कर्णाली अर्थात् बेवास्ताको अर्काे नाम
दिनेश गौतम |
विकासको आप्mनै गति हुन्छ । विनाशको पनि आफ्नै गति हुन्छ । प्रगतीको पनि आप्mनै लय हुन्छ, दुर्गतीको पनि त आप्mनै लय हुन्छ । विकास र प्रगतीको गतिको दर्शन गर्नसम्म नपाएको तर विनाश र दुर्गतीको सयौं वर्षदेखिको साक्षी रहँदै आएको क्षेत्र हो, कर्णाली क्षेत्र ।
विकासका हरेक योजनाहरूमा समाचार बन्न नसकेको क्षेत्र हो, कर्णाली क्षेत्र । कुरा बढी भइरहने र त्यसको तुलनामा काम अत्यन्त कम वा हुँदै नहुने क्षेत्र हो, कर्णाली क्षेत्र । कर्णाली क्षेत्र आफैमा एउटा ‘सिम्बोल हो’ अभावको, आफैमा एउटा ‘ब्राण्ड’हो दुःखको, आफैमा एउटा दर्शक हो कठिनाइको । कर्णाली आफैमा एउटा नदी मात्र होइन । कर्णाली आफैमा एउटा अञ्चल मात्र होइन । कर्णाली आफैमा एउटा क्षेत्र मात्र पनि होइन । कर्णाली त दुःखको अर्काे नाम पो हो । जताजतैबाट ‘इग्नोर’ भइरहने कर्णाली बेवास्ताको अर्काे नाम पो हो ।
भौतिक वा देखिने खालका विकासहरू आर्थिक स्रोतहरूबाट प्रभावित हुन्छन् । भौगोलिक रूपमा अन्य क्षेत्रभन्दा दुर्गम मानिने कर्णालीमा विकासका गतीविधिहरू सञ्चालन गर्नका लागि केही बढी खर्च लाग्न सक्थ्यो होला तर न्यूनतम आर्थिक विकासका कार्यक्रमहरू पनि त्यहाँ पुग्न सकेनन् । पर्यटनको हिसाबले पोखरा र काठमाडौं क्षेत्रपछि सम्भवतः सबैभन्दा बढी वा ती क्षेत्रभन्दा पनि बढी सम्भावना बोकेको क्षेत्र हो कर्णाली क्षेत्र । त्यसको पनि मूल्याङ्कन अहिलेसम्म हुन सकेको छैन । गरिएको छैन । नेपाली भाषाको जन्मस्थान हो कर्णाली क्षेत्र, जहाँका मानिसहरू आज त्यहींको स्थानीय वा शुद्ध नेपाली बोलेको कारण सहरमा ‘पाखे’ भनिन पुग्छन् । जसले नेपालको भाषिक इतिहासको नेतृत्व गरेको छ, त्यही भाषा बोल्दा सहरमा अमपानको सिकार हुनुपर्दछ । कर्णाली बगिरहेको छ, आफ्नै गतिमा । कर्णालीमा कति पानी बग्यो त्यसको कुनै लेखाजोखा छैन र गर्न सम्भव पनि छैन । कर्णालीमा पानी मात्रै बगेन कयौंका रगत बगे । कयौंका लाश बगे भने कयौंलाई जिउँदै पनि बगायो कर्णाली । अरु थुप्रै–थुप्रै बगायो कर्णालीले तर कर्णालीवासीको दुःख कहिल्यै बगाएर लैजान सकेन कर्णालीले । कर्णाली वास्तवमै अरु सबै बगाउन सक्ने तर दुःख बगाउने नसक्ने नदी रहेछ सायद ।
नेपालको पश्चिम भू–भागको लगभग क्षेत्र समेट्ने कर्णाली क्षेत्रभित्र कर्णाली नदीले छोएका जिल्ला मात्र पक्कै पर्दैनन् । जाजरकोट पनि यहीं छ । अन्य नदीले छोएका जिल्लाहरू त स्वभाविक रूपमा कर्णालीसँग सम्बन्धित छन् । तर हामी सुर्खेतका नागरिकहरू भने कर्णालीको मान्छे भन्न डराउँछौ । मलाई लाग्दछ, कर्णाली नदीले सबैभन्दा बढी समेटेको क्षेत्र सुर्खेतमै पर्दछ । सुर्खेतको पश्चिम सीमाना धेरै जसो कर्णाली नदीले नै छुट्टाएको छ । त्यतिमात्र होइन कर्णाली सुर्खेतको लागि सबैभन्दा प्रिय हुने वा हुनपर्ने अरु थप कारण के छ भने सुर्खेत समग्र कर्णाली क्षेत्रको प्रवेशद्वार हो । यतिमात्र होइन, कर्णाली क्षेत्रको सबैभन्दा ठूलो बजार पनि सुर्खेत नै हो । शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रमा कर्णाली क्षेत्रका मानिसहरूद्वारा स्वीकारिएको जिल्ला हो सुर्खेत । विडम्बना हामी कर्णालीको मान्छे भनि गर्व गर्न सक्दैनौं । अरु कसैले भनिहाल्यो भने पनि त्यो हाम्रो लागि ठूलो अपमान ठहर्छ ।
नदीको पनि एउटा आयाम हुन्छ । नदी धेरै हदसम्म शक्तिशाली पनि हुन्छ । किनभने भौतिक असर मात्र नभएर यसले विकास निर्माणदेखि लिएर मनोवैज्ञानिकसम्मका असर गर्दछ । विकासका हरेक क्रियाकलापमा नदी वारी र पारीमा धेरै नै फरक देखिन्छ । तर वारी र पारी मध्ये कुनै एक क्षेत्र अर्काे क्षेत्रभन्दा विकासको दृष्टिकोणले सुगम देखिने मौका समेत कर्णालीले पाएन । वारी पनि शून्य, पारी पनि शून्य । एकदम रित्तो । वारी पनि अन्धकार, पारी पनि अन्धकार । वारी पनि अभाव, पारी पनि अभाव । नदीमात्रै नभएर सम्रग कर्णाली क्षेत्र देशको गरिबी र अभावको लागि एउटा उदाहरण हो । सङ्कट र भोकमरीको लागि पटक–पटक लिइरहन सकिने सन्दर्भ हो कर्णाली क्षेत्र । आखिर भयो किन यस्तो ? अनि के भइरहने छ यस्तै ? प्रश्न अनुत्तरित छ ।
जलविद्युत उत्पादनको क्षमताको दृष्टीकोणले नेपालकै सबैभन्दा बढी उत्पादन क्षमता भएको कर्णाली नदीमा त्यस्ता ठूला कुनै योजनाहरू बनेका छैनन् । बन्ने क्रममा रहेको एउटा माथिल्लो कर्णाली परियोजना पनि विवाद र अनिश्चितताको बीचमा रुमलिरहेको छ । साँच्चै, केही हुनै नसक्ने, भएको भए पनि बीचमै रोकिने, पूरा भएपनि चाँडै सकिने यो कर्णालीमा मात्रै हुन्छ कि अन्त पनि ?
