दीर्घकालीन योजना

वीरेन्द्रनगरमा खानेपानीको समस्या छ । प्रदेश राजधानीमा बढ्दो जनसंख्यासँगै खानेपानीको अभाव हुँदै आएको छ । गर्मीयाममा चरम संकट नै हुने गरेको छ । कुवा, इनार र सुर्खेत उपत्यका खानेपानी आयोजनाले वितरण गर्दै आएको पानी पर्याप्त छैन । तत्कालका लागि अन्य वैकल्पिक स्रोत पनि छैनन् । त्यसैले वीरेन्द्रनगर नगरपालिकाले उपत्यकाको खानेपानी समस्या समाधान गर्न भेरी नदीको पानी उपत्यकामा ल्याउने योजना अघि सारेको छ । नदीको पानी लिफ्टिङ गरेर तीन वर्षभित्रैमा वीरेन्द्रनगर उपत्यकामा ल्याउने गरी निर्माण कार्य अघि बढाइने भएको छ । त्यसका लागि त्रिपक्षीय सम्झौता गरिएको छ । खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना इकाई कार्यालय सुर्खेत, वीरेन्द्रनगर नगरपालिका र चिनियाँ कम्पनी सिंज्याङ टम्र्स इन्टरनेशनल इकोनमी एण्ड टेक्निकल को–अपररेसन कम्पनी लिमेटेडबीच बुधवार ठेक्का सम्झौता भएको हो ।

सम्झौताअनुसार २०८१ भदौ १२ गतेदेखि २०८४ भदौ १२ गतेसम्म निर्माण सम्पन्न गरिसक्नुपर्नेछ । तीन अर्ब पाँच करोडमा ठेक्का सम्झौता गरिएको छ । ग्लोबल टेण्डरमार्फत् गरिएको ठेक्कामा सहभागी भएका ११ निर्माण व्यवसायीमध्ये चिनियाँ कम्पनी छनौटमा परेको हो । अध्ययनको काम सकेर ठेक्का सम्झौता नै भएपछि भेरी नदीको पानी लिफ्टिङ गर्ने आयोजना अघि बढ्ने देखिएको छ । वीरेन्द्रनगर नगरपालिकाले ‘ड्रिम प्रोजेक्ट’को रूपमा अगाडि सारेको भेरी लिफ्टिङ खानेपानी आयोजना निर्माण प्रक्रियामा प्रवेश गरेको हो । संघीयता कार्यान्वयनपछि खानेपानीको क्षेत्रमा संघीय सरकारबाट स्थानीय तहले पाएको सबैभन्दा ठूलो लगानीबाट भेरी लिफ्टिङ खानेपानी आयोजन बन्न लागेको हो । वीरेन्द्रनगरमा आगामी ३० वर्षसम्म बढ्न सक्ने जनसंख्याको आँकलन गरेर खानेपानी आयोजना सञ्चालन गर्न लागिएको हो । आयोजनाका लागि विश्व बैंकले यसअघि नै लगानी गर्ने प्रतिवद्धता जनाइसकेको छ । विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनिसकेको छ । भेरी लिफ्टिङ खानेपानी आयोजना निर्माणका लागि कूल लागतको ७० प्रतिशत खर्च विश्व बैंकले बेहोर्ने छ । बाँकी ३० प्रतिशत रकम संघ, प्रदेश र स्थानीय तहको साझेदारीमा लगानी गरिने छ ।

वीरेन्द्रनगर उपत्यकामा भेरीको पानी ल्याउन विगतका वर्षहरूमा संघीय र प्रदेश सरकारले पटक–पटक बजेट विनियोजन गर्ने गरेका थिए । योजना कार्यान्वयन नहुँदा रकम फ्रिज जाने गरेको थियो । कर्णाली प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगरमा हाल खानेपानीको संकट छ । सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले अहिले २० हजार घरधुरीलाई धारामार्फत् खानेपानी वितरण गरिँदै आएको छ । अझै करिब १८ हजारभन्दा बढी घरधुरीलाई खानेपानीका धारा अपुग रहेको जनाइएको छ । भेरी लिफ्टिङ आयोजना अघि बढ्ने भएसँगै वीरेन्द्रनगर उपत्यकाको खानेपानी समस्या समाधान हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मितिः   १४ भाद्र २०८१, शुक्रबार ०९:५३