लामा लगानीका लागि उपयुक्त वातावरण भएको जनाएको छ । साथै नेदरल्याण्डका व्यवसायीहरूले जिल्लामा आवश्यक लगानी गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । जिल्लामा कृषि उत्पादन र पर्यटनको सम्भावना धेरै रहेको भन्दै टोलीले कृषिमा लगानी गर्ने उद्घोष समेत गरेको छ । यसका सकारात्मक सङ्केतहरू पनि देखापर्न थालेका छन् । 

लगानी वर्ष सुरु हुनुअगावै स्वदेशी मात्र होइन विदेशी लगानीकर्ताहरू पनि सुर्खेतमा लगानीका लागि इच्छुक देखिनु यसको सकारात्मक पक्ष हो । जसले गर्दा सुर्खेत लगानी वर्ष सफल र प्रभावकारी हुने सङ्केत देखिएको छ । आउँदो वर्ष २०७३ लाई सुर्खेत लगानी वर्षका रूपमा मनाउन लागेको सुर्खेत उद्योग वाणिज्य संघले अन्तर्राष्ट्रिय लगानीकर्ताहरूलाई समेत जिल्लामा भिœयाउन थालेको छ । सोही अभियान अन्तर्गत नै नेदरल्याण्डका व्यवसायीहरूले सुर्खेतमै आएर सम्भावनाको खोजी गर्न थालेका छन् । उनीहरूले यस क्षेत्रमा कृषि क्षेत्रमा लगानी गर्न आफूहरू तयार रहेको भन्दै किसानको आयस्तर वृद्धि र सामाजिक रूपान्तरणका लागि लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । सुर्खेतमा लगानीका प्रमुख क्षेत्रहरू भनेका कृषि, जडिबुटी, जलविद्युत र पर्यटन हुन् । अन्तर्राष्ट्रिय लगानीकर्ताहरूको ध्यान पनि यसैमा छ । यहाँको कृषि, पर्यटन र जडिबुटीमा लगानी गर्न उनीहरू आकर्षित भएका हुन् । यस क्षेत्रको आर्थिक विकासका लागि पनि कृषिमा लगानी बढाउन आवश्यक छ । कृषिमा सम्भावना पनि उत्तिकै छ । तर पछिल्लो समय खेतियोग्य जमिन धमाधम प्लटिङ गरी घर निर्माण गर्ने क्रम बढेको छ । यसलाई नियन्त्रण गर्नुका साथै आधुनिक कृषि प्रणालीको विकास गरी नयाँ–नयाँ र यस क्षेत्रको माटो र हावापानी सुहाउँदो बाली उत्पादनमा जोड दिन जरुरी छ ।  कृषिमा लगानी बढ्दा यहाँका किसानको आर्थिकस्तर वृद्धि हुनुका साथै उनीहरूको जीवनस्तर समेत उकासिने छ ।
विदेशी लगानीकर्ताहरू सुर्खेतमा लगानी गर्न इच्छुक छन्, जो सकारात्मक  छ । तर उनीहरूले लगानी गरिहालेका भने छैनन् । यसका लागि लगानीमैत्री वातावरणको खोजी उनीहरूले पक्कै गर्नेछन् । यस्तो लगानीमैत्री वातावरण नपाएको खण्डमा उनीहरूले यहाँ लगानी गर्ने छैनन् । यसतर्फ सम्बन्धित सबैले ध्यान दिन आवश्यक छ । सुर्खेतमा अहिले पनि भरपर्दो विद्युत सेवा छैन । चर्को लोडसेडिङ्गको मार खेपिरहनु परेको छ । ३३ केभिए विद्युत प्रसारण लाइनकै भर पर्नुपर्ने अवस्था छ । लामो समयदेखि चर्चामा रहेर पनि एक सय ३२ केभिए विद्युत प्रसारण लाइन विस्तार हुन सकेको छैन । तत्काल उक्त लाइन विस्तार गर्नेतर्फ पनि जोड दिनु उत्तिकै आवश्यक छ ।
प्रकाशित मितिः   २९ चैत्र २०७२, सोमबार ०४:३२