दुल्लूको साहित्य महोत्सवमा रमाउँदा

प्रसंग वश डा. जीवेन्द्रदेव गिरीले भन्नुभयो, ‘त्रिभुवन विश्वविद्यालयमा भाषा विज्ञान अध्यापन गराउँछु । सिम्ता र दुल्लू दरवारको विवाह झल्काउने गाथा ‘दुल्लू माइत जाऊ’ धमारी सिम्ता भेकमा पुरानो पुस्ताले गाउँथे, मैले आफ्नो पुस्तकमा पनि राखेको छु । हुड्के नृत्य र गीतबारे स्नातक तहमा पढाइ हुन्छ, म पढाउँछु । तर हुड्के कुन प्रकारले, कुन भेषभूषामा र कुन बाजा बजाएर कसरी नाँच्छन् भन्ने जानकारी आजको कार्यक्रमबाट जानकारी पाएँ ।’ उहाँले दुल्लू लोक साहित्यको खानी रहेको अनुभूति गर्दै धमारीको लाइन गाएर आफ्नो भनाइ अन्त्य गर्नुभयोः
दुल्लू डाँडा घाम लाग्यो,
बाबाजीको माया लाग्यो,
हिरराजै दुल्लू माइत जाउँ ।
इतिहासकार प्रा.डा. रामराजाप्रसाद सुवेदीले आफ्नो मन्तव्यमा भन्नुभयो, ‘भाषा संस्कृति हराउनु भनेको हामी हराउनु हो । अब यसको संरक्षण संस्कृत विश्वविद्यालय दाङका उपकुलपति र रजिस्ट्रारले गर्न सक्नुपर्छ । एक लाख २५ हजार पहाडमा आशोक मल्लको समयमा शासन थियो । त्यो समय शितकालीन राजधानी दुल्लू, ग्रिष्मकालीन राजधानी हाटासिंजा थियो । अहिलेको वर्तमान नेपालमा ७६ पहाडहरू छन् । आदित्य मल्लले काठमाडौं उपत्यकामा सात पटकसम्म हमला गरेर सात भारी सुन ल्याएका थिए । आफूले गर्दै आएको संस्कृति जगेर्ना गर्न नयाँ पुस्तामा सारिनुपर्छ । जसरी यहाँ पुरानो गीत संगीत भाका विद्यमान छन् । त्यसको संरक्षण यहींका बासिन्दाको जिम्मेवारी हो । म सकेसम्म इतिहास सोधखोज र उल्लेख गर्दै रहनेछु ।’
पूर्व प्राज्ञ सदस्य सचिव डा. तुल्सी भट्टराईले आफ्नो मन्तव्यमा भन्नुभयो, ‘दुल्लूको संरक्षण गर्नु यहींका स्थानीय बासिन्दाको कर्तव्य हो । धुलेस्वर श्रीस्थान गणेश मन्दिरका मूर्तिहरू हराए, चोरिए । अब याहाँ बाँचीरहेका पुरातात्विक सम्पदाहरू सुरक्षित गरिनुपर्छ । जिल्लास्तरका कार्यालय भए पनि समायोजन गरेर केही रकम सुरक्षा, मर्मत र सम्भारका लागि छुट्याउनुपर्छ । प्राचिन स्मारक संरक्षण समिति गठन गरेर जानुपर्छ तबमात्र स्वदेशी विदेशी पर्यटक आएर रकम खर्चने र सहयोग दिनेछन् । तब त यहाँका जनताको आर्थिकस्तर बढ्नेछ, नेपालका सबैभन्दा बढी संस्कृति केन्द्र मध्य र सुदूरपश्चिम नै हुन् । लोक गाथा, गीत नेपाल प्रज्ञा प्रतिष्ठान विभाग पनि छ । सिंजा साम्राज्यले तिब्बतसम्मको धेरै भू–भागमा राज्य गरेको थियो, अनुसन्धान गर्नु बाँकी छ ।
मुख्य अतिथि प्रा.डा. उपकुलपति शिवहरी मरहठ्ठाले भन्नुभयो, १००१ शाक्य सम्वत संस्कृत शिक्षाबाट सुरु भएर नेपाली भाषा पनि संस्कृत भाषाको एउटा हाँगा हो । हिन्दुहरूले उच्च विकास संस्कृत शिक्षाबाट सुरु भएको हो । त्यसको विकास सिंजा साम्राज्यबाट हुन गएको हो । साम्राज्य विस्तार गर्दै जाँदा यहीका पुरोहितहरूले सिंजाली भाषा लिएर साम्राज्यमा विस्तार गर्दा नेपाली राष्ट्रिय भाषा कालान्तर हुन पुगेको हो । भाषा संस्कृति, लोक साहित्य जगेर्ना र संरक्षण गर्न सबै लाग्नुपर्दछ । यदि गर्न सकिएन भने पुरानो सस्कार संस्कृति मरेर जान्छ ।
सुदूरपश्मि साहित्य समाजका सचिव हरिहर कठायतले देउडा भाषामा एउटा गित गाउनु भएको थियोः
काधमाथी बन्दुक राखी काँ जान्छौं दर्नाली ।
