सघन सहरी पूर्वाधार
कर्णाली प्रदेशका चार वटा स्थानीय तहमा एकीकृत सघन सहरी पूर्वाधार विकास कार्यक्रमअन्तर्गत पूर्वाधार निर्माण कार्य तीव्र पारिएको छ । संघीय सरकारले झुण्डझुण्ड रणनीति बनाएर पूर्वाधार विकास गर्न नसकिने भन्दै सघन सहरी विकासको योजना बनाएको हो । सोही योजना अनुरूप कर्णालीका तीन जिल्लाका चार वटा पालिकामा कार्यक्रम लागू गरिएको हो । आर्थिक वर्ष २०७९/०८० बाट कार्यक्रम सञ्चालनमा आएको हो । जसअन्तर्गत जुम्लाको चन्दननाथ नगरपालिका, कालीकोटको रास्कोट नगरपालिका तथा डोल्पा जिल्लाको ठुली भेरी नगरपालिका र त्रिपुरा सुन्दरी नगरपालिकामा कार्यक्रम सुरु भएको छ । सबै पालिकामा एकीकृतरूपमा पूर्वाधार विकासका काम धमाधम अघि बढाइएको छ । कालीकोटमा पूर्वाधार निर्माणको काम सकिएको छ भने अन्य पालिकामा काम भइरहेको छ ।
सहरी तथा भवन निर्माण आयोजना जुम्लाकाअनुसार बाँकी रहेका तीन पालिकामा यतिबेला धमाधम काम अघि बढिरहेको छ । कार्यक्रमअन्तर्गत कालीकोटको रास्कोट नगरपालिकाका ४० वटा व्यावसायिक सटर निर्माण गरिएको छ । पहिलो वर्ष बजेट कार्यान्वयन हुन नसकेरै फ्रिज भयो । अर्थ मन्त्रालयबाट समयमा नै बजेटको स्रोत सुनिश्चितता नहुँदा बजेट फ्रिज गएको हो । यो वर्ष भने काम अघि बढाइएको छ । यसैगरी डोल्पा जिल्लाको ठुलीभेरी नगरपालिका पनि सघन सहरी विकास कार्यक्रम कार्यान्वयन भइरहेको छ । उक्त पालिका आर्थिक वर्ष २०७९/०८० मा यो कार्यक्रम कार्यान्वयनका लागि छनोटमा परेको हो । एकीकृत रूपमा आवश्यक पूर्वाधार निर्माणका लागि सरकारले पहिलो वर्ष आठ करोड बजेट विनियोजन गरेको थियो । अर्थ मन्त्रालयबाट ढिलागरी बजेटको स्रोत सुनिश्चितता हुँदा उक्त बजेट कार्यान्वयन हुन भने सकेन । पहिलो वर्ष बजेट फ्रिज भएको ठूलीभेरीमा गत आर्थिक वर्ष २०८०/०८१ बाट पूर्वाधार निर्माणका काम भइरहेका छन् । जसअन्तर्गत गत वर्ष नै नगरपालिकाको सडक कालोपत्रे र रंगशाला निर्माणको काम थालिसकेको छ ।
सघन सहरी विकास कार्यक्रमअन्तर्गत डोल्पाकै अर्को स्थानीय तह त्रिपुरा सुन्दरी नगरपालिकामा पनि पूर्वाधार निर्माणका काम भइरहेका छन् । आर्थिक वर्ष २०७९/०८० बाट सुरु भएको कार्यक्रमअन्तर्गत त्रिपुरा सुन्दरी मन्दिरको पार्क निर्माण, सडक कालोपत्रे, विभिन्न भवन निर्माणलगायतका काम भइरहेका हुन् । उक्त वर्ष आयोजना अन्तर्गतका पूर्वाधार निर्माणका लागि आठ करोड बजेट विनियोजन भएकोे थियो । आर्थिक वर्ष २०८०/०८१ मा सोही योजना अघि बढाउनका लागि सरकारले ६ करोड बजेट विनियोजन हो । जसबाट अहिले धमाधम काम भइरहेको आयोजनाले जनाएको छ । सघन सहरी विकास कार्यक्रमले कर्णालीका तीन जिल्लामा सहरीकरणका लागि पूर्वाधार तयार पारेको छ ।
प्रकाशित मितिः ९ भाद्र २०८१, आईतवार १६:००
सम्पादकीय ।