कर्णाली विश्वविद्यालय ?
थाहा छैन कसकसले यो सिफारिस गरे । थाहा छैन कहाँका ‘फर्वाड पण्डितहरू’ निस्के वा जन्मे वा हुर्के जसले अहिलेको मध्यपश्चिम विश्वाविद्यालयको नाम परिवर्तन गर्न आवश्यक देखे । एक हदसम्म उनीहरूको आवश्यकताको पनि तर्क होलान् । अझ धेरैतर्क होलान् । पढेलेखेका मान्छेहरू अझ नामको अगाडि डाक्टर झुण्डाउनेहरू तर्क गर्न त सिपालु हुन्छन् । उनीहरूको पनि आ–आफ्नै तर्क होलान् । तर उनीहरूको त्यो ‘इन्टेलिजेन्ट माइन्ड’ले चलिआएको मध्यपश्चिम विश्वविद्यालयको नाम परिवर्तन गरी काञ्जिरवा विश्वविद्यालय नाम राख्न कसरी सघायो होला ? यहाँ चाहिँ उनीहरूको दिमाग अलि बढी वा आवश्यकता भन्दा बढी ‘युज’ भयो सायद । यदि नाम परिवर्तन आवश्यक थियो अर्थात् अब देश सङ्घीय संरचनामा गइसकेका हुनाले विकास क्षेत्रहरू नरहने हुँदा नाम परिवर्तन गरेका तर्क गरे पनि धेरैले सुन्दै नसुनेको र सुने पनि खासै ध्यानमा नराखेको, राख्न नसकेको काञ्जिरवा हिमालको नामबाट विश्वविद्यालयको नाम राख्नु त्यति उपयुक्त छैन, जति यसको नाम कर्णाली विश्वविद्यालय राख्नु उपयुक्त छ । वास्तवमै कर्णाली त हामीले गौरव गर्न सक्नुपर्ने नाम, यो नाम सिफारिस गर्न उनीहरूले सोच्न सकेनन् होला ? कि पूर्वबाट पश्चिम आएकाहरू, पश्चिममै रहेर पनि ‘पूर्वीय’हुन सकेकाहरूले कर्णाली नामनै आफ्नो शब्दकोशबाट हटाइदिए ? ख्वै, पढेलेखेका मान्छे हुन्, जे पनि हुनसक्छ । फेरि वर्तमानको मध्यपश्चिम विश्वविद्यालयका विद्यार्थीहरू पनि लगभग कर्णाली क्षेत्रकै हुन । सायद नाम राख्न सिपालु पण्डितहरूले कर्णालीलाई एउटा नदीको रूपमा मात्र बुझे । तर कर्णाली त एउटा इतिहास हो । हो, कर्णाली त एउटा सभ्यता हो । कर्णाली आफैमा गौरव हो । कर्णाली आफैंमा यस क्षेत्रको सबैभन्दा महान् पहिचान हो । तर उनीहरूको ‘पढेको दिमाग’ले कसरी वा किन वा कसको दबाबमा यस्तो सोच्यो, थाहा छैन मलाई । विश्वविद्यालयको नाम परिवर्तन भएर काञ्जिरवा भएसँगै मध्यपश्चिम क्षेत्रको प्रतिनिधित्व गर्ने गरी अन्य क्षेत्रमा कुनै विश्वविधालय खोलिने होला । हाम्रो मध्यपश्चिमको विश्वविद्यालय वा मप विश्वविद्यालय भएको जिल्लाको वा सहरको मान्छे भनेर गर्व गर्ने दिन पनि सकिने होला । कसरी सोच्न सके होलान्, नाम परिवर्तनको विषय ? कसरी सोचे होलान् अझ काञ्जिरवा नाम राख्ने विषय ? एउटा इतिहास, सभ्यता, पहिचान र नदीको प्रतिनिधित्व गर्ने नाम राख्दा कसको के जान्थ्यो ?
अन्तिममा, मेरो गाँउको सडकमा बसेर डोको बुनिरहने काफलगैरै बाजेले एकपटक भनेको सम्झिन्छु, ‘जेठा, यी पढ्या लेख्या मान्छे वर्ता ‘फन्टुस’ हुन्छन् । अब शब्दकोश निकाल्नुपर्ला, यो ‘फन्टुस’ को अर्थ के हुँदो रै’छ ?
प्रकाशित मितिः २९ चैत्र २०७२, सोमबार ०४:३९
साझा बिसौनी संवाददाता ।