आउँदै रौंला खादै रौंला नसुक्यैं कर्णाली ।।
अन्त्यमा सभाध्यक्षले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै अर्को दिन पनि बिहान ७ बजेदेखि नै यही थलोमा कार्यक्रम सञ्चालन हुने जानकारी गराउँदै पहिलो दिनको उद्घाटन कार्यक्रम समापन गर्नुभएको थियो ।
दोर्णाचल पर्वतमा सूर्यले खुट्टा पसारिरहेका थिए । करिब ६ घण्टाको बसाइमा जति हेरे पनि हेरिरहौं लाग्ने लोक गीत नृत्य, सुनिरहौं लाग्ने प्राज्ञ मित्रहरूका दुरगामी ओजस्वी मन्तव्य, विशाल जनभेलाले मन्त्र मुग्ध भएर सुनिरहें । श्रीस्थान, पादुकास्थानमा जलिरहेका ज्वालाको सुगन्ध हवाको झोक्काले कार्यक्रमस्थलसम्म सुवास आए जस्तो मानिरहेको थिए । लोक साहित्यका पारखीहरू गीत, संगीत, नृत्य हुँदा हुलहरूवाट निस्केर मञ्चमा पुग्दथे । मलाई लाग्थ्यो गीत संगीत नृत्यको पनि लोक साहित्यले कति छिटो मान्छेलाई पगाल्दो रहेछ र आनन्दको लहरमा समाहित हुदाँरहेछन भन्ने अनुभूत गर्न पुगेको थिएँ ।
असार १ गते । बिहान ४ बजे उठें । नेपाल संस्कृत विश्वविद्यालय दाङका उपकुलपति सबैसँग बिदा हुँदै दाङतिर गाडी लिएर हिँड्नुभयो । म भने शरीरको दुखाईले थकित भए पनि आजको कार्यक्रम जान ६ बजे तयार भएर दोर्णाचल शिक्षा क्याम्पस पुगें । दुल्लू क्याम्पस प्रमुखसँग पुस्तकालय रेकर्डको लागि मेरो सिर्जना एक एकप्रति खरिद गरिदिन अनुरोध गरें । उहाँले पनि सहज रूपमा लिएर भुक्तानी गरिदिनु भयो । आकाशमा फाट्फुट बादलका धर्सा देखिएका थिए । बिहान सितलतासँगै छामखोलाको ज्वालाको सुगन्ध दुल्लूसम्म आइरहेको थियो । हाउडी व्याउली महाबुले प्राज्ञस्तरीय कार्यक्रममा आउनुभएका साहित्यकार, इतिहासकारहरूलाई बिहानीको लालीसँगै सलाम टक्र्याइ रहेको थिए । कार्यक्रममा सहभागी हुन दुल्लू दैलेख पूरै चलमलाइरहेको थियो । दुल्लू माथीको हरिया वनमा न्याउली चरीको न्याव–न्याव मधुर संगीतले थप बिहानीले स्वागत गरिरहेको थियो ।
७ बजे हामीहरू कार्यक्रम स्थलमा पुग्यौं । कार्यक्रममा सहभागी हुन गाउँ गाउँबाट पञ्चेवाजा बजाउँदै जनसमुदाय आउने क्रम सुरु भइरहेको थियो । आजको कार्यक्रम सञ्चालन गर्न भेरी साहित्य समाज बाँके अध्यक्ष हरि तिमील्सेना लागी रहनुभएको थियो । ८ बजे कार्यक्रम सुरुभयो । कार्यक्रम मुलसमितीका संयोजक भाषा साहित्य मध्यपश्चिम साहित्य परिषद् अध्यक्ष उप–प्रध्यापक मधु सुदन गिरी सभातित्व, मुख्य अतिथि नेपाल प्राज्ञ प्रतिष्ठान उपकुलपति गंगा उप्रेति हुनुभएको थियो । अतिथिमा राजाराम सुवेदी, डा. तुल्सी भट्टराई डा. जीवेन्द्रदेव गिरी, प्रा. भागवत शर्मा, डा. गोपाल शर्मा, हरि अधिकारी, डा. अमर शाह डा. दिपक गौतम, राप्ती साहित्य परिषद् अध्यक्ष पुरुषोत्तम दाहाल, प्रलेश बाँके अध्यक्ष इन्द्रबहादुर बस्नेत, बर्दियाली साहित्य समाजका अध्यक्ष इन्द्रराज पौडेल, सुदूरपश्चिमाञ्चल साहित्य समाजका अध्यक्ष रामप्रशाद जोशी, सचिव हरिहर कठायत, प्र.ले.स. सुर्खेतका सल्लाहकार पृथ्वीबहादुर सिंह, खडानन्द भट्टराई, दुल्लू साहित्य मञ्जरी अध्यक्ष टीकाराम शर्मा, साहित्य समाज दैलेख अध्यक्ष गरिमा रेग्मी लगायत रहनुभएको थियो ।
(बाँकी अर्को साता)

प्रकाशित मितिः   २६ चैत्र २०७३, शनिबार १४:५२